दर्जन नर्सिङ कलेजलाई सम्वन्धन दिने तयारी

काठमाडौँ, २ फागुन । शिक्षामन्त्री गोपालमान श्रेष्ठले पदबाट बाहिरिनै लाग्दा मन्त्रिपरिषद् बैठकको निर्णयविपरीत बुधबार एक दर्जन नर्सिङ कलेजलाई सम्बन्धन दिने तयारी गरेका छन् ।  सीटीईभीटी परिषद्को बुधबार १ बजे बैठक राखेर सम्बन्धन दिन लागिएको परिषद् स्रोतले बताएको छ ।

मन्त्रीले अध्यक्षता गर्ने बैठकमा सहभागी हुन सदस्यहरूलाई बाँडिएको पत्रमा भने सम्बन्धनको एजेन्डा उल्लेख गरिएको छैन । परिषद् स्रोतका अनुसार ‘विविध शीर्षक’ मा छलफल गरेर सम्बन्धन दिने तयारी मन्त्रीले गरेका हुन् । यसअघि मन्त्री श्रेष्ठले पनि प्रतिनिधिसभाको निर्वाचन आचारसंहिता लागेकै बेला आर्थिक चलखेल गरेर २५ कलेजलाई ३४ वटा कार्यक्रमको सम्बन्धन दिएका थिए ।

मन्त्रिपरिषद्को माघ ३ को बैठकको ७ नम्बर निर्णयमा भौगोलिक, जनसंख्या, आवश्यकतालाई मध्यनजर गर्दै नक्सांकन गरेर मापदण्ड पुगेका संस्थालाई मात्रै सम्बन्धन प्रक्रिया अघि बढाउने उल्लेख गरिएको थियो । ‘यी संस्थालाई सम्बन्धन उपयुक्त छरछैन भन्ने स्वास्थ्य मन्त्रालय र योजना आयोगबाट सहमति र अध्ययनबिनै सम्बन्धन दिन लागिएको हो,’ स्रोतले भन्यो । यसको जानकारी सीटीईभीटीलाई समेत शिक्षा मन्त्रालयमार्फत पठाइसकिएको छ ।

सीटीईभीटीका सदस्य सचिव पुष्परमण वाग्लेले केही दिनअघि पत्रकार सम्मेलनमा भौगोलिक, जनसंख्याका आधारमा नक्सांकन गरेर स्पष्ट खाका आएपछि मात्रै सम्बन्धन प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका थिए । सदस्य सचिव सम्बन्धन दिने पक्षमा नभएपछि स्तर निर्धारण महाशाखाका निर्देशक जीवनारायण काफ्लेको ठाडो प्रस्तावमा मन्त्री अध्यक्ष हुने परिषद्बाट सम्बन्धन दिन लागेको स्रोतले जनाएको छ ।

टीईभीटीले मनसाय पत्र दिइसकेको र पूर्वाधार निरीक्षण गरेर सल्लाहकार समितिबाट समेत परिषद्मा सिफारिस गरिएका नर्सिङ कलेजलाई सम्बन्धन दिन लागिएको स्रोतले जनाएको छ ।

बुधबारको बैठकको मुख्य एजेन्डा भने सम्बन्धनकोअधिकार प्रदेशलाई दिने विषय राखिएको छ । तर, स्रोतले भने मन्त्री श्रेष्ठ आफूले चाहेका जति कलेजलाई सम्बन्धन दिएरमात्रै प्रदेशलाई अधिकार हस्तान्तरण गर्ने तयारीमा रहेको दाबी गरेको छ । मन्त्रिपरिषद्को सामाजिक समितिको २०७२ भदौ ५ को निर्णयमा नीति तर्जुमा भएपछि मात्रै सम्बन्धनरस्वीकृति दिनुपर्ने भनिएको थियो । यसको नीतिसमेत बनेको छैन ।

सल्लाहकार समितिबाट पारित भइसकेको संस्थामा लाइफगार्ड अस्पताल विराटनगर, भरतपुर सामुदायिक अस्पताल, मिर्चैया हेल्थ नर्सिङ क्याम्पस, एसिया फाउन्डेसन अफ एजुकेसन एन्ड रिसर्च सेन्टर छन् ।

त्यस्तै चितवन स्कुल अफ मेडिकल साइन्स भरतपुर, विजय एकेडेमी फर हेल्थ साइन्स, क्यालिवर नर्सिङ क्याम्पस, ओम साई नर्सिङ क्याम्पस बुटवल, वेस्टर्न हेल्थ साइन्स एकेडेमी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान र कालीगण्डकी हेल्थ फाउन्डेसन नवलपरासी छन् । यी संस्थालाई नर्सिङको सम्बन्धन दिन लागिएको स्रोतले जनाएको छ ।

स्रोतले भन्यो, ‘क्याबिनेटको निर्णयअनुसार भौगोलिक तथा जनसंख्याको विश्लेषण गरी नक्सांकन नगरी सम्बन्धन दिन मिल्दैन ।’ यी संस्थालाई चित्रलेखा यादव शिक्षामन्त्रीबाट हट्ने दिनसम्म पनि सम्बन्धन दिन खोजेकी थिइन् । त्यसपछिका मन्त्री गिरिराजमणि पोखरेलको पालामा पनि सम्बन्धन दिने प्रयास असफल भएको थियो । अहिले श्रेष्ठले सम्बन्धन दिने तयारी गरेका हुन् । तर सम्बन्धनको निर्णय गर्दा मिडियाले बदनाम गरेको भन्दै श्रेष्ठले सार्वजनिक रूपमा आलोचना गर्ने गरेका छन् ।

विभिन्न छानबिन समितिले पनि नक्सांकन नगरी सम्बन्धन दिन नहुने सुझाव दिएको छ । मन्त्री र सीटीईभीटीका पदाधिकारीले गुणस्तरमा जोड दिनेभन्दा पनि आर्थिक चलखेलका आधारमा सम्बन्धन दिने गरेको आरोप लाग्ने गरेको छ ।

परिषद् सदस्यलाई बुधबार हुने बैठकमा उपस्थित हुन पठाइएको पत्रमा क्षेत्रीय कार्यालय खोल्ने र उसले गर्ने २५ वटा अधिकार पारित गर्ने, लोकसेवाको निर्देशिकाअनुसार सीटीईभीटी कर्मचारी सेवा, सर्त सुविधा विनियम २०६९ संशोधनका लागि शिक्षा मन्त्रालय पठाउने तथा सेक्सन थप गर्ने एजेन्डा उल्लेख छ ।

अहिले भएका संस्थामा सेक्सन थप गर्ने निर्णयमा पनि चलखेल भइरहेको स्रोतको दाबी छ । ‘एउटा सेक्सनबाट गुणस्तरीय शिक्षा दिन नसकिरहेका बेला त्यही संस्थालाई अर्को सेक्सन थप गर्न दिने निर्णय गर्नु नीतिगत भ्रष्टाचार हो,’ सीटीईभीटीका एक निर्देशकले भने ।

  • आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *