कर्मचारीको आन्दोलनपछि पोखराको मणिपाल शिक्षण अस्पताल तनावग्रस्त


पोखरा, १९ चैत । सेवा सुविधा बढाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारी र प्रहरीबीच झडप भएको छ । झडपमा परी ४ आन्दोलनकारी कर्मचारी र ७ जना प्रहरी घाइते भएका छन् ।

लामो समयदेखि आन्दोलनमा उत्रिएका अस्पतालका कर्मचारीहरुले पछिल्लो १० दिन यता आन्दोलनलाई थप कडाई गर्दैथिए । सोही क्रममा आज डीन कार्यालय तोडफोडका क्रममा प्रहरीसंग झडप भएको हो ।

कास्की प्रहरीका प्रवक्ता डीएसपी खड्कबहादुर खत्रीका अनुसार विहान अस्पताल तोडफोडमा उत्रिन थालेपछि नियन्त्रणका लागि पुगेको प्रहरीमाथि नै आक्रमण हुन थालेपछि सामान्य झडप भएको हो । सो क्रममा आन्दोलनकारी तर्फ ४ जना र प्रहरी तर्फ ७ जना घाइते भएका छन् । प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा समेत लिएको बताएको छ ।

‘सामान्य झडप भएको हो । हामीले केहीलाई नियन्त्रणमा पनि लिएका छौँ । अहिले समस्या समाधान गर्न बार्ताको पहल पनि भइरहेको छ,’ डिएसपी खत्रीले भने ।

आन्दोलनका कारण अस्पतलामा अहिले इमरजेन्सी बाहेकका सबै सेवा ठप्प छ । कर्मचारीहरुले अस्पताल प्रशासन कक्षा तिर समेत तालबन्दी गरिदिएका छन् ।

अस्पतालमा कार्यरत कर्मचारीलाई तलवको १० प्रतिशत घरभाडा बापतको सुविधा, ईन्चार्जहरुलाई छुट्टै भत्ता, संचित विदाको १ सय ८० दिन बिदा, अस्थायी र करारमा लामो समयदेखि कार्यरत कर्मचारीलाई स्थायी गराउनुपर्ने लगायत मागहरु उठाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *