नयाँ मुखाकृतिमा यस्ता देखिए सेन्ट भ्यालेन्टाइन

बीबीसी । सेन्ट भ्यालेन्टाइन प्रेममा परेका मानिसहरूका संरक्षक मानिन्छन्। त्यसैले धेरै देशहरूमा उनलाई मृत्युदण्ड दिइएको दिन अर्थात् फेब्रुअरी १४ लाई प्रेमदिवसका रूपमा मनाइन्छ।

ईशापूर्व २६९ मा मारिएका प्राचीन रोमका यी ईशाई सेन्टको अहिले नयाँ मुखाकृति निर्माण गरिएको छ, जुन पुराना प्रतिरूपहरूभन्दा धेरै फरक छ।

ब्राजिलका डिजाइनर सिसेरो मोराइसले उनको भन्ठानिएको अस्थिहरूका आधारमा कम्प्युटर ग्राफिक्सबाट सेन्ट भ्यालेन्टाइनको मुखाकृति पुनर्निर्माण गरेका छन्।

ती अवशेषहरू इटलीको प्याडुअ प्रान्तस्थित सेन्ट जोर्जेज् गिर्जाघरमा राखिएका छन्। मोराइसले बनाएको मुखाकृति गत शनिवार एउटा समारोहबीच सार्वजनिक गरिएको थियो।

यसरी बनाइएको चित्रमा सामान्य लक्षण र तुलनात्मक रूपमा कम उमेर भएका पुरुषको रूप देखिएको छ। तर पुराना चित्रहरूमा सेन्ट भ्यालेन्टाइनलाई अलि वृद्ध र जीर्ण रूपमा देखाइने गरेको थियो।

मोराइस गत वर्ष पुनर्निर्माण योजना थाल्ने एउटा बहुविषयक समूहमा संलग्न थिए।

प्याडुअ विश्वविद्यालयका प्राज्ञहरूले भ्याटिकनबाट सेन्ट भ्यालेन्टाइनको भन्ठानिएको खप्परको तस्बिर खिच्ने अनुमति पाएका थिए। खप्परका उच्च गुणस्तरका तस्बिरहरू त्रिआयामिक मुखाकृति पुनर्निर्माण गर्ने विशेषज्ञता भएका मोराइसलाई पठाइएको थियो।

उनले एक हप्ता लगाएर सो काम पूरा गरेका हुन्।  तर भ्यालेन्टाइनको प्रसंगमा केही जटिलता रहेका छन्।

केही विद्वान‌हरूका अनुसार प्राचीन रोममा केवल एक जना हैन, कम्तीमा तीन जना सेन्ट भ्यालेन्टाइनको अस्तित्व थियो। ‘रोमन क्याथोलिक चर्च अलि अव्यवस्थित छ। त्यहाँ धेरै भ्यालेन्टाइनहरू थिए।’ हामीले देखिराखेको चित्र तीन जना सेन्टहरूको संमिश्रण हो,’ मोराइसले बीबीसी ब्राजिललाई बताए।

‘मैले तीमध्ये एक जनाको (आकृति) पुनर्निर्माण गरिसकेको थिएँ। म तेस्रा (भ्यालेन्टाइन) को पनि गर्न चाहन्छु। तर उनको मृत्यु धर्मप्रचारका क्रममा अफ्रिकामा भएको विश्वास गरिन्छ र उनको समाधिस्थल पत्ता लागेको छैन।’

प्रेम
क्याथोलिक धर्मसँग सेन्ट भ्यान्टाइन सम्प्रदायको प्रादुर्भावको कुनै सम्बन्ध छैन। त्यो ईशाई धर्मको आगमन हुनुभन्दा अगाडिको रोमन कालदेखि नै सुरु भएको हो।

त्यसको सम्बन्ध स्वास्थ्य र उर्वरताको कामना गर्दै फेब्रुअरी १५ मा मनाइने प्राचीन लुपर्केलियाको वार्षिक पर्वसँग छ। अनि यो वन, मैदान र खेतका देवता फोनसको सम्मानमा पनि मनाइन्थ्यो।

सन् ४९४ मा पोप गेलासियस प्रथमले सबै ईशाईहरूलाई ती उत्सवहरूमा भाग लिन निषेध गरिदिए। त्यसपछि एक दिनमा मात्रै उत्सव सीमित पार्दै भ्यालेन्टाइनलाई प्रेममा परेका मानिसहरूको संरक्षण गर्ने जिम्मा दिइयो।

भ्यालेन्टाइनको भन्ठानिएका खप्पर र अस्थि सेन्ट गिर्जाघरमा राखिएका छन् । दक्षिण ब्राजिलको श्यापेको सहरमा जन्मेका ३५ वर्षीय मोराइसको क्याथोलिक धार्मिक पात्रसँग सम्बन्धित यो एघारौँ काम हो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *