‘श्रद्धेय डाक्टर साहेब ! आफुलाई म मर्दैछु भन्ने कहिल्यै नसोंच्नुहोला’

श्रद्धेय डाक्टरसाहेब,
असीम श्रद्धा !
अचानक तपाईं उपचारको लागि बेलायत गएको खबरले हामी मर्माहत भएका थियौं । त्यो समयमा अनेक हल्ला चले । जस्तो, तपाईंलाई पित्तनलीको क्यान्सर भएको, पित्तथैलीको क्यान्सर भएको, प्यान्क्रियाजको क्यान्सर भएको, यहाँ उपचार सम्भब नभएकोले बेलायत गएको आदि … ।

त्यसको केहि समयपछि पारिवारिक स्रोतलाई उधृत गर्दै उहाँलाई क्यान्सर नभएको, सामान्य जांचपछि आराम गरेको जस्ता खण्डन पढ्न पाइयो । चिकित्सा बिज्ञानको विद्यार्थीको नाताले मलाइ त्यतिबेला लागेको थियो – तपाइंलाई पक्कै पनि नेपालमा उपचार सम्भब नभएको रोग लागेको छ र त्यो रोग प्राणघातक क्यान्सर नै हो ।

डा. रविन्द्र समिर

मैले बुझ्छु, हामी चिकित्सकलाई बिरामी छु भन्ने अधिकार छैन, हैसियत छैन । बिरामी छु भन्ने बितिकै हाम्रो पेशा, पेशागत संस्था, हामीले हेरिरहेका बिरामी, मेडिया तथा आम जनतामा हाम्रो हैसियत ( ? ) उजागर हुन्छ ।

यति लामो समय बेलायतमा बस्दा मलाइ लागेको थियो, तपाईं सर्जरी / केमो आदिको चक्रब्युहमा हुनहुन्छ र त्यो कर्कटलाई जितेर त्यो मिठो मुस्कान छर्दै विमानस्थलमा देश र जनतालाई अभिबादन गर्दै आउनुहुनेछ । तर, विधिको बिडम्बना, तपाइँ अन्तिम सत्य बोल्न बाध्य हुनुभयो, हामी निरिह भएर सुन्न बिबश भयौं ।

डा. उपेन्द्र देवकोटा नेपालको मात्र नभएर एसियाकै, अझ भन्ने हो भने विश्वकै अमूल्य गहना हो, न्युरो सर्जरीमा कोशेढुंगा हो । उ डाक्टर मात्र हैन, समाजको गहिरो अन्वेषक पनि हो, राजनीतिको गहिराइमा डुबेको व्हेल माछा पनि हो । उ स्पष्ट बक्ता हो, आफ्नो मर्जीको मालिक हो, स्वाभिमान र गर्वको शिखर पनि हो । शायद घमण्डी पनि हो । आजीवन राजनीति गर्नेहरु नपुगेको टाकुरामा पुगेको खेलाडी पनि हो । नेसनल ट्रमा सेन्टर, चिकित्सा बिज्ञान प्रतिष्ठान लगायत उपलब्धिको जननी पनि हो । उ व्हेल माछो हो, त्यसैले कहिल्यै पनि कुवामा अटाएन, पोखरीमा अटाएन, नदीमा अटाएन अनि समुद्रमा पनि अटाएन । उ हामी सबैको अनुकरण एबम इर्श्याको पात्र पनि हो ।

हामी सबै मृत्युको गन्तब्य बोकेर जन्मिएका हुन्छौं । हरेक पलपलमा मृत्युलाई जित्दै, नाघ्दै, अस्वीकार गर्दै, अटेर गर्दै ..हामीहरु उसैको गन्तब्यतिर दौडिरहेका हुन्छौं । जन्मेपछि मान्छेमात्र हैन हरेक प्राणी, बस्तु तथा सृष्टिको अन्त्य हुन्छ । जीवन निमेषमा चलेको हुन्छ भने मृत्यु असिमित आयु र अनन्त दायरामा बाँचेको हुन्छ । हाम्रो त के कुरा भयो र ? भगवान राम, कृष्ण, अल्लाह, येशु लगायत देवता समेत मृतुन्जयी बनेनन् ।

मृत्यु अनपेक्षित, चामत्कारिक एबम सर्वाधिक पीडादायी हुन्छ । दुर्घटनामा परेर, हृदयाघात भएर, मस्तिष्कघात भएर वा अन्य प्राणघातक रोगबाट मृत्यु हुनपनि सक्थ्यो । त्यो भएको भए तपाइंलाई आफुले मृत्युबरण गर्दै गरेको वा गरेको थाहा समेत हुने थिएन । अहिले कमसेकम आफ्नो आयु थाहा छ, उपचार गर्न नपाएको गुनासो छैन, ब्यबहार मिलाउन नपाएको पारिवारिक पीडा छैन… ठूलो कुरा त चमत्कारको आशा छ ।

यो संसारमा लाखौं यस्ता रोगहरु छन् जसलाई चिकित्सा बिज्ञानले अहिलेसम्म पत्ता लगाएको छैन, लाखौँ उपचारका स्रोत छन् जसलाई चिकित्सा विज्ञानले अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।

आशा अझै बाँकी छ ! सम्भावनाको दियो निभेको छैन ।

श्रद्धेय डाक्टरसाहेब । आफुलाई म मर्दैछु भन्ने कहिल्यै नसोंच्नुहोला । आफुले सम्पूर्ण जीवन छोंटो समयमै भोगेकोमा गर्व गर्नुहोला । तपाई यस्तो उचाइमा पुगेको व्यक्ति हो जसको लागि ओर्लनुको बिकल्प थिएन । तर तपाईंलाई बिकल्पको स्वर्ण अवसर प्राप्त भयो । अनिच्छापूर्वक बिश्रामको बाध्यतामा पर्नु जस्तो ठूलो उपलब्धि केहि हुँदैन ।

यहाँ स्वयम् गहन अध्येता पनि हो तसर्थ मैले स्टेफेन हकिंगदेखि जगदीश घिमिरेको उदाहरण दिनु आवश्यक छैन । दुईबर्षे आयुको ग्रेस थपेर घर फर्किएका जगदीश घिमिरेले अन्तर्मनको यात्रा नलेखेको भए एकबर्ष पनि उनको लागि टाढाको कुरा हुन्थ्यो, आत्मबल र गन्तब्यको क्रेजले उनी ८ बर्ष सक्रिय जीवन बाँचे । त्यति मात्र हैन, जमराको रस तथा खुर्पानिको बिउ खाएर क्यान्सर जितेका धेरै व्यक्तिहरु हाम्रो समाजमा छन् । स्वमुत्रपानले समेत क्यान्सरलाई ढालेका मुक्केबाज पूर्वमन्त्रि गणेश शाह लगायत व्यक्तिहरु हाम्रो समाजमा अझै सक्रिय छन् ।

तसर्थ एक रति पनि हार नखानुहोला । आफुले गरेको संघर्ष, देखेको संसार, भोगेका पल एबम त्यो अद्भुत क्षमताको रहश्यलाई जस्ताको तस्तै लेखेर हाम्रो अनि भविष्यको पुस्तामा तपाईं बाँचिरहनुहुनेछ । गन्तब्यको सिमा भएको लेखाइभन्दा ठूलो थेरापी अरु केहि हुँदैन ।

तपाईं अस्पतालमा बसेर ‘ कठै ‘ को पात्र बन्नुहुँदैन । आफ्ना र अरुका आँशुको द्रष्टा तथा भोक्ता बन्नुहुँदैन । यो कार्यले आत्मबलको घोडालाई लगाम लगाउँछ । तपाईं आफ्नो जन्मस्थान जानुहोस, एकपटक रारा ताल पुग्नुहोस, सगरमाथाको बेसक्याम्प पुग्नुहोस अनि यो स्वर्गको कुनै टुक्रामा बसेर आत्मकथा लेख्नुहोस ।

आधुनिक बिज्ञानले दिएको एक्सपायर डेटलाई खारेज गरेर यस्ता साधकको भर पर्नुहोस जसले संजीवनीबुटी, हिमाली जल, प्राणी उत्पादन आदिको प्रयोग गरेर कहिल्यै नमर्ने महर्षी बनाउन सकुन । त्यो सम्भब छ । कुनै पनि कुरा बिकल्पबिहिन हुँदैन भने बिकल्पको प्रयोग किन नगर्ने ? के थाहा ? पित्तथैलीको क्यान्सरलाई भालुको पित्तले पो निर्मुल गर्छ कि ? प्रकृतिलाई बचाइरहेको हिमाली जडिबुटीले तपाईलाई नबचाउनुको कुनै कारण छैन ।

तन्त्र, मन्त्र अनि देवालय दर्शनमा विश्वास गर्नुहोस । योग र ध्यानले आफ्नो समाधि तय गर्ने ऋषि जन्मेको यो पवित्र भूमिमा उपचारको कुनै कमि छैन, कमि छ त हाम्रो विश्वासको । तसर्थ प्रयत्नले छोड्नुअघिं हामीले प्रयत्नलाई छोड्नुहुँदैन ।

अहिले तपाईं साँच्चै सर्वाहारा हुनुभएकोछ । जित्नलाई संसार छ, हार्नलाई केहि छैन । तपाइंको साथमा हामी करोडौं जनता छौं । हामीहरु तपाईको दीर्घजीवनको लागि मुटुभित्र दीप बालेर प्रार्थना गरिरहेकाछौं । डा. देवकोटा ! उठ्नुहोस् , हिड्नुहोस् अनि बिज्ञानभन्दा पर रहेको ज्ञानमा आफुलाई समर्पित गर्नुहोस ।

तपाइंलाई आफ्नो आयुको २० बर्ष दिन तयार प्रशंशक

रवीन्द्र समीर 

डा रविन्द्र समिरको फेसबुकबाट

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *