प्रसूतिपछि रगत बग्ने समस्या रोक्ने ‘कन्डम टेम्पोनेड’ के हो ?

डा. उत्तम पच्या

गत चैत १९ गतेको कुरा । प्रसूतिका लागि भन्दै आफ्नी गर्भवती श्रीमतीलाई लिएर एक श्रीमान् गुल्मी जिल्ला अस्पताल आउँनुभयो ।
गभवतीको सामान्य जाँच गरयौँ ।

उहाँको गर्भको समय नाघिसकेका ब्यथा लगाउने औषधि दियौँ । करीब ८ घण्टा पछि सुत्केरी हुनुभयो । तर साल निकाले पछि गर्भासयको मुखबाट ह्वाल ह्वाली रगत बग्न थाल्यो । यसलाई स्वास्थ्य विज्ञानमा पोस्टपार्टम हेमोरेज भनिछ ।

मुख्यतः यसको कारण गर्भासय प्राकृतिक रुपमा नखुम्चिनु हो । कहिले काँही अरु कारण जस्तै : सालको टुक्रा अड्किनु, गर्भासयको मुख च्यातिनु वा रगत सम्बन्धी खराबीका कारण पनि यस्तो हुन सक्छ । तर यी महिलामा चाँही गर्भासय नखुम्चिने कारणले रगत बगेको हो । गर्भासय खुम्चाउने औषधि दिंदा पनि रगत बग्न छोडेन । अबको बिकल्प थियो कन्डोम टेम्पोनेड ।

हामी तुरुन्त रगतको जोहो गर्न उनको रक्त समूह मिल्ने मान्छेलाई खबर गरयौँ । त्यसबीचमा ती महिलाको श्रीमानको पनि रगत जाँच गर्यौँ । संयोगबस उनको रक्त समूह श्रीमतीसंग मिल्दो रहेछ । उनका श्रीमानले तुरुन्तै रगत दिए । सो समयभरी कन्डोम टेम्पोनेड प्रयोग गरी गर्भासयको मुखबाट रगत बग्न रोक्न सफल भयौं ।

कन्डोम टेम्पोनेड गरेपछि श्रीमान श्रीमती

भोलिपल्ट यस जिल्ला अस्पतालमा ग्रामिण पोस्टिंगमा आएका पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानका एमबीबीएस अन्तिम बर्षका विद्यार्थी विवेक गुरुङले पनि एक पिन्ट रगत दिए । यहाँ नेर थाह पाउनै पर्ने कुरा के हो भने विश्वमा मात्र नभएर नेपालमा पनि धेरै आमाहरुको मृत्यु पोस्टपार्टम हेमोरेजले गर्दा हुन्छ।

के हो कन्डम टेम्पोनेड ? यसले कसरी काम गर्छ ?
यो बलुन टेम्पोनेडको एक रुप हो जसमा दुई वटा कन्डम एक भित्र अर्को राखी पिसाब लगाउने नली (फोलिज क्याथेटर) जोडी गर्भासयमा राखिन्छ ।

सो पिसाब लगाउने नलीबाट सलाइन पानी पठाई गर्भासयको भित्री भित्तामा प्रेसर दिइन्छ । जसले गर्दा रगत बग्न पाउदैन । यो करीब १२ देखि २४ घण्टा सम्म राखिन्छ । बिस्तारै सलाइन पानी तानिन्छ ५० देखि १०० मिली लिटर प्रति घण्टाको दरले ।

कति उपयोगी छ कन्डम टेम्पोनेड, कसले र कहाँ प्रयोग गर्न सकिन्छ ?
यो निक्कै नै उपयोगी छ । विभिन्न अध्ययन्हरुले अनुसार ८० देखि १०० प्रतिशत प्रभावकारी देखिन्छ । यसको प्रयोगले गर्भासय नै निकाल्नु पर्ने (हिस्टेरेक्टोमी) हुन बाट बचाउँछ ।

अपरेसन गर्ने मानव संसाधनको आवश्यकतालाई न्यूनीकरण गर्छ । यसको प्रयोग हेल्थ पोस्टको बर्थिंग सेन्टर देखि लिएर ठूला केन्द्रीय अस्पतालमा प्रयोग प्रभावकारी रुपले गर्न सकिन्छ । यसको प्रयोग एसबिए (स्कील बर्थ एटेन्डेन्स) तालिम प्राप्त अनमी वा स्टाफ
नर्स वा एडभान्स एसबिए (एडभान्स स्कील बर्थ एटेन्डेन्स) तालिम लिएको एमबीबीएस चिकित्सकले सजिलै गर्न सक्छन ।

यसको मान्यता
स्त्री तथा प्रसुति बिज्ञान को अन्तरराष्ट्रिय महासंघ तथा अमेरिकन कलेज अफ अब्स्टेट्रिक्स एण्ड गाइनेकोलजी (International Federation of Obstetrics and Gynecology)मान्यता दिई सकेका छन् ।

# डा.  पच्या गुल्मी जिल्ला अस्पतालमा मेडिकल जनरलिष्टको रुपमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *