मिर्गौला फेल हुने सम्भावनाबाट कसरी जोगिने ?

– डा. कल्पना श्रेष्ठ, कन्सलटेन्ट नेफ्रोलोजिष्ट

मिर्गौला के हो ? यसले शरीरमा के काम गर्छ ?
शरीरको मुख्य अंगहरुमध्ये एक हो मिर्गौला । मिर्गौलाको मुख्य काम भनेको रगतलाई शुद्धिकरण गर्ने हो । त्यसबाहेक यसले रक्तचाप नियन्त्रण गर्ने , शरीरमा पानीको मात्रा नियन्त्रण गर्ने , विभिन्न प्रकारको हर्मोनहरुको उत्पादन गरी रगतको व्यवस्थापन गर्ने, शरीरमा क्याल्सियलाई मिलाएर राख्ने आदि कामहरु गर्दछ ।

यो दुईवटा हुन्छ । दायाँ र बाँया भागमा ढाडको पछाडी पट्टी सिमी आकारमा ८ देखि १२ सेन्टिमिटरको हुन्छ ।

मिर्गौला फेल हुनुको मुख्य कारण के हो ?
मिर्गौला फेल हुने कारणको खोजी गर्दा संसारभरी नै सबैभन्दा बढी मधुमेहका विरामी रहेको पाइयो । ४० देखि ५० प्रतिशत मधुमेहका विरामीहरुको  मिर्गौला फेल हुने सम्भावना हुन्छ ।

त्यसबाहेक विभिन्न संक्रमण, उच्च रक्तचाप, पत्थरीले हुने अवरोध जस्ता कारणहरु पनि हुनसक्दछ । जन्मजात मिर्गौला रोग जो प्रोटिन चुहेर हुने गर्दछ । जसलाई हामी गोलुमोरस नेफ्राइटिस भन्दछौँ त्यसबाट पनि मिर्गौला फेल हुने गरेको पाइएको छ ।

मिर्गौला फेल भएपछि के गर्ने ?
मिर्गौला फेल भइसकेपछि यसले गर्ने कामहरुमा त बाधा पुग्न जान्छ । हामीले अघि पनि उल्लेख गरयौँ । सबैभन्दा महत्वपूर्ण यसले रगतलाई शुुद्धिकरण गर्ने काम गर्दछ ।

मिर्गौला फेल हुने क्रमलाई पहिलो देखि पाँचौँ स्टेज गरी विभाजन गरेका हुन्छौँ । तर यसमा कुनै स्टेजमा थाहै नहुन पनि सक्छ । त्यसैले यसलाई साइलेन्ट किलर पनि भनिने गरिएको मिर्गौलाको मुख्य काम रगत शुद्धिकरण गर्नु हो । मिर्गौला फेल भयो भने शुद्धिकरण हुन सक्दैन । रगतबाट फाल्नुपर्ने विकारहरु जम्मा हुँदै जाँदा यसले अरु संक्रमण (साइड इफेक्ट)हरु गर्दै जान्छ ।

यस्तो बेलामा कसै कसैलाई खान मन नलाग्ने, वाक वाक हुने, टाउको दुख्ने, जीउ सुन्निने आदि जस्ता लक्षणहरु पनि देखा पर्न पनि सक्छ । तर मैले माथि नै भनेपनि सकेँ यी लक्षण नभईकन पनि मिर्गौला फेल हुनसक्छ ।

कतिपय अवस्थामा पाँचौँ स्टेज पछि अर्थात मिर्गौलाले १५ प्रतिशत भन्दा कम काम गर्ने अवस्था भएपछि मात्रै लक्षणहरु थाह हुनसक्छ । त्यो अवस्था भनेको फेरी फर्काउन सक्ने अवस्था होइन ।

त्यसपछिको विकल्प भनेको हाम्रो दुईवटा मात्रै हुन्छ । डाइलासिस गर्ने वा प्रत्यारोपण गर्ने ।  स्टेज १ देखि ४ सम्म पुग्दा औषधिले धेरै नै मद्धत पुरयाउँछ । लम्व्याउन मद्धत गर्छ तर जब स्टेज पाँचमा आइपुगेपछि त्यो सम्भावना हुँदैन । अब अतिनै धेरै विकारको बस्तुहरु जम्मा हुन थाल्छ ।
त्यसपछि गर्ने भनेको आरआरपी अर्थात रेनल रिप्लेसमेन्ट थेरापी । मिर्गौलाले जस्तै काम गर्ने कुनै अंग चाहियो अथवा कुनै मसिन चाहियो ।
यसलाई रगत शुद्धीकरण गर्ने उपाय पनि भन्दछौँ ।

डायलासिस के हो ?
डायालाइसिस भनेको शरीरमा रहेको रगतलाई शुद्धिकरण गर्ने उपाय हो । डायलासिस दुई प्रकारको हुन्छ । एउटा मेसिनबाट गर्ने हेमोडायालासिस भन्दछौँ । यसमा रगत नै मेसिनमा गएर छानिएर आउँछ । अर्को हाम्रो पेटमाएक प्रकारको झिल्ली हुन्छ । त्यसलाई हामी पेरिटोनिय भन्दछौँ । पेरिटोनियमले मिर्गौलाको जस्तै सबैकाम त गर्दैन तर केही मात्रामा गर्छ । हेमो डायलासिस मेसिनले जस्तै भने गर्न सक्छ । त्यसमा औषधि पानी राखेर घरै बसेर गर्न सकिन्छ । पीडी अर्थात पेरिटोनियल डायलासिस ।

डायलासिस गर्न थालेपछि प्रत्यारोपणका नगरे पनि हुने हो ?
त्यसरी बुझ्न भएन । डायलासिस त काम चलाउ हो । स्थायी समाधान त प्रत्यारोपण नै हो । किनभने डायलासिसले शरीरमा पानीको मात्रा मिलाउन सक्छ ।

विकार बस्तु शुद्धिकरण गर्न सक्छ अर्थात टक्सिनलाई बाहिर फाल्न सकियो तर मिर्गौलाले जस्तै रक्तचाप मिलाउने, हर्मोन उत्पादन गर्ने जस्ता कामहरु गर्न सक्दैन । त्यसैले डायलासिसमा बसेका व्यक्तिहरुले धेरै औषधिहरु खानुपर्ने हुन्छ । त्यहि व्यवस्थापन मिलाउनका लागि यस्तो गरिएको हो ।

मिर्गौला फेल हुनेहरुमध्ये अधिकांशले ८५ प्रतिशत ड्यामेज भइसकेपछि मात्रै थाह पाउँछन भन्नु भयो, त्यो भन्दा अगाडी नै मिर्गौला फेल हुन लाग्यो भनेर थाह पाउने उपाय छैन ?
हो, तर आफू आफ्नो स्वास्थ्य प्रति सचेत रहनु परयो । नियमित स्वास्थ्य परीक्षण गर्नुपरयो । निरोगी छु भन्नेहरुले पनि । त्यसबाहेक दीर्घरोगका विरामीहरु जसले लामो समय देखि औषधि खाएका छन् । मुटु, मधुमेह, उच्च रक्तचापका औषधि खानेहरुले विशेष ध्यान दिनुपर्छ । कम्तीमा पनि ६ महिनाको एक पटक आफ्नो मिर्गौला जचाउँनै पर्छ ।

मिर्गौला जाँच गर्न सर्भसुलभ र साधारण छ । गाँउपालिकाका स्वास्थ्य संस्थामा गएर पिसावको साधारण परीक्षण गरियो भने पनि धेरै कुरा थाह हुन्छ । दीर्घ रोगको औषधि खाने व्यक्तिले मिर्गौलाको प्यानल आरएफटी भन्दछौँ । अर्थात रगतमा क्रियाटिनको लेभल पनि परीक्षण गराउनु पर्छ । म स्वस्थ छु भन्ने व्यक्तिले पनि बर्षमा एक पटक मिर्गौला जाँच गर्नै पर्छ ।

दीर्घ रोग नलागोस भनेर अरु सतर्कताहरु पनि अपनाउनै परयो । समयमा पत्ता लाग्यो भने यसलाई रोकथाम गर्न सकिन्छ । जस्तै सामान्य प्रोटिन चुहिने समस्या सुरुमै थाह भयो भने उपचार गरेर त्यो निको हुन्छ । फेल भइसकेको व्यक्तिको पनि पहिलो स्टेजमै पत्ता लाग्यो भने यसलाई बर्षौ सम्म लम्व्याउन सकिन्छ । फेल भइसकेको छ भने यसलाई निको पार्न त सक्दैनौँ तर दवायर राख्न सकिन्छ ।

पछिल्लो समयमा युवाहरुमा मिर्गौला फेल हुने समस्या बढेको पाइएको छ । अधिकांंश मिगौला फेल उच्च रक्तचापका कारण भएको पाइएको छ । भर्खरको उमेरमा रक्तचाप बढ्नुमा ९० प्रतिशत कारण मिर्गौलामा समस्या हुनु हो भनेर भन्न सकिन्छ ।

# डा. श्रेष्ठ शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा कार्यरत छिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *