‘मृगेन्द्र–संझना चिकित्सा सम्मान’ प्राध्यापक माथेमालाई

काठमाडौँ, २० फागुन । शिक्षाविद प्राध्यापक केदारभक्त माथेमाले एक लाख रासीको मृगेन्द्र सम्झना चिकित्सा गुठी पुरस्कार तथा सम्मान पाएका छन् । शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान गरेवापत गुठीले प्राध्यापक माथेमालाई सो पुरस्कार प्रदान गरेको हो ।

४३औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित एक कार्यक्रममाका बीच शिक्षाविद् माथेमालाई पुरस्कार प्रदान गरियो । सो अवसरमा सांसद रामेश्वर फुयालले गुठीले सामाजिक सेवामा उल्लेखनीय कार्य गरेको चर्चा गरे ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले गुठीको सुन्दरीजल स्वास्थ्य सेवा मन्दिर क्लिनिकलाई नगर क्लिनिकका रुपमा चलाउन सहयोग गर्ने बताए ।

कार्यक्रममा गुठीअन्तर्गत सुन्दरीजल, दक्षिणकाली क्षेत्र तथा दुर्गम जुम्ला जिल्लाका गरिब तथा प्रतिभाशाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नाका साथै स्व बेलबहादुर अधिकारी छात्रवृत्ति गुह्वेश्वरी बाल शिक्षा माविका विद्यार्थीलाई प्रदान गरियो ।

गुठीले अन्य संस्थासँग सहकार्य गरी सेवा गर्ने उद्देश्यअनुसार नेपाल मधुमेही समाज, पूर्व कर्मचारी सेवा परिषद्, गाउँ सेवा तनहुँ, प्राथमिक स्वास्थ्य सेवा केन्द्र टुँडालदेवी स्थान तथा गुठीअन्तर्गतका समितिलाई पनि सो कार्यक्रममा अनुदान प्रदान ग¥यो ।

त्यसैगरी मृगेन्द्र–संझना चिकित्सा गुठी पियूष नरेन्द्र क्याम्पस कोषबाट अर्बुद रोग लागेका विपन्न वर्गका बिरामीलाई हरेक वर्ष ६–६ महिनामा केमोथेरापीका ओषधि प्रदान गर्ने उद्देश्यबमोजिम रु ५० हजार बराबरको औषधि वीर अस्पतालका निर्देशक प्रा डा भुपेन्द्र बस्नेतलाई गुठीका संस्थापक डा मृगेन्द्रराज पाण्डेबाट हस्तान्तरण गरियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *