अन्धोपनको मुख्य कारक जलबिन्दु रोग के हो ? यसबाट कसरी जोगिने ?

डा. सबिन साहु

सन् २०१२ मा भएको अध्ययन अनुसार नेपालमा अन्धोपनको प्रमुख कारणहरु मध्ये एक जलबिन्दु रहेको छ । अध्ययन् प्रतिवेदनले सन् १९८१ मा ३.२ प्रतिशत रहेको जलबिन्दुको प्रकोप सन् २०१२ सम्ममा ५.९ प्रतिशत पुगेको देखाएको थियो ।

जलबिन्दुले गर्दा हुने अन्धोपन अपरिवर्तनीय हुने र आधा भन्दा बढी जलबिन्दुका बिरामीमा कुनै सुरुवाती लक्षण नहुने कारण पनि यस रोगको बारेमा जान्नु र सचेत रहनु जरुरी छ ।

के हो त जलबिन्दु ?

जलबिन्दु यस्तो बिमारी हो जसमा आँखाको पानीको दबाब बढ्नाको कारण आँखाको नशा (ओप्टिक नर्भ) क्षतिग्रस्त हुन्छ र बिस्तारै आँखाको दृष्टि कम हुँदै जान्छ ।

सामान्यतया आँखाको अगाडीको भागमा संचारित हुने पानी (अकुएस ह्युमोर) ज्यादा बन्नु वा कम निकास हुनुको कारण आँखाको दबाब बढ्छ जसले गर्दा आँखाको नशा (ओप्टिक नर्भ)मा क्षति पुर्याउँदछ । जलबिन्दुले गर्दा दृष्टि एकचोटी कम भएपछि फेरी फर्काउन सकिन्न त्यसैले समयमै यसको पहिचान गरी उचित उपचार गर्नुनै यसबाट हुने अन्धोपनबाट बच्ने प्रमुख उपाय हो ।

जलबिन्दुको खतरा कसलाई रहन्छ ?
जलबिन्दुको खतरा जन्मजात शिशुदेखि लिएर वृद्ध उमेरसम्म सबैलाई हुने गर्छ । बिशेषगरी निम्न मानिसहरुमा जलबिन्दु हुन सक्ने सम्भावना बढी हुन्छ । यस्तो खतरा रहेको वर्गका मानिसहरुले समयमै आँखाको जाँच गराई जलबिन्दु भए नभएको थाहा गर्नु जरुरी हुन्छ ।

१. ४० बर्ष भन्दा बढी उमेर भएकाहरुमा
२. जलबिन्दुको पारिवारिक इतिहास भएमा
३. आँखामा पुरानो चोट लागेको इतिहास भएमा
४. रक्त प्रवाह सम्बन्धित शारीरिक बिमारी जस्तै : मधुमेह, उच्च रक्तचाप, माइग्रैन आदि भएमा
५. लामो समय सम्म आँखामा स्टेरोइड ड्रोप्सहरुको प्रयोग गरेमा

जलबिन्दुको संकेत वा लक्षणहरु के के हुन् ?
जलबिन्दुका संकेत यिनका प्रकार र स्टेजमा भर पर्दछ ।

सामान्यतया सुरुवाती अवस्थामा यसको कुनै स्पस्ट संकेत वा लक्षणहरु हुँदैनन् । बिमारी बढ्दै जाँदा बिस्तारै बिस्तारै किनारी दृष्टिमा कमी हुँदै जान्छ । अन्तिम स्टेजमा खाली बीच भागबाट सिधा अगाडीमात्रै देखिने हुनसक्छ ।

यसरी जलबिन्दुले बिना कुनै संकेत वा लक्षण बिस्तारै बिस्तारै स्थायी रुपमा अन्धोपन गराउनसक्छ । त्यसैले यसलाई “दृष्टि चोर” पनि भनिन्छ । आँखाको दबाब धेरै बढेको बेला आँखा दुख्ने, प्रकाशको वरपर इन्द्रधनुष जस्तो रंगहरु देखिने, टाउको दुख्ने, आँखा रातो हुने, वाकवाकी लाग्ने जस्ता लक्षणहरु देखिन सक्छन् । कसै कसैमा नजिक दृष्टिको लागि प्रयोग हुने चस्माको पावर बारबार परिवर्तन हुने लक्षण देखिन सक्छ ।

जलबिन्दुका प्रकारहरु :
१. जन्मजात जलबिन्दु – नवजात बच्चामा जन्म देखिनै हुने
२. प्राइमरी जलबिन्दु – जसलाई अझै दुई प्रकारमा विभाजित गर्न सकिन्छ ।
क. खुला कोण जलबिन्दु
ख. बन्द कोण जलबिन्दु
३. सेकेण्डरी जलबिन्दु – चोटपटक, स्टेरोइड ड्रोप्स को प्रयोग आदिले गर्दा हुने जलबिन्दु

सामान्यतया आँखाको नोर्मल दबाब १० देखि २१ एमएमएचजी सम्म हुन्छ । जति धेरै यो दबाब बेसी हुन्छ उतिनै आँखामा नोक्सान हुने सम्भावना धेरै हुन्छ ।

कहिलेकाहिँ आँखाको दबाब २१ एमएमएचजी भन्दा कम भएर पनि आँखाको ओप्टिक नर्भ स्नायु क्षतिग्रस्त हुन सक्छ, यस्तो प्रकारको जलबिन्दुलाई “सामान्य दबाब जलबिन्दु पनि भनिन्छ ।

कसै कसैमा आँखाको दबाब लगातार २१ एमएमएचजी भन्दा बढी रहे तापनि ओप्टिक नर्भ स्नायुमा क्षति नपुगेको पनि हुन सक्छ, यसलाई “ओकुलर हैपरतेंसन भनिन्छ । तर यस्तो प्रकारमा पनि बिस्तारै आँखाको नशा ओप्टिक नर्भ क्षतिग्रस्त हुँदै जलबिन्दुको अवस्थासम्म पुग्ने सम्भावना धेरै हुनेकारण समयमै यसको पहिचान गरी उपयुक्त उपचार सुरु गर्नु जरुरी हुन्छ ।

जलबिन्दु भइहाले के गर्ने त? यस्ता छन् जलबिन्दुका उपचार पद्धतिहरु
जलबिन्दुले गर्दा क्षति भैसकेको दृष्टि फर्काउन सकिदैन तर समयमै सुरु गरिने उपचार र नियमित उपचारले जलबिन्दुबाट हुन सक्ने थप नोक्सानबाट बचाउन सकिन्छ ।

आँखाको दबाब सकेसम्म कम गरी कन्ट्रोलमा राख्ने र आँखाको नशा ओप्टिक नर्भलाई अरु क्षतिग्रस्त हुन नदिनु नै जलबिन्दु उपचारको प्रमुख उदेश्य हो । नियमित रुपले आँखाको दबाबको जाँच गराउनु र डाक्टरको सल्लाह बमोजिम नियमित उपचार अनि आँखा जाँच गराउनु पर्दछ ।
जलबिन्दुका प्रमुख उपचार पद्धतिहरु निम्न प्रकार रहेकाछन् :
१. औषधि उपचार – आँखाको दबाब कम गर्ने ड्रोप्सहरु डाक्टरको सल्लाह अनुसार नियमित रुपले प्रयोग गर्नु जरुरी हुन्छ ।  Timolol, Brimonidine, Prostaglandin ड्रोप्सहरु, Acetazolamide को खाने गोली आदि धेरै ब्यबहार हुने औषधिहरु हुन् ।

२. लेसर उपचार – बन्द कोण जलबिन्दुमा लेसर उपचार peripheral iridotomy गरिन्छ । लेसरबाट गरिने trabeculoplasty एउटा अर्को उपचार पद्धति हो । अन्तिम स्टेजमा, दृष्टिको सम्भावना नभएको अनि धेरै आँखाको दबाब बढेर आँखा दुखेको छ भने लेसरबाट laser photocoagulation गरिन्छ ।
३.  शल्यक्रिया – औषधि उपचार अनि लेसरबाट उपचारले पनि काम नगरेको अबस्थामा शल्यक्रिया Trabeculectomy / Drainage devices गर्नु जरुरि हुन्छ ।

निस्कर्षमा, जलबिन्दुले गर्दा हुने अन्धोपनको प्रकोप बढ्दो छ  ।  जलबिन्दुले गर्दा आँखाको दृष्टि एकचोटी कम भएपछि फेरी फर्काउन सकिंदैन, तर समयमै रोगको निदान गरेर उचित उपचार सुरु गरियो भने अझै धेरै नोक्सान हुनबाट बचाउन सकिन्छ । त्यसैले जलबिन्दुको बारेमा सचेत रहौं र यसको जानकारी सबैलाई दिन जरुरी छ ।

# डा. साहु सगरमाथा चौधरी आँखा अस्पताल लहानमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “अन्धोपनको मुख्य कारक जलबिन्दु रोग के हो ? यसबाट कसरी जोगिने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *