शौचालयको प्यान पुछेर वीर अस्पतालको सरसफाई अभियान शुभारम्भ (भिडियो सहित)

काठमाडौँ, २३ बैशाख । वीर अस्पताल सरसफाई अभियान सुरु भएको छ । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले विहान पौने ९ बजे अस्पताल पुगी चौथो तल्लामा रहेको शौचालयको प्यान पुछेर सरसफाई अभियानको शुभारम्भ गरिन ।

राज्यमन्त्रीसंगै अभियानमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङ, अस्पतालका निर्देशक प्राडा भुपेन्द्रकुमार बस्नेत, धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष एवं नेपाल सरकारका सरसफाई दुत सिताराम कट्टेल धुर्मुस, खेम्स क्लिनिङका खेम शर्मा लगायतले सहभागिता जनाएका थिए ।

सरसफाई अभियानको नेतृत्व त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सरसफाई गरी वाहवाही पाएका गैरआवासीय नेपाली खेम शर्मा तथा सरसफाई दुत धुर्मुसले लिएका छन् । उनीहरुको योजना आगामी १५ दिनमा बीर अस्पताल र अरु १५ दिनमा ट्रमा सेन्टरको सरसफाई गरी चम्काउने छ ।

त्यसबीचमा उनीहरुले बीर तथा ट्रमा सेन्टरको सरसफाईमा कार्यरत क्लिनरहरुलाई अस्पताल सरसफाई गर्ने टेक्निक समेत सिकाउनेछन् ।
त्यसका लागि अस्पतालका तर्फबाट १० जना क्लिनर र खेम्स क्लिनिङका तर्फबाट १५ जना भोलेन्टियर क्लिनरहरु खटिनेछन् ।

अभियन्ता खेम शर्माले नेपालकै सबैभन्दा जेठो र ठूलो अस्पताल वीरमा आफ्नो एक्टपर्टीजलाई प्रयोग गर्न पाउँदा खुशी लागेको बताए । उनले अस्पतालको शौचालय देखि इमरेजेन्सी, वार्डहरुको सरसफाई गर्ने बताए । ‘अहिले हेर्नु भएको छ । अवको १५ दिन पछि आएर फेरी हेर्नुहोला । पक्कै पनि फरक पाउनुहुनेछ । वीर अस्पताल पक्कै परिवर्तन देखिनेछ,’ उनले भने ।

त्यसअघि अभियान शुभारम्भ कार्यक्रमलाई संवोधन गर्दै स्वास्थ्य राज्यमन्त्री अर्यालले अस्पतालहरुको सरसफाई पहिलो दायित्व सम्झेर अभियान सुरु गरिएको बताइन । उनले उपचार सेवालाई प्रभावकारी बनाउन अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको मात्रै नभई अस्पतालको सरसफाईले पनि महत्व राख्ने भन्दै त्यसैको सुरुवात गर्न लागेको बताइन । उनले बीरबाट सुरु भएको अभियान अरु अस्पतालमा समेत पुग्ने जानकारी दिइन ।

न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङले पुरानो भवन भएको र अस्पतालमा बाहिरका व्यक्तिहरुसमेत शौचालय प्रयोग गर्न आउने भएका कारण शौचालयमा समस्या देखिएको बताए । उनले अभियान र क्लिनरहरुलाई तालिम दिएपछि अस्पतालको मुहार फेरिने विश्वास व्यक्त गरे ।

अस्पताल सफाईमा मन्त्रालय र खेम्सक्लिनिङ, धुर्मुस सुन्तली फाउन्डेसनले गरेको सहयोगको सराहना गरे । सरसफाईका लागि आवश्यक औजार, सरसमान अस्पतालले नै उपलव्ध गराएको निर्देशक डा बस्नेतले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *