अब देशभरका अस्पतालमा पाठेघरको मुख र स्तन क्यान्सर परीक्षण निशुल्क

काठमाडौँ, ३ बैशाख ।  सरकारले २०७५ साल भरी सुरक्षित मातृत्व सम्वन्धी विशेष अभियान सुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अग्रसरतामा सो अभियान सञ्चालन गर्न लागिएको हो ।

राष्ट्रिय सुरक्षित मातृत्व दिवसको अवसरमा नर्सिङ कलेज महाराजगञ्जमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री पद्मा अर्यालले सो सम्वन्धी अभियानको शुभारम्भ भएको घोषणा गरिन ।

नयाँ अभियान अन्तरगर्त बैशाख जेठ असार महिनाभर सबै अस्पतालबाट पाठेघरको मुख र स्तन क्यानसर परीक्षण गरिनेछ । त्यसमा फिस्टुला र क्यान्सर भएको नभएको परीक्षण गरिनेछ । यस्तै साउन भदौ र असोज महिनामा सबै पालिकाहरुमा सुरक्षित मातृत्व कोष स्थापना गर्ने र यो कोषको रकम आकस्मिक प्रसुति सेवामा प्रयोग गरिने बताइएको छ ।

यस्तै कात्तिक मंसिर पुसमा सुरक्षित मातृत्व सम्वन्धी किशोर किशोरी देखि नै जनचेतना फैलाउन देशव्यापी निबन्ध तथा बक्तित्वकला प्रतियोगिता सञ्चालन गरिनेछ । यस्तै माघ फागुन चैत महिनामा सार्वजनिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई स्यानीटरी प्याड वितरण गरिनेछ ।

सो अवसरमा बोल्दै राज्यमन्त्री अर्यालले पहिलेको तुलनामा मातृमृत्युदरमा घटेको भएपनि सन्तोष गर्ने ठाँउ नभएको भन्दै यसलाई प्रभावकारी दरमा घटाउनुपर्ने बताइन । उनले अहिले पनि ४३ प्रतिशत सुत्केरी घरमै हुने गरेको भन्दै यसलाई घटाउन अहिलेको आवश्यकता रहेको बताइन ।

कार्यक्रममा स्वास्थ्य सचिव डा पुष्पा चौधरीले सुरक्षित मातृत्व सम्वन्धमा सरकारले चालेका कदमका बारेमा जानकारी दिएकी थिइन ।
कार्यक्रममा स्वासथ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाका प्रमुख डा तारानाथ पोखरेल, स्वास्थ्य मन्त्रालयका सहसचिव महेन्द्र श्रेष्ठ, प्रदेश सांसद रामेश्वर फुयाल लगायतले सुरक्षित मातृत्वको बारेमा धारणा राखेका थिए ।

सोही अवसरमा त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएका पाँच जना सुत्केरी महिलालाई स्वास्थ्य राज्यमन्त्री अर्यालले दोसल्ला ओडाएर सम्मान गरेकी थिइन । सम्मानित हुनेहरुमा कौशिला सुनुवार, जानकी पौडेल, अमृता श्रेष्ठ, बिमला थापा र कल्पना न्यौपाने रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *