सीअहेव पोखरेलले जिते एक लाख राशीको ‘निक साइमन्स अवार्ड’

काठमाडौँ, ६ चैत । ग्रामीण क्षेत्रमा रही स्वास्थ्य सेवा सुधारमा अतुलनीय योगदान दिएबापत् सन् २०१७ को निक साइमन्स अवार्ड गुल्मी पल्लिकोटा हेल्थ पोष्टमा कार्यरत सिनियर अहेव श्यामसुन्दर पोखरेलले प्राप्त गरेका छन् ।

जिम साइमन्स र मेरिलिन साइमन्सले आफ्ना दिवगंत छोरा निक साइमन्सको सम्झनामा स्थापित सो पुरस्कारको राशि प्रमाणपत्रसहित नगद रु एक लाख रहेको छ । सो पुरस्कारका लागि यस वर्ष १८ जिल्लाका ३३ स्वास्थ्यकर्मी सिफारिसमा परेका थिए ।
पुरस्कृत अहेव पोखरेलसहित म्याग्दी ताकम हेल्थपोष्टमा कार्यरत सिनियर अहेव लोकनाथ पौडेल र बाजुरा टान्टे हेल्थपोष्टमा कार्यरत सिनियर अहेव दिवकबहादुर शाह उत्कृष्ट तीनमा चयन भएका थिए ।

राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र र निक साइमन्स इन्स्टिच्यूटद्वारा संयुक्त रुपमा आजदेखि यहाँ शुरु भएको नवौँ ग्रामीण स्वास्थ्यकर्मी सम्मेलनमा स्वास्थ्यसचिव डा. पुष्पा चौधरी, जिम साइमन्स र मेरिलिन साइमन्स संयुक्त रुपमा सो पुरस्कार प्रदान गरिन ।

पुरस्कार चयनका लागि केन्द्रका निर्देशक श्रीकृष्ण भट्ट, अधिकृत सविनसिह चौधरी तथा इन्स्टिच्यूट कार्यकारी निर्देशक डा अनिलबहादुर श्रेष्ठ तथा प्रशासकीय अधिकृत नवराज श्रेष्ठको समिति गठन भएको थियो ।

ग्रामीण क्षेत्रमा तल्लीन स्वास्थ्यकर्मीलाई सम्मान तथा उनीहरुले भोगिरहेका समस्यालाई समाधान गर्ने ध्येयले आयोजित सो सम्मेलन सो तीनदिने सम्मेलनमा ५४ जिल्ला ९९ स्वास्थ्यकर्मी (चिकित्सक, प्याराकेडिक्स, नर्स तथा विएमइटी, सातवटै प्रदेशका निर्देशक तथा स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारीको सहभागीता रहेको छ ।

सम्मेलनमा निरन्तर मेडिकल शिक्षा, स्वास्थ्य मन्त्रालयका पछिल्ला नीति तथा नियमका विषयमा पनि छलफल हुने इन्स्टिच्यूटका निर्देशक डा श्रेष्ठले जानकारी दिए । साथै सम्मेलनका क्रममा ग्रामीण क्षेत्रमा रही आफूले सेवा प्रवाह गर्दा आइपरेका चुनौतीलाई स्वास्थ्यकर्मीले पाँच कथाका रुपमा प्रस्तुत गरिने छ ।

सो अवसरमा सचिव चौधरीले दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी, औषधि, उपकरण तथा भौतिक सुधारका लागि मन्त्रालयले उच्च प्राथमिकता दिएको बताइन । पुरस्कारका संस्थापक जिम साइमन्स र मेरिलिन साइमन्सले नेपालका ग्रामीण क्षेत्रको जनताका स्वास्थ्यमा गुणस्तरीय सुधार ल्याउन निरन्तर सहयोग जारी रहने जानकारी दिइन ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक श्रीकृष्ण भट्टले ग्रामीण तहसम्म आधारभूत स्वास्थ्य सेवा पु¥याउन इन्स्टिच्यूटले सहयोग गरिराखेको बताए ।

पुरस्कृत सिअहेव पोखरेलले स्वास्थ्य सेवा समुहगत कार्य भएकाले भएका स्रोत साधनलाई अधिकतम् उपयोग गर्न जरुरी रहेकामा जोड दिए । इन्स्टिच्यूटले ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मीलाई तालिम, स्वास्थ्य संस्थाको निर्माण तथा उपकरणमा आर्थिक एवं प्राविधिक सहयोग गरिराखेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *