स्वास्थ्य मन्त्रालय जानेहरुले सूर्तिजन्य पदार्थ फ्याँक्न थाले

काठमाडौँ, १८ चैत । सूर्तिजन्य पदार्थ लिएर स्वास्थ्य मन्त्रालयमा प्रवेश नपाउने भन्ने स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको घोषणाको सामान्य प्रभाव देखिन थालेको छ । खल्तीमा सूर्ति चुरोट बोकेर मन्त्रालय छिर्ने आम सर्वसाधारणले मन्त्रालयकै गेटमा ती पदार्थ फ्याँकेर भित्र छिर्न थालेका छन् ।

हिजोआज मन्त्रालयमा प्रवेश पाउन सर्वसाधारणले अनिवार्य रुपमा आफ्नो नाम दर्ता गर्नुपर्ने मात्रै होइन सुरक्षाकर्मीलाई सूर्तिजन्य पदार्थ नभएको एकीन समेत गराउँन पर्छ ।

”त्यति धेरै त छैन् । सूर्ति चुरोट फ्याक्नेको संख्या दैनिक जसो ६ – ७ हुने गर्छ,’ मुल गेटको कमाण्ड सम्हालेका नेपाल प्रहरीका हवल्दार चन्द्रप्रसाद हमाललले बताए ।

उनले आम सर्वसाधारणलाई खल्तीमा सूर्ति चुरोट भए नभएको भन्ने बारेमा मौखिक रुपमा सोध्ने गरेको बताए । ‘खान तलासी नै त गरेका छैनौँ । हामीले प्रवेशका लागि नाम दर्ता गर्न आएका सर्वसाधारणलाई नयाँ नियम बारेमा जानकारी गराउँछौँ । खल्तीमा लिनु भएको छ भने यहि फ्याँक्नुस भन्छौँ । कतिपयले फ्याँक्नु भएको छ,’ उनले भने ।

यता मन्त्रालयले सूतिजन्य पदार्थको कडाई गर्न मन्त्रालयमा थप सुरक्षाकर्मीको व्यवस्था गर्ने प्रक्रिया अघि बढाएको छ । ‘मन्त्री ज्यूको घोषणापछि केही सुरक्षाकर्मी थप्ने योजनामा छौँ । त्यसपछि सूर्तिजन्य पदार्थ बोकेकाहरुलाई थप कडाई पनि गर्नेछौँ,’ मन्त्रालयका एक अधिकारीले भने, त्यसका लागि सचिव ज्यूसंग समेत सल्लाह भइरहेको छ ।

उनले सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न थप नियम बनाउन लागेको समेत जानकारी दिए । स्वास्थ्य राज्यमन्त्री अर्यालले गत १२ चैतमा भएको पत्रकार अन्तरक्रिया कार्यक्रममा सूर्ति चुरोट बोकेका व्यक्ति मन्त्रालय प्रवेश गर्न नपाउने बताएकी थिइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *