प्रधानमन्त्रीले मूर्दा चिरफार गरेको हेरिरहे ….

- नेपाली हेल्थ

– प्रकृति अधिकारी

कसैले विद्रोह गर्ने आँट नगरुन् भनेर जनता र भाइभारदारमा एक खालको त्रास सिर्जना गर्न चाहन्थे राणा प्रधानमन्त्री वीरशमशेर । त्यसैले हत्या गरिएका प्रधानमन्त्री रणोद्दीपलाई घोप्टो पारेर आर्यघाटमा जलाउन लगाएका थिए । घोप्टो जल्दा आत्माले मोक्ष प्राप्ति गर्न सक्दैन भन्ने मान्यता थियो उबेला । विद्रोह गर्नेको गति यस्तै हुन्छ भनेर सन्देश दिन चाहन्थे उनी ।

कडा स्वभावका वीरशमशेरले १९४४ सालमा वीर अस्पतालको भवन शिलान्यास गरे । १९४७ साल असार १५ गतेबाट वीर अस्पताल सञ्चालनमा आयो । भारतबाट चिकित्सकहरु झिकाइए ।

डा. रजनीकान्त गाँगुली, कम्पाउण्डर अनुदानचरण बन्दोपाध्याय, गेहेन्द्रनाथ चटर्जी, ड्रेसर धनसिंह लैन राखिएका थिए । बंगाली थिए ती स्वास्थ्यकर्मीहरु । चिकित्सकलाई वार्षिक एक हजार ८० रुपियाँ, कम्पाउण्डरलाई ३६० रुपियाँ र ड्रेसरलाई तीन सय रुपियाँ ठेकिएको थियो ।

उनीहरुलाई सहयोग गर्न भनेर राइटर एक जना, नौसिन्दा एक जना, भान्से दुई जना, टहलुवा दुई जना र झाडु बढारु गर्ने दुई जना कर्मचारीहरु पनि राखिए । त्यो बखत सरकारी जागिरेको रोलक्रम तलबाट माथिसम्म क्रमशः हुन्थ्यो– नौसिन्दा, बहिदार, नायब राइटर, नायब मुखिया, राइटर, बिचारी, मुखिया, हाकिम, डिठ्ठा, खर्दार, नायब सुब्बा, सुब्बा, मीर सुब्बा, सर्दार, काजी र बडाकाजी ।

मोरङ भन्सार र मोरङको गुठी जग्गाको आयस्ता तथा महोत्तरी गुठी जग्गाको आयस्ताबाट वीर अस्पताललाई खर्च पठाउनुपर्ने व्यवस्था १९४९ सालमा गरियो । १९५० सालमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको एक हजार बिघा जग्गाको आयस्ता वीर अस्पताल सञ्चालनका लागि छुट्याइयो ।

१९५१ सालमा बुटवलको चार सय बिघा जमिन थपियो । वीर अस्पतालका साथै ललितपुरमा १९४८ सालमा र भक्तपुरमा १९५० सालमा अस्पताल स्थापना गर्न लगाएका थिए वीरशमशेरले ।

वीर अस्पतालको उद्घाटनका बखत देवशमशेरले भाषण गरेका थिए, “हामी भाग्यमानी रह्या छौँ भनी सम्झनु किन भन्या श्री परमेश्वरका अनुग्रहले सब माथि दया र विवेकले पूर्ण भै बक्सेका मालि श्री ३ महाराज वीरशमशेर जङ्गबहादुर राणा प्राइमिनिस्टर याण्ड कमान्डर इन चिफ होइ बक्स्याको छ ।

आफ्ना रैती दुनिञाहरुको औषधि बेगर दुःख पायाको विचार न राख्याको हुनाले अघि अघिमा मुख्त्यारहरुले हस्पितल न राख्याका हुन अहिले श्री ३ महाराजका उदये भयापछि आफ्ना रैति दुनिञाहरुले औषधि नपाई साह्रै दुःख पाउँदा रहेछ भन्या जाहेर हुँदा यो हस्पितल राखी बक्सेको हो ।” उद्घाटन भाषणमा विरामी १५ जनालाई खानपिनसहितको उपचारको व्यवस्था गरिएको उल्लेख थियो ।

Ο Ο Ο Ο Ο Ο

सुन्धारामा मेडिकल स्कुल स्थापना गरियो । १९५७ सालको असारमा मेडिकल स्कुल खोलिएको थियो । यो पनि वीरशमशेरकै पालामा स्थापना गरिएको थियो ।

यो स्कुलमा डाक्टरी इलम सिक्नका लागि पल्टनका १० जवानलाई वर्षको २४ देखि ४८ रुपियाँ अतिरिक्त दिने गरी व्यवस्था गरियो । पल्टनियाँ खान्गीको सो रकम कौशी तोषाखानाबाट उपलब्ध गराइन्थ्यो ।

Ο Ο Ο Ο Ο Ο

वीरशमशेरको निधनपछि चौथो राणा प्रधानमन्त्रीका रुपमा देवशमशेर उदाए । १९५८ साल जेष्ठ वदि ४ रोज ३ मा मेडिकल स्कुलमा अपरान्ह ४ बजे मूर्दा चिरफार गरियो । त्यो दृश्य हेर्न प्रधानमन्त्री देवशमशेर पनि पुगेका थिए । तीन सहर अर्थात् काठमाडौँ, ललितपुर र भक्तपुरका वैद्यहरुलाई पनि त्यो दृश्य हेर्नका लागि उर्दी नै जारी गरिएको थियो ।

त्यसका बारेमा गोरखापत्रमा यस्तो समाचार छापिएको थियो, “५८ साल जेष्ठ वदि ४ रोज ३ मा मेडिकल स्कुलमा ४ बजे श्री ३ महाराजको सवारी भै डाक्टर राजकृष्ण मुकुर्जिले डिसेक्सन अर्थात् मूर्दा चिरफार गरेको । अघि अघि नेपालमा डिसेक्सन हुँदैन थ्यो । वैद्य नाउहरुले हेर्न जान्नु बहुतै दर्कार हुनाले वैद्य नाउहरुले हेर्न पाया लियाकत बढ्ने सारा दुनिञालाई फाइदा हुन्थे ।

मानिसको सरीरमा यो यो जंत्र यस् यस् ठाँउमा रहेछ भनि देखि अनुभव हुन्थे । देसोन्नति पनि हुन्थे । मेडिकल स्कुलको डाक्टर राजकृष्ण मुकुर्जि यल्एम्एस् लाई हुकुम बक्सेको हुनाले नीजले मुर्दा चिरी तपसिल्का जंत्र यो यो ठाउमा यो यो जंत्र रहेछ भन्न्या आर्गन्स अर्थात् सरीर भित्रको जंत्रहरुमा तपसिल्को जंत्रहरु मात्र सुक्ष्मसँग नजर्गराया तिन्सहर काठमाडौं पाटन भादगाँउका वैद्य नाउहरुलाई उर्दी भयाको हुनाले निजहरुले पनि देखे ।”

तपसिल भनी गोरखापत्रमा अगाडि लेखिएको थियो, “गिदी– यो ४ हिस्सा हुन्छ । मुटु फोक्सो कलेजो फियो पाकस थलि सातपत्रे आन्द्रा मृगौला पिसाब रहने थैलो दिसा बाहिरिने आन्द्रा कोसनारी गिदी ढाक्ने पर्दा आन्द्रा ढाक्ने पर्दा मुटु ढाक्ने पर्दा फोक्सो ढाक्ने पर्दा ।”

Ο Ο Ο Ο Ο Ο

१९९० सालको भूकम्पमा घाइते भएकाहरुको उपचार गर्न स्वास्थ्यकर्मीको अभाव निकै भयो । कम्पाउन्डर र ड्रेसरहरु बढी संख्यामा आवश्यक परेको थियो । त्यसै समस्याबाट स्थापना भयो सिभिल मेडिकल स्कुल ।

वीर अस्पतालका चिकित्सकको सुपरीवेक्षणमा कम्पाउन्डर र ड्रेसर उत्पादन गर्न यो स्कुल सञ्चालनमा ल्याइयो । १९९० देखि २०१६ सालसम्ममा यस स्कुलबाट २३८ जनाले कम्पाउन्डरको र २१३ जनाले ड्रेसरको तालिम पाए । पछि हेल्थ असिस्टेन्ट ट्रेनिङ स्कुलका रुपमा परिणत भएको यो संस्था नयाँ शिक्षासँगै त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत रहन पुग्यो ।

Ο Ο Ο Ο Ο Ο

१९९६ साल ताक नेपालमा जे.एम. घोष नाम गरेका मेडिकल अफिसर थिए । उनलाई कप्तान पद दिइएको थियो । उनी बंगाली थिए ।
उनका छोरी वाणी घोष थिइन् । त्यस वर्षको बंगला मासिक ‘शिशुसाथी’ले उनका बारेमा बखान छापेको थियो । त्यो पत्रिका तत्कालीन कलकत्ता (हालको कोलकाता)बाट प्रकाशित हुन्थ्यो ।

नेपालका ती मेडिकल अफिसर घोषका छोरी वाणीले १० वर्षमा एसएलसी परीक्षा उत्तीर्ण गरेकी थिइन् । तर त्यो पत्रिकामा ती मेडिकल अफिसर वीर अस्पतालका थिए वा मेडिकल स्कुलका थिए भन्ने खुलाइएको थिएन । मेडिकल स्कुलमा सैनिकलाई अभ्यास गराइने भएकाले सेनाका तर्फबाट मेडिकल अफिसरमा नियुक्ति गरिएको हुनुपर्दछ भन्ने सामान्य अनुमान कसरी गर्न सकिन्छ भने उनलाई कप्तान पद दिइएको थियो । अन्य सेवामा कप्तानको व्यवस्था थिएन ।

Ο Ο Ο Ο Ο Ο

१९९९ साल कात्तिक १४ गतेको गोरखापत्रमा साँढेले भूँडी छेड्यो भन्ने शीर्षकमा समाचार छापिएको थियो । असोज २७ गते किलागलकी एक महिलालाई छिडीमा राती ८ बजे साँढेले हानेर भुँडी नै छेडिदिएछ । रातभरि घरमै छटपटाइन् ।

भोलिपल्ट अस्पताल पु¥याइयो । अस्पतालका डाक्टरले टाँका सिलाइ गरे । “७२ घण्टासम्म पनि होस् नखुले बाँच्न मुस्किल छ भन्ने डाक्टरहरुको भनाइ रहेछ” गोरखापत्रले समाचारमा छापेको थियो । यो समाचारबाट ७५ वर्षअघि नै वीर अस्पताल उपचारका लागि पोख्त भइसकेकोमात्र होइन शल्यक्रियामा पनि सक्षम बनिसकेको प्रष्ट हुन्छ ।

अस्पतालमा उपचार र शल्यक्रियाका बारेमा समाचार छापिन थालिसकेका थिए । १९९९ साल मंसिर १ गते नारायण चौर नक्साल बस्ने पण्डित नारायणप्रसाद रेग्मीका जेठा छोरा कृष्णप्रसादले झुण्डिएर आत्महत्या गरे । गोरखापत्रले “लास जाँच गर्न अस्पताल ल्याएको छ” भनेर छाप्नुको अर्थ पोस्टमार्टम गर्ने चलन त्यसबखत सुरु भइसकेको प्रष्ट हुन्छ ।

सोही सालको माघ २३ गते बूढानीलकण्ठका एक व्यक्ति रुखबाट लडेर दुवै गोडाका तिघ्राका मासु सोरिएको र उनलाई अस्पताल नलगिनुका कारण बारे यसरी छापिएको थियो, “अवश्य बाँच्न सकोइन भन्ने परी अस्पताल पनि नल्याएको रे ।”

धोबिचौरका रामकृष्ण पाण्डे क्षेत्रीले छोरालाई तिलौरी किन्न लाग्दा खसेर तिघ्राको हाड फुट्यो । “अस्पतालमा आइ भर्ना भै औषधि भइरहेको छ” गोरखापत्रमा छापिनुले तिघ्राका हाड फुट्ने जस्तो गम्भिर समस्याको पनि उपचार त्यतिबेलै सुरु भइसकेको भन्न सकियो ।

(सन्दर्भ सामग्री ः नेपालमा शिक्षाको इतिहास, भाग १, श्री ३ हरुको तथ्य वृत्तान्त भाग १ र पुराना गोरखापत्रहरु)

# अधिकारी गोरखापत्र दैनिकका उप-सम्पादक हुन् ।

थप समाचार

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *