स्वास्थ्य बीमा कार्यक्रमको दुई बर्ष : ६ लाख दर्ता भए, झण्डै डेढ लाखले उपचार लिए

काठमाडौँ, २६ चैत । स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको दुई बर्षको अवधीमा यसमा आवद्ध हुने सदस्यसंख्या ६ लाख नाघेको छ । यहि अवधीमा बीमा गराएर सेवा लिनेको संख्या १ लाख ३८ हजार ५०० पुगेको छ ।

आइतबार बीमा कार्यक्रम प्रारम्भ भएको दोस्रो बार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा राष्ट्रिय बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक डा भुवन पौडेलले हालसम्मको प्रगति बिबरण प्रस्तुत गरेका थिए ।

उनका अनुसार बीमामा आवद्ध भएकाहरुबाट उठेको प्रिमियम मात्रै ३३ करोड ४७ लाख २० हजार पुगेको छ । यहि अवधीमा बिमितको उपचारका लागि बोर्डले २१ करोड ८७ लाख ८३ हजार ५७७ रुपैयाँ खर्च गरेको छ ।

विसं २०७२ चैत २५ गते कैलालीबाट शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले सम्म देशका ३३ जिल्लामा पुगिसकेको छ । र, यसै आर्थिक बर्ष भित्र थप ७ वटा जिल्लाहरु पर्सा, बझाङ, कालिकोट, मुगु, डोल्पा हुम्ला र सिराहा पुरयाउने राष्ट्रिय बीमा बोर्डको लक्ष्य छ ।

एउटा परिवार (५ जना) ले बार्षिक २ हजार ५ सय रुपैयाँ प्रिमियम बुझाएपछि उसका हरेक सदस्यले बीमा गरेबापत बार्षिक ५० हजारसम्मको उपचार पाउने व्यवस्था छ । परिवारमा ५ जना भन्दा बढी भएका सदस्य भएमा थप सदस्यका लागि ४२५ रुपैयाँमा थप हुने र उपचार सुविधामा १० हजारका दरले थपिदैँ जाने प्रावधान छ ।

साढे ४५ हजार अति विपन्नको सुविधा निशुल्क
हालसम्म बिमित भएका ६ लाख १ हजार ८ जनामध्ये ४५ हजार ६७७ जना अति विपन्नको परिचय पत्र पाएका नागरिक छन् । ती सबैको बीमा बापतको प्रिमियम सरकारले तिरिदिएको छ । र, यो हरेक बर्ष सरकारले तिरिदिनेछ । निमित्त निर्देशक डा पौडेल भन्छन्, कुल विमितमध्ये ७.६ प्रतिशत नागरिक अति विपन्नको परिचयपत्र प्राप्त छन् ।

१५ प्रतिशतले नविकरण गरेका छैनन् 
बीमा शुरु भएको दुई बर्षको अवधीमा दर्ता भएकामध्ये करीब १५ प्रतिशतले बीमा नविकरण गरेका छैनन् । बीमा बोर्डले त्यसको एकीन कारण पत्ता लागि नसकेको जनाएको छ । यद्धपी कतिपयले भनिए अनुसारको सेवा नपाएको बताउने गरेका छन् । डा पौडेलले भने, ‘कतिपय ठाँउबाट सर्भिसका बारेमा कम्प्लेन आएका छन् । ती कारण वा अन्य कारण पनि हुन सक्छन् ।’

अहिलेसम्म कुल जनसंख्याको साढे दुई प्रतिशत मात्रै बीमामा आवद्ध भएपनि बोर्डले अवको दुई बर्षपछि अर्थात सन् २०२०सम्म ५० प्रतिशत र सन् २०३० सम्म सत प्रतिशत बीमा गराउने लक्ष्य लिएको छ ।

बीमाको सेवा अझ प्रभावकारी बनाउन आवश्यक : राज्य मन्त्री अर्याल
स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सबै जनतालाई सहज रुपमा गुणस्तरीय सेवा पुरयाउनका लागि बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताइन ।

दोस्रो स्वास्थ्य बीमा दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले दुई बर्षको अवधीमा बीमामा दर्ता भएको संख्या र उपचार लिएको संख्याका आधारमा नेपालमा बीमा कार्यक्रम सम्भव छ भन्ने प्रमाणित भइसकेको भन्दै अव गुणस्तरीय सेवा बढाउनुको विकल्प नभएको बताइन । उनले हरेक पालिकाहरुमा एक एक अस्पतालको अवधारणा आएको भन्दै त्यसले बीमा कार्यक्रमलाई थप प्रभावकारी हुने बताइन ।

निमित्त स्वास्थ्य सचिव डा. सुशील प्याकुरेलले बीमा कार्यक्रमले स्थानीय तहमै सहज उपचार सेवा लैजानेक्रमको सुरुवात भएको भन्दै यसलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक समेत रहेका स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. गुणराज लोहनीले बीमा कार्यक्रम होला कि नहोला भन्ने अवस्थामा जवरजस्ती रुपमा शुरु गरिएको र अहिले त्यसले एउटा रुप लिन थालेको बताए ।

‘हामीले दुई बर्ष ट्रयाक खोलेका हौँ । अव विस्तारै बाटो फराक हुँदै गएको छ । यो खुशीको कुरा हो,’ उनले बीमाकै कारण स्थानीय स्वास्थ्य संस्थामा उपकरण र जनशक्ति पुगेको भन्दै यसलाई थप प्रभावकारी बनाउन सकिने बताए ।

कार्यक्रममा उपमहानिर्देशक चुडामणी भण्डारी, डा बद्रराज पाण्डे, डा चिन्तामणी तिवारी, विपिन कार्की लगायतले आफ्ना धारणा राखेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *