‘चिकित्सा क्षेत्रमा देखिएको विकृति हटाउन चिकित्सक नै क्रियाशिल हुनुपर्छ’

काठमाडौँ, ३ चैत ।  श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले चिकित्सा पेशामा देखिएका विकृति हटाउँन स्वयं चिकित्सक क्रियाशिल हुनुपर्ने बताएका छन् । पछिल्लो समयमा कतिपय चिकित्सकका बारेमा विभिन्न खालका टिका टिप्पणीहरु उठने गरेको भन्दै त्यसलाई चिर्न स्वयं चिकित्सक लागि पर्नुपर्ने बताएका हुन् ।

राष्ट्रिय चिकित्सक संघ नेपालको दोस्रो बार्षिकोत्सवको अवसरमा आयोजित चियापान तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्न पुगेका मन्त्री विष्टले मौलिक हकको रुपमा रहेको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन लाग्नुपर्ने बताए ।

चिकित्सक पेशामा थोरै सतर्कता अपनाउँदा जीवन बच्ने र थोरै गल्तीले जीवन समाप्त हुने अवस्था रहेको भन्दै उनले सेवामा रहँदा संवेदशील रहन आग्रह गरे ।

पूर्व स्वास्थ्यराज्य मन्त्री बंशीधर मिश्रले बामपन्थी नेतृत्वको सरकारसंग जनताले धेरै अपेक्षा गरेको भन्दै स्वास्थ्य क्षेत्रलाई सुधारेर अघि बढनुपर्ने बताए । उनले चिकित्सा शिक्षा विधियेकलाई यथास्थितिमा पास गर्न नहुने भन्दै यसमा ध्यान दिन सरोकारवालाई सुझाव दिए ।

एमाले स्वास्थ्य विभाग प्रमुख सुजिता शाक्यले स्थापना भएको छोटो समयमा एनडीएको भूमिका रचनात्मक देखिएको भन्दै यसलाई अझ विस्तार गर्न आग्रह गरिन ।

कार्यक्रममा एनडीएका अध्यक्ष डा सन्तोस पौडेलले जनतालाई सर्वशुलभ रुपमा स्वास्थ्य सेवा उपलव्ध गराउने राज्यको दायित्व भएको र त्यसको महत्वपूर्ण हिस्सा चिकित्सक रहेको भन्दै त्यसलाई ह्युमन बेस अप्रोचमा थप विस्तार गर्न आवश्यक रहेको बताए । उनले स्थापनाको छोटो समयमा नै एनडीएले स्वास्थ्य सेवा सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको दावी गरे ।

कार्यक्रममा डा कृष्ण अधिकारी, पेशागत महासंघका विश्वनाथ पोखरेल, ३ नम्बर प्रदेश सांसद रचना खडका लगायतले बोलेका थिए । एनडीएका महासचिव डा. रमेश ढकालले कार्यक्रमको सञ्चालन गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *