चितवनमा डेङ्गुसार्ने लामखट्टेका लार्भा र प्यूपा ‘खोज र नष्ट गर’ अभियान

चितवन, २९ फागुन । चितवनका विभिन्न स्थानीय तहसँगको समन्वयमा जिल्ला जनस्वास्थ्य कार्यालयले डेङ्गु रोग सार्ने लामखुट्टेका लार्भा र प्यूपा खोजेर नष्ट गर्ने अभियान शुरु गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीकाअनुसार भरतपुर महानगर, राप्ती नगरपालिका र कालिका नगरपालिकामा लामखुट्टेका लार्भा र प्यूपा ‘खोज र नष्ट गर’ अभियान शुरु भएको हो ।

गर्मी मौसम बढ्न थालेकाले अब डेङ्गु रोग पनि फैलनसक्ने भएकाले रोेग आउनुभन्दा पहिले नै नियन्त्रणका लागि उक्त अभियान थालिएको केसीले जानकारी दिनुभयो । चितवनको राप्ती नगरपालिकामा सोमबारदेखि तीन दिने अभियान शुरु भएको छ ।

यस्तै भरतपुर महानगरपालिकामा भोलिदेखि अभियान शुरु हुँदै छ भने कालिका नगरपालिकामा आगामी बिहीबारदेखि तीन दिने ‘खोज र नष्ट गर’ अभियान चलाइने केसीले जानकारी दिए ।

उक्त अभियानमा स्वास्थ्यकर्मी र स्वयंसेवीका गरी करिब १०० जना परिचालन गरिने छ । खैरहनी नगरपालिकामा भने रोगको विषयमा प्रशिक्षण कार्यक्रम राखिएको छ ।

स्वयंसेवकले घरघरमा गएर डेङ्गु रोग, यसको सर्ने कारण र सावधानी अपनाउने विषयमा जानकारी दिने, लामखुट्टेका लार्भा भए नभएको हेर्ने र फेला परेमा नष्ट गर्ने गर्छन् ।

चितवनमा चालु आर्थिक वर्षको अहिलेसम्म ५७ जनामा डेङ्गु रोग लागेकामा ३१ जना चितवनका बिरामी र अरु बाँकी भने अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामी छन् । चितवनमा उपचारका लागि ल्याइएका मकवानपुरका एक जनाको मृत्यु भएको जनाइएको छ । माघ र फागुनमा भने डेङ्गु भेटिएको छैन ।

मुुख्यगरी ‘एडिस एजेप्टाई’ नामको संक्रमित पोथी लामखट्टेले टोकेमा यो रोग सर्ने चिकित्सक डा भोजराज अधिकारीले बताए। डेङ्गु सार्ने लामखुट्टले जमेको सफा पानीमा फूल पार्ने र बच्चा हुर्काउने भएकाले घरवरपर यसरी कुनै पनि भाँडामा पानी जम्न दिनु हुँदैन ।

नेपालमा सन् २००४ मा पहिलो पटक चितवनमा डेङ्गु देखिएको थियो । २०१० अर्थात आर्थिक वर्ष २०६७÷६८ मा चितवनमा महामारी फैलिँदा पाँच जनाको मृत्यु भएको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *