औषधिप्रतिरोधी रोग नियन्त्रण गर्न सक्ने नयाँ एन्टिबायोटिक फेला पर्‍यो

बीबीसी । संयुक्त राज्य अमेरिकामा वैज्ञानिकहरूले माटोका नमुनाहरूमा एन्टिबायोटिकको नयाँ वर्ग फेला पारेका छन्।

ती प्राकृतिक यौगिकहरू उपचार गर्न गाह्रो हुने संक्रमणहरू नियन्त्रणका लागि प्रयोग गर्न सकिने अनुसन्धानमा संलग्न रकफेलर विश्वविद्यालयका वैज्ञानिकहरूको विश्वास छ।

परीक्षणहरूमा ‘म्यालासिडिन्स्’ भनिएका ती यौगिकहरूले एन्टिबायोटिक प्रतिरोधी ब्यक्टेरियाबाट लाग्ने धेरै रोगहरूलाई नियन्त्रण गरेको देखिएको छ।

विज्ञहरूका अनुसार ‘नेचर माइक्रोबायोलजी’मा प्रकाशित शोधले एन्टिबायोटिकको प्रयोगमा नयाँ आशा जगाएको छ।

प्रयास
हाल औषधिप्रतिरोधी रोगहरू विश्वभरि ठूलो स्वास्थ्य चुनौतीका रूपमा देखा परेका छन्। त्यस्ता रोगबाट बर्सेनि सात लाख मानिसहरूको मृत्यु हुन्छ र तिनको उपचारमा नयाँ विधिको आवश्यकता टड्कारो रूपमा देखिएको छ।

माटोमा लाखौँ सूक्ष्मजीवहरू हुन्छन्। तिनले औषधीय गुण भएका एन्टिबायोटिक लगायत अनेकौँ यौगिकहरू उत्पादन गर्छन्।

न्यूयोर्कस्थित रकफेलर विश्वविद्यालयमा डा सन ब्र्याडीको समूह ती यौगिकहरू पत्ता लगाउन व्यस्त छ।

महत्त्वपूर्ण
त्यो समूहले ‘जीन सिक्वेन्सिङ’ प्रविधि प्रयोग गरेर अमेरिकामा संकलित माटोका एक हजारभन्दा बढी नमुनाको विश्लेषण गर्‍यो। धेरै नमुनामा ‘म्यालासिडिन्स्’ भेटिएपछि उनीहरूलाई यो एउटा महत्त्वपूर्ण खोज हो भन्ने लाग्यो।

उनीहरूले एम्‌आर्‌एस्‌ए (मेथिसिलिन्प्र-तिरोधी स्ट्याफाइलोकोकस् अरियस् ब्याक्टेरिया)को संक्रमण गराइएका मुसाहरूमा सो यौगिकको प्रयोग गर्दा छालामा भएको संक्रमण हराएको पाए।

मानिसको उपचारमा पनि ल्याउन सकिन्छ कि भनेर हाल अनुसन्धानकर्ताहरू यो औषधिको प्रभावकारितामा सुधार ल्याउन प्रयास गर्दै छन्।

चुनौती
‘मालासिडिन्स्’ जस्ता खोज अनुसन्धानको प्रारम्भिक चरणमै रहेका एन्टिबायोटिकहरू कहिले र के साँच्चै उपचार कक्षसम्म पुग्छन् भनेर बताउनु असम्भव हुन्छ,’ डा ब्र्याडीले भने, ‘त्यस्ता एन्टिबायोटिकहरू उपचारमा प्रयोग हुने औषधिको रूपसम्म पुग्न एउटा निकै लामो र गाह्रो बाटो पार गर्नु पर्ने हुन्छ।’

एन्टिबायोटिक रिसर्च सेन्टर यूकेका प्राध्यापक कोलिन गार्नरका अनुसार एम्‌आर्‌एस्‌ए जस्ता ग्राम-पोजिटिभ संक्रमणहरूको उपचार गर्ने नयाँ एन्टिबायोटिक पत्ता लाग्नु राम्रो समाचार हो। तर यसले सबभन्दा टड्कारो आवश्यकता भने पूर्ति गर्दैन।

‘हाम्रो चासो उपचार गर्न गाह्रो र प्रतिरोध बढेका ग्राम‍-पोजिटिभ ब्याक्टेरियामा छ,’ उनले भने। ती ब्याक्टेरियाले न्युमोनिया, रगत र मूत्रनलीको संक्रमण र छालाको रोग गराउँछन्। ‘तिनको उपचारका लागि हामीलाई नयाँ एन्टिबायोटिक्स चाहिन्छ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *