मोदीको नेपाल भ्रमणमा यसरी परिचालन हुँदैछ स्वास्थ्यको टीम

काठमाडौँ, २७ बैशाख । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भोलीबाट हुने दुई दिने नेपाल भ्रमणमा आवश्यक पर्न सक्ने स्वास्थ्य सम्वन्धी सेवा उपलव्ध गराउन विशेष तयारी गरेको छ । मोदीको भ्रमणहुने क्षेत्र जनकपुर, मुक्तिनाथ तथा काठमाडौँमा स्वास्थ्यका छुट्टा छुट्टै तीनवटा टोली गठन गरी परिचालन समेत गरिसकेको छ ।

स्वास्थ्य टोलीको संयोजन गरेका स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखा प्रमुख डा दीपेन्द्ररमण सिंहले सबै स्थानमा आवश्यक पर्ने जनशक्ति तथा साधनस्रोतको व्यवस्था मिलाइएको बताए ।

उनले जनकपुरमा स्वास्थ्य सेवा विभाग पूर्व महानिर्देशक डा तारानाथ पौडेलको संयोजनमा मन्त्रालयको टोली पठाएको बताए । यस्तै मुक्तिनाथ क्षेत्रमा बीर अस्पतालका डाक्टर रबीराम श्रेष्ठको अगुवाईमा अर्को टोली खटिएको छ । काठमाडौँकै लागि भने डा सिंह सहित बीर अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेत, डा प्रदीप वैद्य र डा श्रेष्ठले अगुवाई गर्नेछन् ।

जनकपुरमा दुईवटा अस्पताल तोकियो
स्वास्थ्य मन्त्रालयको तर्फबाट स्वास्थ्य टिमको संयोजन गर्न पुगेका डा तारानाथ पौडेलले जनकपुर अञ्चल अस्पताल र जानकी सीटी अस्पताल फोकल अस्पतालको रुपमा तोकिएको बताए । उनले मोदीको कारगेड सुरक्षामा संगै गुडाउने गरी नेपाल मेडिसिटी हस्पिटलको अत्याधुनिक एम्बुलेन्स समेत जनकपुर आइसकेको बताए । त्यसबाहेक अञ्चल अस्पताल तथा अन्यत्रका संघसंस्थाका अरु पाँचवटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको बताए । उनले अञ्चल अस्पताल र सीटी अस्पताल मिलेर भोली प्राथमिक स्वास्थ्य शिविर समेत सञ्चालन गर्ने तयारी भएको बताए ।

मुक्तिनाथमा श्रेष्ठमा मोवाइल अस्पताल
शनिबार विहान मुक्तिनाथको दर्शनका लागि मोदी त्यसतर्फ जानेभएपछि मन्त्रालयले जिल्ला अस्पतालसंगको समन्वयमा त्यहाँ अस्थायी क्लिनिक समेत तयार गरेको छ । सहसचिव डा सिंहले त्यसको नेतृत्व डा रबीराम श्रेष्ठलाई दिइएको बताए ।

काठमाडौंमा चारवटा अस्पताल फोकल पोइन्ट
यता जनकपुरपछि काठमाडौँमा आउन लागेका प्रधानमन्त्री मोदीको स्वास्थ्य सुरक्षाका लागि मन्त्रालयले एक मुख्य सहित चारवटा अस्पताललाई फोकल अस्पताल तोकेको छ । मन्त्रालयका सहसचिव डा सिंह भन्छन् , ‘पहिलो रोजाइमा हामीले त्रिवि शिक्षण अस्पताल रोजेका छौँ । त्यो संगै रहेको मनमोहन कार्डियोथोरासिक, बीर अस्पताल र भैसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पताल ।’

उनले कारगेडमै रहने गरी नेपाल एम्बुलेन्स सर्भिसको एम्वुलेन्स र नेपाल मेडिसिटी अस्पतालको एम्बुलेन्सको व्यवस्था गरिएको बताए ।
काठमाडौँमा डा सिंहसंगै डा बस्नेत, डा श्रेष्ठ र डा बैद्यले संयुक्त रुपमा टोलीको नेतृत्व गर्नेछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *