त्रिविले तोक्यो एमडी/एमएस/एमडीएसको नयाँ शुल्क, अधिकतम २२ लाख

काठमाडौँ, २८ चैत ।  त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रका लागि चिकित्साशास्त्र तर्फ स्नातकोत्तर तह (एमडी/एमएस/ एमडीएस)को अध्ययनका लागि नयाँ शुल्क निर्धारण गरेको छ । गत शुक्रबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले एमडी/एमएस/ एमडीएस)अध्ययन गराउने आफ्ना आंगिक तथा सम्वन्धन प्राप्त कलेजका लागि नयाँ शुल्क निर्धारण गरेको हो ।

नयाँ शुल्क अनुसार क्लिनिकल तर्फको एमडी एमएस र एमडीएसको अधिकतम शुल्क २२ लाख तोकिएको छ । यता बेसिक साइन्स तर्फका विषयहरुको अधिकतम शुल्क १० लाख निर्धारण गरिएको छ ।गतवर्ष एमडी एमएस अध्ययन गर्ने विद्यार्थीले २६ लाख शुल्क तिर्नु पर्दथ्यो । 

चिकित्सा शिक्षा सुधारका लागि भन्दै पटक पटक अनसन बसेका प्राडा. गोविन्द केसीले पनि त्रिविमा एमडीएमएसको शुल्क २३ लाख हुनुपर्ने बताएका थिए । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले पनि डा. केसीले भनेजस्तै एमडीएमएस एमडीएसका लागि २३ लाख शुल्क तोक्न सुझाव दिएको थियो भने वेसीक साइन्स तर्फ १२ लाख तोकेको थियो ।

त्रिवि कार्यकारीले यसपटक आइओएमको सुझाव भन्दा एक लाख कम गरी पीजीको शुल्क शुल्क निर्धारण गरेको हो ।

त्यसो त त्रिविको नयाँ शुल्क निर्धारण गर्न सुझाव दिन आइओएमका प्राडा अभिमन्यू झाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो । त्यसका सदस्यहरुमा त्रिवि उच्च शिक्षा सुधार परियोजना कार्यालयका प्राध्यापक शंकर भण्डारी र त्रिवि अनुगमन निर्देशनालयका डा विष्णु खनाल सदस्य तोकिएको थियो । तर सो कार्यदलले शुल्क तोक्ने अधिकार त्रिवि कार्यकारीलाई नै भएको भन्दै स्वविवेक प्रयोग गर्न सुझाव दिएको थियो । त्यस लगत्तै त्रिवि कार्यकारीले शुल्क तोकेको हो ।

त्रिविका उपकुलपति प्राडा तीर्थ खनियाँले यसपटक स्नातकोत्तर तहका लागि अधिकतम २२ लाख शुल्क तोकिएको जानकारी दिए । उनले नयाँ शुल्क अनुसार भर्ना प्रक्रिया शुरु गर्न पत्र गत आइतबार नै सम्वन्धित मेडिकल कलेजहरुलाई पत्र पठाइएको बताए ।

त्रिवि अन्तरगर्त एमडीएमएस र एमडीएस अध्ययन गराउने कलेजहरुमा महाराजगञ्ज मेडिकल क्याम्पस काठमाडौँ, किष्ट मेडिकल कलेज ललितपुर, चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेज बीरगञ्ज, युनिभर्सल मेडिकल कलेज भैरहवा, गण्डकी मेडिकल कलेज पोखरा, नेपाली सेना स्वास्थ्य अध्ययन संस्थान काठमाडौँ, पिपुल्स डेन्टल कलेज काठमाडौँ रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “त्रिविले तोक्यो एमडी/एमएस/एमडीएसको नयाँ शुल्क, अधिकतम २२ लाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *