देउवा सरकारले गरेको रहेछ नौँ वटा अस्पताल स्तरोन्नती गर्ने निर्णय

काठमाडौँ, १ चैत । शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले जाँदा जाँदै नौँ वटा अस्पताललाई स्तरोन्नती गरेको खुलासा भएको छ ।
तत्कालिन स्वास्थ्य मन्त्री दीपक बोहराको प्रस्तावमा २६ माघमा बसेको मन्त्रिपरिषदको बैठकले प्राथमिक स्वास्थ्य केन्द्र, शहरी स्वास्थ्य केन्द्र र जिल्ला अस्पताललाई स्तरोन्नतीको लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो । मुख्य सचिव लोकदर्शन रेग्मीको हस्ताक्षर भएको त्यतिवेलाका निर्णयहरु एक पछि अर्को गर्दै यतिवेला स्वास्थ्य मन्त्रालयमा आइरहेको छ ।

मन्त्रालयका अनुसार २६ माघको बैठकले डडेल्धुरा जिल्लामा पर्ने १५ शैयाको जोगबुढा अस्पताललाई ५० शैयामा स्तरोन्नती गर्ने निर्णय गरेको छ । यस्तै डडेल्धुराकै नवदुर्गा गाँउपालिका डाँडाबनमा ३० शैयाको अस्पताल स्थापना गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । डडेल्धुरा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावी क्षेत्र हो ।

सोही दिनको बैठकले रुकुम (पश्चिम) र रोल्पा जिल्ला अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्न सैद्धान्तिक स्विकृति दिने निर्णय गरेको छ ।
यस्तै नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयामा स्तरोन्नती गरी नवलपुर जिल्ला अस्पताल कामय गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।

उता स्यांङ्जाको गह्रौ घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङलाई ५० शैयाको अस्पतालमा सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।
यता लमजुङस्थित मध्यनेपाल नगरपालिका वडा नं १मा रहेको शहरी स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालमा स्तरोन्नती गर्ने सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।

यसअघि १० माघमा १५ शैयाको जिल्ला अस्पताल धादिङलाई ५० शैयामा स्तरोन्नती गर्ने निर्णय गरेको थियो । यस्तै १० माघकै बैठकले कालिकोट स्थित साविकको थिर्पु गाविस वडा नं ९ हाल पताला गाउपालिकामा १५ शैयाको अस्पताल स्थापना गरी सञ्चालन गर्न शैद्धान्तिक सहमति प्रदान गरेको छ ।

सोही बैठकले खोटाङको दिप्रुङ्ग गाउँपालिका ३ सापातेलमा दार्मे भन्ज्याङ स्थापना गरी सञ्चालन गर्न सैद्धान्तिक सहमति दिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *