काठमाडौँ महानगरपालिकाले स्थगित गर्‍यो ज्येष्ठ नागरिकको स्वास्थ्योपचार सेवा

काठमाडौँ, २५ फागुन । काठमाडौँ महानगरपालिकाले छ महिनादेखि शुरु गरेको जेष्ठ नागरिकलाई घरघरमा दिइने उपचार सेवा तत्कालका लागि रोकिएको छ ।

हाल चिकित्सक र नर्सको अभावका कारण निरन्तरता दिन नसकिएको कामपा जनस्वाथ्य महाशाखा प्रमुख हरि श्रेष्ठले जानकारी दिए ।

कामपाले गत असार १५ गतेदेखि प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सहभागी भएर सो सेवा शुरु गरेको थियो ।

अस्थायी भएका कारण पहिलो चरणको काम सकेर १०–१० चिकित्सक र नर्स जिल्ला जनस्वास्थ्य कार्यालय नै फर्कनु भएको जनाइएको छ । कामपाका ८८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई जीवनप्रति सकारात्मक सोचको विकास एवम् उनीहरूमा भएका रोगको निदान गरी स्वस्थ्य जीवन बाँच्न प्रेरित गर्ने उद्देश्य सो सेवाको थियो ।

महानगरका ३२ वटै वडामा अठासी वर्ष उमेर पूरा भएका ५९६ नागरिक छन् ।  अबको केही समयमा नै कामपाले आवश्यक कर्मचारीको व्यवस्था गरी सेवालाई निरन्तर दिने जनाएको छ । स्वास्थ्योपचारसँगै जेष्ठ नागरिकलाई कामपाका तर्फबाट वार्षिक रु १२ हजारका दरले भत्तासमेत दिन थालिइसकेको छ । गत वैशाखमा स्थानीय निर्वाचनबाट जनप्रतिनिधि आएपछि भत्ता वितरण गरिएको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *