काठमाडौँको प्रदुशित बाताबरण : प्रत्येक श्वासमा जोखिम

  • मास्क नाम मात्रैका : नाक, कान, घाँटीका बिरामी २० प्रतिशत बढे
  • - नेपाली हेल्थ

    काठमाडौँ १५ चैत । सामान्यतया सहर भन्नासाथ ठूलो जनसंख्या, फराकिला सडक, सफा र ठूला फुटपाथ, खुला पार्क र चौरको छवि दिमागमा आउँछ ।

    तर, अहिले काठमाडौं आइपुग्नेले यो सहरमा अर्को एउटा विशेषता पाउनेछ, सहरवासीको मुख ढाक्ने मास्क । सडक विस्तार, ढल सुधार र मेलम्ची खानेपानी आयोजनाको पाइप जडानका लागि पछिल्लो समय गरिएको उत्खननले काठमाडौं खाल्डोलाई स–साना ‘खाल्टा’ को सहरमा परिणत गरिदिएको छ । र, यहाँको वायुमण्डललाई ‘धुलीमण्डल’ मा । त्यसमाथि पुराना गाडीले फ्याँक्ने विषाक्त धूवाँ त छँदै छ ।

    पैदल यात्रु हुन् वा सार्वजनिक सवारी र मोटरसाइकलमा हिँड्ने, घरबाट निस्कनुअघि मास्क छ कि छैन भनेर गोजी छाम्नु सहरवासीको दैनिकीभित्रै पर्न थालेको छ । पैदलयात्रा गर्दा लाग्छ, सहरमा मानिसको अनुहार बिस्तारै उस्तै हुँदै छ । जसरी पसलका सामान प्लास्टिक र त्रिपालले छोपेर राखिन्छ, त्यसरी नै मानिसको अनुहार मास्कले छोपेको देखिन्छन् । मास्क लगाएर पैदल यात्रा गरिरहेका यात्री राजधानीमा मास्क खोलेर लामो सास फेर्ने दिन कहिले आउला रु मुहार देखाएर चक्रपथ परिक्रमा गर्न कहिले पाइएला भन्ने प्रश्न गर्छन् । तेल लगाएर हिँडेका मानिसका कपालमा धुलो भरिएर फुस्रो मात्र हुँदैन, सेतो लुगा कालो हुन्छ ।

    मोटरसाइकलमा काठमाडौं एक चक्कर लगाउने हो भने त झन् आफ्नो अनुहार आफैंलाई ठम्याउन हम्मे पर्छ । धूवाँ र धुलोले मुहार सौन्दर्यविहीन बन्छ ।

    भक्तपुर, नयाँठिमीका धर्म गुरागाईंलाई मास्क लगाएर यात्रा गर्दा निसास्सिएझैं लाग्छ । सास फेर्न गाह्रो हुन्छ । गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा (मोटरसाइकलबाट आउजाउ गर्ने उनी उनी हरेक दिन कार्यालय पुगेपछि लुगा फेर्छन् । ‘कार्यालयमै लगाउने लुगामा घरबाट निस्कने हो भने त मेरो लुगाको रङ नै बदलिन्छ,’ मोटरसाइकलमा दैनिक २२ किलोमिटर छिचोल्ने गुरागाईंले भने, ‘त्यसैले विन्डस्विटर र रेनकोटको सुरुवाल लगाएर धुलो रोक्छु ।’

    गुरागाईं ७ वर्षअघि विराटनगरबाट काठमाडौं आउँदा यतिबिघ्न प्रदूषण नभएको बताउँछन् । ठिमीबाट गुर्जुधारा पुग्दा सधैँ आँखामा बालुवाका कण छिरेर चिलाउने उनी बताउँछन् । ‘कार्यालय पुगेर मुख धोएन भने आँखा हेर्नै सकिँदैन,’ उनले सुनाए, ‘सबभन्दा बढी धुलो कलंकीबाट गुर्जुधारा पुग्दा हुन्छ ।’

    धापासीकी ६४ वर्षीया सुशीला भट्टलाई धुलोले अरूलाई भन्दा अझ बढी समस्या थपेको छ । ९ वर्षदेखि दमले पीडित उनी बिनामास्क घरबाट बाहिर निस्कनै सक्दिनन् । ‘बाहिर निस्कियो कि खोकी लाग्न थाल्छ,’ उनले सुनाइन्, ‘४ वर्षदेखि मास्क लगाउँछु तर यसले पनि धुलो छेक्न छाडेको छ ।’

    उनी काठमाडौं आएको २८ वर्ष भयो । ‘पहिला त यस्तो थिएन,’ वीर अस्पतालमा भेटिएकी उनले गुनासो गरिन्, ‘मास्क नलगाई त कतै हिँड्नै सक्दिनँ, काठमाडौंमा मान्छेभन्दा धेरै गाडी, मोटरसाइकल छन्, जताततै धुलो र धूवाँ मात्र छ, म दमको रोगीलाई धुलोधूवाँले भेटेपछि के चाहियो ? पीडा सहेर खोक्नुपरेको छ ।’ पहिले काठमाडौंमा खुला ठाउँ प्रशस्त थिए । घर, गाडी कमै थिए । धुलोधूवाँ कम हुन्थ्यो । उनले भनिन्, ‘काठमाडौंले यसरी रूप फेर्ला भन्ने सोचेकै थिइनँ ।’

    बुटवलबाट मंगलबार काठमाडौं आएका राहुल पाण्डे मास्क लगाएर रत्नपार्कमा गाडी कुरिरहेका थिए । ‘काठमाडौंमा धुलोमय छ भन्ने मलाई थाहा थियो,’ उनले भने, ‘त्यसैले बुटवलबाटै मास्क किनेर आएँ ।’ धुलो र धूवाँकै कारण काठमाडौं आउन मन नलाग्ने पनि उनले सुनाए ।

    जब काठमाडौंमा धुलोको ‘जगजगी’ सुरु भयो, एकातिर अस्पतालहरूमा छाला, नाक, कान र घाँटीका बिरामीको चाप बढदै गयो भने अर्कातिर मास्कको व्यापार पनि बढ्न थाल्यो । अहिले फुटपाथदेखि औषधि पसलसम्म मास्कको राम्रो व्यापार हुने गरेको छ । औषधि पसल मात्र होइन, फुटपाथका खुद्रा पसल र फलफूल पसलहरूमा समेत अहिले मास्क बिक्री गरिन्छ ।

    औषधि पसलेले ‘मेडिकेटेड’ मास्क बेच्ने गरे पनि कपडाका मास्क पनि प्रशस्त मात्रामा बिक्ने गरेका छन् । भूकम्पपछि मास्कको खपत बढेको रत्नपार्कस्थित सत्यम फर्माकी रीता महर्जन बताउँछिन् । ‘मास्कको माग धेरै छ, दिनमा थोरै हुँदा एक बाकस बिक्री हुन्छ,’ उनले भनिन्, ‘पैदल यात्री र अस्पतालमा आउने बिरामीका आफन्तले सबभन्दा धेरै किन्छन् ।’ पसल सञ्चालकहरूसमेत मास्क लगाएर सामान बिक्री गरिरहेका हुन्छन् । मास्क लगाए पनि धुलोभित्र छिर्ने गुनासो उनीहरूको छ । मनको सन्तोषका लागि मात्र मास्क लगाउने गरेको फुटपाथमा सामान बिक्री गर्नेहरू बताउँछन् ।

    रत्नपार्कमै औषधि बिक्री गर्दै आएका अर्का व्यवसायी विक्रम महर्जन पनि भूकम्पपछि काठमाडौं थप धुलोमय बनेको बताउँछन् । ‘बिहान १० देखि साँझ ६ बजेसम्म पसलमा बस्छु,’ उनले भने, ‘मास्क नलगाई बस्न सक्दिनँ, मास्क लगाए पनि धुलोले घाँटी दुख्ने समस्या थपिएको छ ।’ उनी पसलमा बस्न थालेको ४ वर्ष भयो । ‘बेलुका घर पुग्दा सिँगान र कालो खकार आउँछ,’ उनले भने, ‘घाँटी नदुखेको दिनै हुँदैन ।’ पछिल्लो समय धुलोकै कारण नाक, कान, घाँटी, फोक्सो र छालाका बिरामी बढेको चिकित्सक बताउँछन् । बजारमा पाइने अधिकांश मास्कले धुलो र धूवाँका हानिकारक कण नछेक्ने उनीहरूको दाबी छ । वीर अस्पतालका नाक, कान, घाँटी विभाग प्रमुख प्राध्यापक डा. ढुण्डीराज पौडेल बजारमा दुई किसिमका मास्क पाइनेमा मेडिकेटेड मास्कले मात्र आंशिक रूपमा फाइदा गर्ने बताउँछन् । ‘औषधियुक्त मेडिकेटेड मास्कले आंशिक रूपमा सुरक्षा दिन्छ,’ उनले भने, ‘मास्कले धुलो धूवाँका ठूला कणबाट जोगाए पनि साना कण सिधै फोक्सोमा पुग्छन् ।’ साना कणले नै बढी हानि गर्ने जानकारी दिँदै उनले भने, ‘मास्क लगाएको छु, किटाणुबाट जोगिएको छु भनेर ढुक्क हुन सकिन्न ।’

    डा. पौडेलका अनुसार धुलोधूवाँले बाल, वृद्ध, गर्भवती, पुरानो दम र टीबीका रोगी, रोगविरुद्ध लड्ने क्षमता कमजोर रहेका दीर्घरोगी र चुरोट बढी पिउनेलाई बढी सताउँछ । यस्ता व्यक्तिलाई पटक–पटक रुघाखोकी लागिरहने, पिनास हुने, घाँटी र कानको संक्रमण हुने, दम, निमोनियाँ हुने सम्भावना बढाइदिन्छ धुलोधूवाँले । ‘काठमाडौंमा धूवाँभन्दा धुलो बढी छ, यसैले बढी समस्या निम्तने गरेको छ,’ पौडेलले भने, ‘धुलोबाट के कस्तो असर गरेको छ भन्ने कुराको अध्ययन गरिएको छैन ।’ उनका अनुसार वीर अस्पतालमा धुलोकै कारण नाक, कान, घाँटीका बिरामी २० प्रतिशतले बढेका छन् । ‘रुघा लाग्नु सामान्य हो, भाइरल इन्फेक्सन भइरहन्छ,’ उनले भने, ‘तर प्रदूषणले रुघा लागेकामा समयमै निको नहुने समस्या बढी छ ।’

    धुलोधूवाँका कारण निम्तने समस्याबाट बच्न कस्तो माक्स लगाउने त रु गुणस्तरीय एउटा मास्क एक दिन मात्र प्रयोग गर्नुपर्ने पौडेल सुझाउँछन् । अघिल्लो दिन प्रयोग गरेको कपडाको मास्क भोलिपल्ट पनि दोहोर्‍याउन राम्रोसँग निर्मलीकरण गर्नुपर्छ,’ उनले भने, ‘नत्र त्यहीँ किटाणु थिग्रिएर बस्छ, उल्टै रोग बढाउँछ । मास्क लगाउँदा हाछ्युँ आएको छ भने फेरि प्रयोग गर्दा त्यही किटाणु फैलिन्छ ।’
    आजको कान्तिपुरमा बिमल खतिवडाको समाचार

    थप समाचार

    Loading...

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *