डा. गोविन्द केसीको अनसन कार्यक्रम ६ दिनका लागि स्थगित

काठमाडौँ, २९ फागुन । डा. गोविन्द केसीले आज देखि शुरु गर्ने भनेको अनसनको कार्यक्रम ६ दिनका लागि स्थगित गरेका छन् ।
सोमबार भएको विमान दुर्घटनामा सहकर्मी चिकित्सक सहित धेरै जनाको ज्यान गएको भन्दै उनले अनसनको कार्यक्रम ६ दिन पर सारेका हुन् ।

आज जारी विज्ञप्तीमा उनले माग पुरा नभएको खण्डमा आगामी ४ चैत देखि अनसन शुरु गर्ने गर्ने बताएका छन् ।

सर्बोच्चका अरु न्यायाधीशहरुले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पद छाडन दिएको सुझावलाई स्वागत गरेको डा केसीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्ती यस्तो छ :

यही फागुन २८ गते त्रिभुवन विमानस्थलमा भएका त्रासद विमान दुर्घटनामा परी हाम्रा सहकर्मी चिकित्सकलगायत धेरै जनाको मृत्यू भएको घटनाले हामीलाई आहत तुल्याएको छ । यो दुखको घडीमा दिवंगत सबैप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै उहाँहरुका परिवारजनलाई धैर्य धारण गर्न क्षमता मिलोस् भन्ने कामना गर्दछौं ।

यस शोकको घडीमा हामीले आजदेखि शुरु गर्ने भनेको सत्याग्रहको कार्यक्रम स्थगित गरेका छौं । हाम्रा मागहरु पूरा नभएको खण्डमा आगामी चैत्र ४ गतेदेखि सत्याग्रहको कार्यक्रम पुनः शुरु गर्ने पनि घोषणा गर्दछौं ।

साथै यसैबीच सर्वोच्च अदालतका सम्मानित न्यायधीशहरुले भ्रष्ट र विवदित प्रधान न्यायधीश गोपाल पराजुलीलाई पद छाड्न सुझाव दिएकोमा त्यसको स्वागत गर्दर्छौं । साथै गोपाल पराजुलीको कार्यकाल महिनौंअगाडि सकिए पनि निज नैतिकता, मर्यादा र कानुनविपरीत अहिलेसम्म पदमा रहेको भनेर सर्वोच्च अदालतबाटै आएको आदेशले पनि हामीले बारम्बार भन्दै आएको कुरालाई पुनः पुष्टि गरेको छ ।

पराजुलीले सिर्जना गरेको विवादका कारण बन्धक बन्न पुगेको न्यायालयले बाँकी न्यायधीशहरुको सुझबुझ र उचित निर्णयको बलमा यो संकट पार गर्नेछ र आफ्ना सबै गलत कामहरुका लागि पराजुली जवाफदेही बनाइनेछन् भन्ने विश्वास पनि हामीले लिएका छौं ।

डा. गोविन्द केसी

त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज
२०७४।११।२९
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *