चिकित्सकप्रति बदलिँदो सामाजिक व्यवहार : को कति दोषी ?

- नेपाली हेल्थ
– डा. रोशन भगत

हिजो सम्म समाजमा भगवान पछिको दोस्रो दर्जा दिइने गरेका चिकित्सकहरूप्रति नकारात्मक दृष्टिकोण, अभद्र ब्यवहार बढ्दै जानुका पछाडी कारण के होला ?

विशेषगरी भारतीय उप – महाद्वीपका देशहरूमा निकै चुनौतीपूर्ण रूपले बढ्दै गएको नकारात्मक सामाजिक दृष्टिकोण, अभद्र व्यवहार र चिकित्सकको ज्यानै समेत लिएको जस्ता दुर्घटनाहरूको कारणमाथि गहन विश्लेषण गरी गम्भीर छलफल गरेर सम्बन्धित सबैबाट यथाशीघ्र समाधानका पहल नचालिए चिकित्सा सेवामा महासंकट आउने निश्चित देखिन्छ ।

एक चिकित्सक भएको नाताले अरूले औँला देखाउनु भन्दा पहिले हामी बीचमै रहेका सम्भावित कमजोरीहरू र क्रमशः समाज र राज्य पक्षका त्रुटिहरू केलाउनु उचित होला । तर सम्पूर्ण मानव-समाज र सबै चिकित्सकलाई भने एउटै कित्तामा हालेर हेर्न कुनै हालतमा मिल्दैन ।

चिकित्सक बीच बढ्दो प्रतिस्पर्धा –  चिकित्सकको संख्या पहिले भन्दा दिनानुदिन बढ्दै गएको र प्रतिस्पर्धाले गर्दा चिकित्सकहरू सजिलै उपलब्ध हुने भएपछि चिकित्सकको महत्तामा कमी आएकै हो किनकी ‘Easy availability makes something less precious.’

‘बजार’ व्यवस्थापनको ज्ञानमा कमी – बिरामीहरू सेवाग्राहीबाट ‘ग्राहक’(consumer)मा परिणत हुँदै गए तर हामी चिकित्सकले consumerism सिकेनौँ / जानेनौँ । रामदेवले ‘पतंजली’ भन्दै पीठो पनि बेचिसके, हामी भने ‘वैद्यनाथ’को धूलो बेचिरह्यौँ ।

विद्युतीय सामाजिक सञ्जाल सचेत नभएर – चिकित्सा-पेसा, चिकित्सक-सहकर्मी र आफ्ना संघ-संगठन बारे नकारात्मक लेख्दा-बोल्दा सामाजिक सञ्जाल आदिमा क-कसले नियालिरहेका छन् भन्नेमा हामी सचेत भएनौँ र हाम्रा केही कमजोर पक्ष अरूले मसाला हालेर झनै फैलाए ।

चिकित्सकका ग्रुपमा गैर-चिकित्सकको घुसपैठ – आज भोलि चिकित्सक सम्बन्धी सबै भन्दा बढि चर्चा हुने (तर चिन्तन कम हुने !) भनेको चिकित्सकका दर्जनौ विद्दुतीय सामाजिक सञ्जालका ग्रुपहरूमा हो र यस्ता ग्रुपहरूमा प्रायः गैर-चिकित्सक घुसपैठहरू प्रसस्तै छन् । तिनले पनि हाम्रा कमी-कमजोरी, अपरिपक्वता, एकताको कमी, हामी चिकित्सक माझ मात्र सीमित रहनु पर्ने सूचना जस्ता चीज नकारात्मक रूपमा फैलाउछन्।

बढ्दो महँगी र धन-रासीको लागि दौड – महँगी निरन्तर बढेको छ, अझ ‘डाक्टर’ स्तरको जीवन खर्चिलो छ, सरकारी तलव न्यून छ । बढ्दो प्रतिस्पर्धा सँगै चिकित्सक (खासमा जो कोही श्रमजीवी!) माझ धन-रासीको लागि दौड दिनानुदिन कडा हुँदै गएको सबैमा प्रस्ट छ तर चिकित्सक प्रतिको समाजको विशेष ‘नजर’ले उसलाई ‘द्रव्यपिशाच’ घोषित गरी दियो !

चिकित्सक माझ शून्य एकता र निरीह चिकित्सक संघहरू – उद्योग वाणिज्य संघ होस् की यातायात व्यवसायी संघ वा अन्य निजामती कर्मचारी युनियन, तिनको एकता अगाडी हाम्रो झन्डै शून्य छ र हाम्रा चिकित्सक संघहरू निरीह बनेका छन् । हामीलाई आफ्नो पेसा र हक-अधिकार बारे चिन्तन र छलफल गर्ने फुर्सद नै देखिँदैन !

केहीमा ‘डाक्टर’ हुनुमा गर्व नभई घमन्ड देखिनु – हाम्रै केही सहकर्मीहरू बिरामी वा अन्य लाई होच्याएर “तपाई डा. कि म डा. ?” जस्ता कटु बचन भनेको सुनेकै छौँ होला । यस्ता अनेकौँ कटु वचनहरूले समाजमा सम्पूर्ण चिकित्सकलाई नै ‘घमन्डी’को संज्ञा दिँदै गयो ।

चिकित्सक माझ स्व-अनुशासन र मर्यादाक्रममा ह्रास – पहिलेको तुलनामा चिकित्सा क्षेत्रमा स्व-अनुशासन, वरिष्ठता र अनुभवको आदर र मर्यादा क्रमको कदर आदिमा ह्रास आएकोमा दुई मत नहोला । यसले विस्तारै पीढी पिछे आखिर चिकित्सककै सामाजिक मर्यादा घट्दै गयो । चिकित्सकले नै चिकित्सकको आदर गरेन भने अरूले झनै गर्दैन !

आफ्नो वास्तविक महत्त्व नबुझेर – एक-डेढ दशक पहिले MBBS चिकित्सक पनि निकै ठूलो मानिन्थे र तिनिसँग बोल्न पनि कठिन थियो । अहिले चिकित्सक स्वयंले नै आफ्नो महत्त्व नबुझेर र एउटा वर्ग-अनुशासन तोड्दै ‘जो-कोही’सँग सजिलै खाने-‘पिउने’, घुमने, ‘cool’ भन्दै रमाउने सामान्य भएको छ ।

व्यक्तिगत बानी व्यहोरा गोप्य नराख्ने – चिकित्सक पनि मान्छे नै हुन् तर समाजले विशेष अपेक्षा राखेकै हो । हामी भने (शिक्षण)अस्पताल वरिपरिका चमेना गृह, ढावा तथा औषधि र गाडी कम्पनीका ‘पार्टी’हरूमा हामी माझ सीमित हुनुपर्ने चिकित्सिय-गोप्य तथा व्यक्तिगत चर्चा र बेहोसीका क्रियाकलापहरू आम नागरिक माझ जान-अन्जान फैलेको हामी मध्ये कतिले देखे-भोगेका पनि छौँ ।

बिरामीको परिवार-जनसँग विस्तृत संवादको कमी – समयको अभाव, बिरामीको चाप या अन्य कुनै कारणले होस् बिरामीको रोग बारे परिवार-जनसँग विस्तृत संवाद र proper documentation & record-keeping को कमी सच्याउनै पर्ने देखिन्छ ।

चिकित्सक माझ बढ्दो नैराश्यता र आशाहीनता – दिनानुदिन बढ्दै गएका चिकित्सकमाथि अभद्र व्यवहार, कुटपिट र ज्यानै समेत लिएको जस्ता दुर्घटनाहरूले चिकित्सकहरूमा नैराश्यता, आशाहीनता र चिन्ता बढ्दो छ तर चिन्तन र समाधानका पहलको कमी छ ।

मेडिकल काउनसिलको आश्चर्यजनक सुस्तता – चिकित्सक प्रतिको बढ्दो भयावह संकट व्यवस्थापनमा मेडिकल काउनसिल युद्ध-स्तरमा लागेर राज्य-पक्षलाई घचघच्याउनु पर्नेमा सुस्तता र अवसरवाद हाबी भएको देखिन्छ ।

चिकित्सकमाथि बिरामीको अधिक बोझ – चिकित्सक बढे पनि जनसंख्याको अनुपातमा जहिले पनि अपुग नै रहेको छ । विशेष गरी दूर-दराज ठाउँमा यसले चिकित्सकमाथि बिरामीको अत्याधिक बोझ छ, आधारभूत औजार-उपकरण समेतको पूर्ति हुँदैन र गुणस्तरीय उपचार दिन असम्भव-प्रायः हुँदा उपचारमा दुर्घटनाहरू स्वतः बढ्छन् ।

चरम अराजक र केवल नाफा-केन्द्रित पीत-पत्रकारिता – राज्यको जिम्मेवार (?चौथो) अङ्गको भूमिका खेलेर नागरिकको सूचनाको हक सुनिश्चित गर्नुपर्ने पत्रकारितामा ‘समाचार बेच्ने’ होडबाजी बढेको छ । बिना-प्रमाण, मनलागी नकारात्मक र अतिरञ्जित समाचार तथा नाफा-मूलक भ्रामक खबर र ठूला विज्ञापनले छापाको व्यापार बढ्दो छ । अझ विद्दुतीय छापाहरूको अराजकता, अनियन्त्रण र अनाधिकारिकताको स्थिति भयावह छ।

नकारात्मक समाचार, टिक्का-टिप्पनी बढी फैलिने – मानव-समाजमा नकारात्मक समाचार बढि फैलिनु विकास-क्रम (evolution)को उपज हो । नकारात्मक घटना प्रति बढि सचेत हुँदा बाच्ने सम्भावना (survival) बढ्दछ । तर यसको गलत फाइदा पीत-पत्रकारिताले व्यापारीकरण गरेर उठाएको देखिन्छ ।

Quack (अवैध उपचार गर्ने)हरूले सुनियोजित बदनाम गर्ने गरेको – चिकित्सकको उपस्थितिले आफ्नो ठगीको व्यापारमा धक्का पुगेपछि उपाय नलागेर चिकित्सक लक्षित नकारात्मक खबर फैलाउने, बिरामी भड्काउने, उपचार दुर्घटना पछिको भिड झनै उत्तेजित पार्ने जस्ता कार्य सुनियोजित ढँगले गरिन्छ ।

राजनीतिज्ञ समेतबाट सस्तो लोकप्रियताको लागि दोषारोपण – आफ्नो स्वार्थ, नालायकीपन, राजनीतिक कमजोरी र कमजोर संयन्त्र ले स्वास्थ्य संस्थाको स्थिति नाजुक रहेको लुकाउन तथा जनता माझ क्षणिक/तत्काल वाह-वाही पाउन र चुनाव जित्न चिकित्सकको दुई-चार दोष देखाउने, (खाली हात भएनि!) चिकित्सकलाई गाउँ-गाउँ पुर्याउने गफ दिनु सामान्य भएको छ ।

राज्य र कर्मचारीतन्त्रद्वारा नै चिकित्सकको अवमुल्यन – अन्य देशका चलनचल्तीको उचित तलव, अतिरिक्त सेवा (night duty, overtime, on-call) आदिको भत्ताको कुरा उठाउँदा राज्यले तदारुकता नदेखाउने र अन्य कर्मचारीहरूले पनि “डा. भएपछि खटिनु पर्यो नि, किन चाहियो हामी भन्दा बढि तलव ?” जस्ता व्यहोराले चिकित्सकको अवमुल्यन भएको यथार्थ हो ।

भ्रष्ट राज्यव्यवस्था र कमजोर न्यायप्रणाली – यो सायद अधिकांश समस्याहरूको जड हो । चिकित्सकहरू मरणासन्न कुटिदासम्म पनि अपराधीहरू खुलेआम घुम्नु आफैमा भ्रष्ट राज्यव्यवस्था र कमजोर न्यायप्रणालीको एक ज्वलन्त उदाहरण हो ।

ICU (अति सघन उपचार) मा वृद्धि हुनु – विकास सँगै देशमा ICU (अति सघन उपचार) हरू वृद्धि हुन थालेपछि अति-सिकिस्त बिरामीहरू पनि बढि नै भर्ना हुने भए । अति-सिकिस्त बिरामी भर्ना हुँदा अस्पतालमा हुने मृत्यु दर पनि आफै बढ्छ तर यसलाई ‘लापरवाही’ बढेको भनियो ।

स्वास्थ्य बिमाको कमी र बढ्दो उपचार शुल्क – चरम पुँजीवाद र गुणस्तरीय सरकारी अस्पतालको कमीले बिरामी हुँदा चरम आर्थिक भार पर्दछ । औषधि-उपचार शुल्क बढ्दो छ र स्वास्थ्य बिमा पर्याप्त छैन । यसले बिरामीका परिवार-जन निकै तनावमा हुन्छन् र अस्पतालमा द्वन्द्व हुने सम्भावन निकै बढ्छ ।

बिरामीको मृत्यु पश्चात् तोड-फोड गरी रकम असुल्ने गिरोह सकृय – कतै उपचारको क्रममा मृत्यु भएको खबर पाउना साथ बिरामीको परिवार-जन उक्साउने, बहकाउने र तोडफोड गरी दलाली (brokering) गर्दै अस्पतालबाट रकम असुल्ने र ठूलो भाग खाने गिरोह सकृय पाइन्छ र यसमा राज्यपक्ष निरीह देखिन्छ ।

चिकित्सक प्रति ईर्ष्यालु भाव – कता-कता केही पेसाकर्मी/कर्मचारी आफू जति नै भ्रष्ट र नालायक भए पनि चिकित्सक प्रति ईर्ष्यालु हुन्छन् र मौका पाउँदा दुई-चार नकारात्मक टिप्पनी गरि हाल्छन् र यसले विस्तारै समाजमा चिकित्सकको खराब चित्रण गर्दछ ।

वास्तविक ‘लापरवाही’हरू मिलेमतोमा लुकाइनु – वास्तवमै घटेका उपचारका दुर्घटनाहरूलाई ‘लापरवाही’को संज्ञा दिँदै अस्पताल र बिरामी पक्ष ( दलाल गिरोह सहित) मिलेमतोमा ढाकछोप गर्ने उदाहरणले चिकित्सकले नै ‘लापरवाही’ गरेको होला भन्ने सन्देश दिन्छ र पत्रकारिताले यसमा मल-जल गर्दछ ।

उपचारका त्रुटिहरूको न्यायोचित व्यवस्थापन प्रणाली नहुनु – देशमा अनेकौँ परिवर्तन देखिए तर कुनै उपचार-दुर्घटना भएर बिरामीको मृत्यु वा अंगभंग भएमा कुन प्रक्रियामा जाने, कसले छानबिन गर्ने, पत्रकारले कति खेर ‘लापरवाही’ भन्ने संज्ञा दिन मिल्ने, चिकित्सक नै वा अन्य जिम्मेवार हो? जस्ता छिनोफानो गर्ने न्यायोचित व्यवस्थापन प्रणाली नहुनाले संकट गहिरिदैं गएको देखिन्छ ।

चिकित्सा शिक्षाको खस्किदो गुणस्तर र चरम व्यापारीकरण – देशमा सरकारी भन्दा निजी शिक्षण अस्पताल निकै बढि हुनु, निजी प्रायः नाफामुखि हुनु र बढ्दो आर्थिक प्रतिस्पर्धा तथा कमजोर अनुगमनले गुणस्तर खस्किदो छ । अझ शिक्षा र स्वास्थ्यमा चरम व्यापारीकरण बढ्दो छ जसले गुणस्तरमा ह्रास आइकन उपचार-दुर्घटनाहरू बढ्द छन् ।

स्वास्थ्य व्यवसायमा चरम पुँजीवाद र बढ्दो लुट-तन्त्र – ठूला-बडा/पहुँच वाला/नेता आदि सबका निजी अस्पताल, फार्मेसी, प्रयोगशाला आदिमा चरम नाफामुखि व्यापारीकरण छ भने भ्रष्ट राज्यव्यवस्था र कमजोर अनुगमन प्रणालीले खुलेआम बिरामी लुटिन्छन् । तर दोष जति चिकित्सकमाथि मात्र लादिन्छ ।

बढ्दो साक्षरताले स्वास्थ्य सम्बन्धी अल्प-ज्ञानमा वृद्धि – समय सँगै बढ्दो साक्षरताले जनता स्वास्थ्य बारे केही सचेत त भएका छन् तर पूर्ण ज्ञान र उपचारका सीमितता र जोखिम बारे अझै अनभिज्ञ छन् । यसले चिकित्सक र बिरामी/परिवार-जन बीचको संवादमा र समझदारीमा ठूलो खाडल कायमै छ ।

माथि टिपोट गरिएका बाहेक थप समस्याहरू पनि होलान् । सम्बन्धित सबैले गम्भीर भई यीनको सम्बोधन समयमै नगरेसम्म चिकित्सक र समाज बीचको बढ्दो मिथ्याबोध, चिकित्सक माझको बढ्दो नैराश्यता तथा स्वास्थ्य क्षेत्रमा यसका दूरगामी असरहरू रोक्न सकिँदैन र झनै बढ्नेछ ।

थप समाचार

Loading...

One thought on “चिकित्सकप्रति बदलिँदो सामाजिक व्यवहार : को कति दोषी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *