सगरमाथा आयुर्वेदिक अस्पतालमा थप चार वटा प्राकृतिक उपचारसेवा शुरु

उदयपुर, ६ वैशाख । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा अवस्थित सञ्चालित पुरानो आयुर्वेदिक अस्पताललाई आगामी दिनमा प्रभावकारी बनाएर लैजान थप चार वटा प्राकृतिक उपचार सेवा सञ्चालन भएको छ ।

एलोपेथिक उपचारको प्रभाव बढ्दै गइरहेको र परम्परागत होमियोप्याथिक प्रविधिबाट सञ्चालित आयुर्वेदिक सेवाको प्रभावकारिता कम हुँदै गइरहेका बेला सगरमाथा आयुर्वेदिक अस्पतालले थप नयाँ चार प्रकृतिका उपचार विधि सञ्चालन गरेको अस्पताल प्रशासनले बताएको छ ।

अस्पतालका डा सञ्जीवकुमार यादवका अनुसार प्राकृतिक उपचार सेवा पञ्चकर्म, षटकर्म, बमन, बिरेचन, बस्ती, नात्स्य र रक्तपोक्षण सेवा शुरु गरिएको हो ।

डा यादव भन्छन्, “अहिले एलोप्याथिक उपचारले होमियोप्याथिक र आयुर्वेदिक उपचार छायामा परे पनि यसलाई अझ प्रभावकारी बनाउन हामीहरुले थप प्राकृतिक उपचार विधि शुरु गरेका हौँ ।”

यो विधि प्राकृतिक उपचार पद्धति र योगामा आधारित विधि भएका कारण यो सेवालाई अझ प्रभावकारी बनाएर जीवन्त बनाउन सहयोग हुने उनको धारणा छ ।

सरकारले विगतदेखि शुरु गर्दै आएको आयुर्वेदिक उपचार विधि र आयुर्वेदिक अस्पताललाई प्रभावकारी बनाउन आफूहरुले यो उपचार विधि शुरु गरेको अस्पताल सञ्चालक समितिका अध्यक्ष तथा त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी बताउछन् ।

उक्त अस्पतालले यो सेवा सञ्चालन शुरु गरेको र यसका लागि भौतिक तथा व्यवस्थापन पक्ष पनि पूर्ण तयारी गरिएको उनको भनाइ छ ।

जिल्लाको सदरमुकाम रहेको उक्त अस्पताल पुरानो आयुर्वेदिक अस्पताल हो ।

अन्य आधुनिक एलोप्याथिक अस्पताल र ल्किनिकका कारण यो अस्पताल तथा औषधालय छायामा पर्दै आइरहेका बेला अस्पताल प्रशासन तथा व्यवस्थापन समितिले उपचार पद्धतिमा नयाँ प्रविधिको शुरुवात गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *