कडा टीबीको जोखिममा स्वास्थ्यकर्मी नै

७ वर्षयता उपचारमा संलग्न २१ जना स्वास्थ्य कर्मीकै ज्यान गयो

- नेपाली हेल्थ

काठमाडौँ, १६ चैत । मुलुकमा बहुऔषधि प्रतिरोधी क्षयरोग (एमडीआर टीबी) ले हालसम्म उपचारमा संलग्न २१ स्वास्थ्यकर्मीकै मृत्यु भएको छ ।

सात वर्षयता बिरामीको उपचार र प्रत्यक्ष सम्पर्कमा रहेका स्वास्थ्यकर्मीको एमडीआर टीबी सरेर मृत्यु भएको हो । ‘हालसम्म एमडीआर टीबीले २१ स्वास्थ्यकर्मीको मृत्यु भएको छ,’ राष्ट्रिय क्षयरोग केन्द्रका कन्सल्टेन्ट चेस्ट फिजिसियन डा. नवीनप्रकाश शाहले भने, ‘बिरामीको सम्पर्कमा रहँदा उनीहरूलाई रोग सरेको हो ।’

यो रोगको जोखिममा स्वास्थ्यकर्मी मात्र होइन, सार्वजनिक सवारीसाधन प्रयोग गर्ने सर्वसाधारणसमेत रहेको चिकित्सकले औंल्याएका छन् । रोगप्रतिरोधक क्षमता उच्च रहेकामा सामान्य क्षयरोग सर्दैन तर एमडीआर/एक्सडीआर टीबी सर्न सक्छ । सामान्य क्षयरोगको उपयुक्त उपचार नगरे वा बीचमै औषधि उपचार छाडे एमडीआर टीबी हुन सक्छ।

क्षयरोगमा प्रयोग हुने मुख्य ४ औषधि रिफाम्पिसिन, आइसोनियाजिड, पाइराजिनामाइड र इथामवुटोल हुन् । यीमध्ये सबैभन्दा शक्तिशाली रिफाम्पिसिन र आइसोनियाजिड मानिन्छ । यी दुई औषधिले पनि काम गर्न छाडे एमडीआर टीबी भएको मानिन्छ ।  एमडीआर / एक्सडीआर टीबी भएकाबाट सद्दे व्यक्तिमा रोग सर्दासमेत एमडीआर/एक्सडीआर टीबी नै हुन्छ ।

एमडीआर / एक्सडीआर टीबीको उपचारका लागि मुलुकभर १८ केन्द्र र ८१ उपकेन्द्र छन् । राजधानीमा सानोठिमी र कालीमाटीमा दुई केन्द्र छन् । उपचारका लागि केन्द्रमा बिरामी आउजाउ गर्दा सार्वजनिक यातायात प्रयोग गर्ने भए पनि त्यसरी कतिलाई एमडीआर टीबी सर्‍यो वा मृत्यु भयो भन्ने कुनै अध्ययन भएको छैन ।

‘राजधानीमा पनि ठिमी र कालीमाटीमा भएको उपचार केन्द्र पुग्न सार्वजनिक सवारीसाधनमा एमडीआर/एक्सडीआर टीबीका बिरामी ओहोरदोहोर गर्छन्,’ राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीका वरिष्ठ छाती तथा क्षयरोग विशेषज्ञ डा. मोहनकुमार प्रसार्इं भन्छन्, ‘बिरामीहरू सार्वजनिक सवारीसाधन चढेर उपचार केन्द्रमा आउजाउ गर्दा अन्यलाई सर्ने उच्च जोखिम छ ।’

चिकित्सकका अनुसार सुरक्षाका उपाय नअपनाउँदा र कमसल मास्क प्रयोगका कारण स्वास्थ्यकर्मीमा यो रोग सर्ने जोखिम बढी हुन्छ । डा. प्रसार्इं भन्छन्, ‘एमडीआर टीबीको उपचार गर्ने क्रममा यो रोग लागेका ८ स्वास्थ्यकर्मीको मृत्यु भएको मैले नै देखेको छु ।’ एमडीआर/एक्सडीआर टीबीका बिरामीलाई औषधि खुवाउन सुरु गरे पनि खकारमा कीटाणु देखिएसम्म उनीहरूबाट अन्य व्यक्तिमा सर्न सक्छ ।

केहीमा ३–४ महिना औषधि खाए पनि खकार पोजेटिभ नै देखिन्छ भने कसैकसैमा अन्तिमसम्मै। ‘सार्वजनिक सवारी साधनमा एमडीआररएक्सडीआर टीबीका बिरामीले खोक्दा स्वस्थ व्यक्तिमा रोग सर्ने उच्च जोखिम हुन्छ,’ उनले भने । राष्ट्रिय क्षयरोग केन्द्रमा विभिन्न खोकीलगायतका लक्षणसहित आएका बिरामीको खकारमा क्षयरोगको कीटाणु देखिएपछि सामान्य क्षयरोगकै रूपमा उपचार गरिन्छ । यस्तो उपचारअन्तर्गत एक–दुई महिनामा समेत रोग सुधारात्मक नदेखिए त्यस्ता बिरामीलाई एमडीआर हो कि भनेर परीक्षण गरिन्छ ।

कालीमाटीको जेनटप क्लिनिककी डा. भावना श्रेष्ठका अनुसार बाहिरी जिल्लाबाट एमडीआर टीबीको उपचारका लागि आएका दुई जना नर्सिङ स्टाफमा एक जना केही निको भएपछि औषधि नियमित खाने गरी घर फर्किएको र अर्काको भने मृत्यु भएको बताइन् । यस्तै, दुई जना डाक्टर एमडीआर टीबीको उपचारपछि निको भएर फर्किएको पनि उनले बताइन् । मुलुकमा एमडीआर क्षयरोगको उपचार गर्दा सफलताको दर करिब ७० प्रतिशत र एक्सडीआर टीबीको उपचारमा करिब ३० प्रतिशत मात्र सफलता देखिएको डा। शाह बताउँछन् ।

केन्द्रका डा। प्रमोद भट्टराईका अनुसार गत वर्ष एमडीआरका ३ सय ४३, प्रि–एक्सडीआरका ८६ र एक्सडीआरका १९ जना नयाँ बिरामी दर्ता भएका छन् । मुलुकभर हाल औषधि खाइरहेको एमडीआररएक्सडीआर टीबीका बिरामी करिब ६ सय ६० जना छन् । मुलुकभरका मध्ये करिब एक चौथाइ एमडीआर/एक्सडीआर टीबीका बिरामी राजधानीमै रहेको आकलन छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वव्यापी रूपमा रिफाम्पिसिन प्रतिरोधको बर्सेनि करिब ६ लाख नयाँ केस आउँछन्, जसमध्ये ४ लाख ९० हजारलाई एमडीआर टीबी हुन्छ ।

औषधि प्रतिरोधी क्षयरोगीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पहिले जोखिम भत्ता दिने गरिए पनि दुई वर्षदेखि रोकिएको छ । डा. शाहका अनुसार पहिले मासिक १ हजार रुपैयाँ जोखिम भत्ता दिने गरिएको थियो । ग्लोबल फन्डको बजेटअन्तर्गत सरकारले जोखिम भत्ता दिइन्थ्यो ।

कसरी जोगिने ?
एमडीआर/एक्सडीआर क्षयरोग भएका बिरामीले सकेसम्म सार्वजनिक ठाउँमा आउजाउ गर्नु हुँदैन। यस्ता बिरामीसँग आम व्यक्ति सम्पर्कमा नआउनु नै राम्रो हुन्छ । खकारमा कीटाणु देखिँदासम्म बिरामीले अन्य स्वस्थ व्यक्तिसँग अनावश्यक, असुरक्षित सम्पर्कमा आउनु हुँदैन । बिरामीको स्याहार गर्ने व्यक्तिले चिकित्सकीय सल्लाहअनुसार कडा सुरक्षाका उपाय अपनाउनुपर्छ । बिरामीले स्तरीय मास्क लगाउनुका साथै खोक्दा, हाच्छिउँ गर्दा, थुक्दा सावधानी अपनाउनुपर्छ ।

  • आजको कान्तिपुरमा अतुल मिश्रको समाचार छ

थप समाचार

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *