विभागका नयाँ महानिर्देशक डा. श्रेष्ठले आज पदवहाली गर्ने

काठमाडौँ । स्वास्थ्य सेवा विभागका नयाँ महानिर्देशक डा. विनोदमान श्रेष्ठले आज पदवहाली गर्ने भएका छन् । डा. श्रेष्ठले आज विहान ११ बजे स्वास्थ्य सेवा विभागमा पुगेर पद वहाली गर्ने कार्यक्रम छ ।

तत्कालिन स्वास्थ्यमन्त्री दीपक बोहराले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका प्रमुख विशेषज्ञ (१२ औँ तह) डा. श्रेष्ठलाई विभागको महानिर्देशकको जिम्मेबारी दिने गरी सरुवा गरेका थिए । तर उनी विदेश भ्रमणमा रहेका कारण पदवहाली गर्न भ्याएका थिएनन् ।

‘हिजो विदेशबाट आउनु भएछ । आज एघार बजे पदवहाली गर्न आउने भन्ने खबर आएको छ,’ विभागका उप महानिर्देशक चुडामणी भण्डारीले भने ।

यसअघि विभागको महानिर्देशक फेर्ने ३० पुसको मन्त्रीस्तरीय निर्णय सर्बोच्चले उल्ट्याई दिएपछि तत्कालिन मन्त्री बोहराले पुन २ फागुनमा अर्को निर्णय गरेका हुन् ।

आफूलाई मन्त्रालय तानेर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत डा तारा पौडेललाई निमित्त महानिर्देशकको जिम्मेबारी दिएपछि तत्कालिन निमित्त महानिर्देशक डा राजेन्द्र पन्त निर्णय बदर गर्न सर्बोच्च अदालत पुगेका थिए ।

सर्बोच्चले १८ माघमा प्रारम्भिक सुनुवाई गर्दै ३० पुसको निर्णय कार्यान्वन नगर्न स्वास्थ्य मन्त्रालयलाई दिएको थियो । अन्तरिम आदेश पछि डा पन्तले गत २९ माघमा विभाग पुगेर हाजिर गरेका थिए । त्यसलगत्तै मन्त्रालयले डा श्रेष्ठलाई महानिर्देशक बनाउने निर्णय गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार डा पौडेललाई एक महिने काजमा रहने गरी मन्त्रालय तानिएको छ । अदालतको आदेश पछि यसअघि मन्त्रालयले डा पौडललाई पहिले काम गरेको ठाँउ पोखरा नै जान भनेको थियो । नयाँ महानिर्देशकको पदावधी भने आगामी २१ फागुन सम्म मात्रै छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *