छ नम्बर प्रदेशले डाक्टरको सुरक्षाका लागि हरेक अस्पतालमा ‘स्वास्थ्य प्रहरी’ राख्ने

काठमाडौँ, २७ चैत । प्रदेश नम्बर ६ का सामाजिक विकास मन्त्री दल रावलले डाक्टरहरुको सुरक्षाका लागि विशेष प्राथमिकता दिइएको बताएका छन् । पछिल्लो समय विरामीको उपचारमा खटिने डाक्टरमाथि डर, धम्की र आक्रमणको क्रम बढेको भन्दै उनले ६ नम्बर प्रदेशका हरेक अस्पतालमा ‘स्वास्थ्य प्रहरी’को रुपमा विशेष सुरक्षा दिन लागिएको बताएका छन् ।

आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रमबारे छलफल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा सोमबार आयोजित छलफल कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री रावलले भने, ‘पछिल्लो समय अस्पतालहरुमा कार्यरत चिकित्सकमाथि हुने डर धम्की दुव्र्यभार र आक्रमण हुने क्रम बढेको छ । यसलाई रोक्नु सरकारको कर्तव्य हो । त्यसका लागि हामीले हरेक अस्पतालमा ‘स्वास्थ्य प्रहरी’को नामबाट सुरक्षा दिने योजना बनाउँदैछौँ । त्यसका लागि उच्च प्रहरी अधिकारीसंग समेत छलफल भइसकेको छ ।’

उनले जनताको उपचारका लागि खटिने डाक्टरले जानाजान लापरबाही गर्छ भन्ने सोच्न नसकिने भन्दै डाक्टर माथि हुने हिंसा तथा आक्रमणलाई आफूले सामान्य रुपमा नलिने बताए ।

‘अरु प्रदेशको योजना के छ तर हाम्रो प्रदेशमा अब डाक्टरले असुरक्षा महसुस गर्नु पर्दैन त्यसका लागि हामीले यथोचित सुरक्षा व्यवस्था गर्दैछौँ ‘  मन्त्री रावलले भने ।

देशका ७७ वटा जिल्ला मध्ये यातायात नपुगेका दुई वटा जिल्लाहरु डोल्पा र हुम्ला आफ्नै प्रदेशमा रहेको भन्दै मन्त्री रावलले इमरेजेन्सी अवस्थाका विरामी तथा सुत्केरी बचाउन एयर लिफ्टिङ गरिने बताए । उनले भने, ‘भौगोलिक विकटताका कारण हामीकहाँ यातायातको सहज पहुँच छैन । त्यसैले विरामी बचाउँनका लागि हामीले एयर लिफ्टिङ गर्नुको विकल्प छैन । अझ म त भन्छु एयर एम्बुलेन्स सञ्चालन गरौँ । नजिकै भारतको उत्तरा खण्डमा एयर एम्बुलेन्स सञ्चालन भएको छ भने हामीले किन सक्दैनौँ ?’ प्रति प्रश्न गर्दै मन्त्री रावलले भने ।

सम्वोधनका क्रममा उनले जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग समेत गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *