रजत महोत्सवको अवसरमा नर्भिकद्धारा १४ वरिष्ठ चिकित्सक अभिनन्दित

काठमाडौँ, ८ वैशाख । नर्भिक अन्तराष्ट्रिय अस्पतालले मुलुकको स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै १४ जना वरिष्ठ चिकित्सकलाई दीर्घ योगदानबाट अभिनन्दन गरेको छ ।

अस्पताल स्थापनाको रजत महोत्सवका अवसरमा शनिबार आयोजित विशेष समारोहमा उनीहरुलाई अभिनन्दन गरिएको हो ।

समारोहमा प्रमुख अतिथि प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा. डीबी कार्की, डा. गोपालप्रसाद आचार्य, डा. श्यामबहादुर पाण्डे, वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरु डा. सरस्वती पाध्ये र डा. दिव्यश्वरी मल्ल, वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शङ्करलाल दास, वरिष्ठ शल्यचिकित्सक तथा स्नायु शल्य चिकित्सक डा.दिनेशनाथ गोङ्गल, डा. एस. के. भट्टाचार्य, वरिष्ठ बालरोग विशेषज्ञहरु डा. हेमाङ्गमणि दीक्षित र डा. मणिन्द्ररञ्जन बराललाई अभिनन्दन गरेको हो । उनले अस्पतालमा दीर्घ सेवा गरेका चारजना कर्मचारीलाई समेत सम्मान गरेकी थिइन ।

अत्याधुनिक हेमोडायलाइसिस सेवा शुभारम्भ

 

रजत महोत्सवको अवसर पारेर अस्पतालले अत्याधुनिक सुविधायुक्त चार शैयाको हेमोडाइलाइसिस सेवा पनि आजैदेखि शुभारम्भ गरेको छ । उक्त सेवाको प्रदेश प्रमुख कोइरालाले उद्घाटन गरेकी थिइन ।

उक्त सेवाका विशेषताबारे नर्भिकका वरिष्ठ नेफ्रोलोजिष्ट डा. राजेन्द्र अग्रवालले जानकारी दिए । पच्चीस बर्षे यात्रामा नर्भिकले पार गरेका विविध गतिविधि समेटिएको स्मारिका ‘नर्भिक माइलस्टोन’ को पनि प्रदेश प्रमुख कोइरालाले बिमोचन गरेकी थिइन ।

यसैबीच समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोइरालाले सन् २०३० सम्ममा सबैलाई स्वास्थ्य सेवा पु¥याउने तथा दिगो विकासका लक्ष्य हासिल गर्ने सरकारी प्रयासमा नर्भिकले गरेको योगदानको सराहना गरिन ।

उनले राष्ट्रको आजको आवश्यकता भनेको प्रविधि हस्तान्तरण, सेवा विविधिकरण, सार्वजनिक–निजी साझेदारीको विकासमा जोड दिँदै दिगो विकासका लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताइन ।

समारोहका सभापति एवं अस्पतालका अध्यक्ष वसन्तकुमार चौधरीले मुलुकभित्रै विश्वस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ अस्पताल स्थापना भएको बताउँदै नर्भिकलाई सोही अनुरुप विकास गर्न अस्पताल परिवार प्रतिबद्ध रहेको जानकारी दिए ।

अस्पतालका सद्भावनादूत एवं वरिष्ठ कलाकार हरिवंश आचार्यले औषधोपचारका लागि अथाह धनराशी विदेशिएको यथार्थ औँल्याउँदै त्यसो हुन नदिन नर्भिकले अनवरत रुपमा प्रवाह गरेको सेवा अनुकरणीय रहेको बताए ।

अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई मूल मर्म एवं धर्म मानेर आफूहरुले इमानदारीपूर्वक काम गरिरहेको बताइन ।

तीस शैयाबाट नर्सिङ होमका रुपमा सेवा सञ्चालन गरेको निजी क्षेत्रको स्वास्थ्य सेवा प्रदायक संस्था नर्भिकले हालसम्म ५० लाख जनालाई बरिरङ्ग सेवा उपलब्ध गराएको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *