पचास श्ययाको अस्पताल एक चिकित्सकको भरमा

 

जाजरकोट, २६ फागुन । जाजरकोट अस्पताल विगत एक महिनादेखि एक चिकित्सकको भरमा चल्दै आएको छ ।

विशेषज्ञ सेवा प्रवाह गर्ने उद्देश्यले ५० श्ययामा रुपान्तरण गरी सेवा बिस्तार गरिएको जाजरकोट अस्पताल एक जना चिकित्सकको भरमा चल्दा सेवा प्रवाहमा समस्या भएको छ ।

शल्यक्रिया सेवा, विशेषज्ञ सेवालगायतका दर्जन बढी सेवा प्रवाह गर्ने भनिए पनि अहिले जिल्लावासीले सामान्य सेवा नपाउँदा दैनिक पीडा थपिएको जुनीचाँदे गाउँपालिका–४ का रेशमबहादुर खड्काले बताए। अन्य चार जना डाक्टर बिदामा बसेका कारण दैनिक उपचारमा समस्या भएको छ । विशेषज्ञ, डाक्टर गरी ५९ जनाको दरबन्दी भएको जाजरकोट अस्पतालमा डाक्टर नहुँदा जिल्लावासीले हैरानी भोग्नुपरेको छ ।

स्वास्थ्य मन्त्रालयले जाजरकोट अस्पताललाई ५० श्ययामा विस्तार गरे पनि १५ श्ययाको कार्यक्रम पठाउँदा काम गर्न समस्या भएको अस्पतालको भनाइ छ । जाजरकोट अस्पतालमा विशेषज्ञ डाक्टर ११ को दरबन्दी खाली रहेको छ ।

त्यस्तै चार जना डाक्टरको दरबन्दी भए पनि अहिले एक जना मात्र कार्यरत रहेका छन् भने अन्य खाली रहेको छ । ल्याप, एचएको दरबन्दी पनि खाली रहेको छ । सदरमुकामकै जाजरकोट अस्पतालको हालत यो अवस्थामा छ भने गाउँमा रहेका स्वास्थ्य संस्थाको हबिगत कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ । प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा बारेकोट दुई जना डाक्टरको दरबन्दी भए पनि अहिले केन्द्र अस्पतालविहीन भएको छ ।

त्यस्तै गर्खाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा पनि त्यस्तै समस्या रहेको छ । जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा जिल्लाको स्वास्थ्यमा ठूलो समस्या छ । आवश्यक उपकरणको अभावमा जिल्लाका सबै स्वास्थ्य संस्थामा समस्या भएको छ ।

जाजरकोट सदरमुकाममा अस्पतालको प्रसूति गृह लगाएतका भवन समयमा निर्माण नहुँदा सेवाग्राहीले सास्तीपूर्वक सेवा लिन बाध्य भएका छन् । अस्पतालमा डाक्टर नहुँदा यहाँका स्थानीयवासी देशका अन्य ठाउँमा गएर उपचार गर्न बाध्य छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *