पूर्वमन्त्री पासवानले मागे उपचार खर्च ७३ लाख, कर्मचारीको कुरा सुनेपछि सोफामै ढले

काठमाडौँ, २८ माघ ।  पूर्व जनसंख्या तथा बाताबरण मन्त्री विश्वेन्द्र पासवानले आफ्नो उपचारमा ७३ लाख खर्च भएको भन्दै सो रकम उपलव्ध गराउन सरकारसंग माग गरेका छन् ।

२६ असार ०७३ को मन्त्रिपरिषद बैठकको निर्णयलाई आधार मान्दै पासवानले शिक्षण अस्पताल महाराजगञ्ज र भारतको मेदान्त अस्पतालमा गरी ७३ लाख खर्च भएको निवेदनसहित तत्काल उपलव्ध गराउन स्वास्थ्य मन्त्रालयमा विल पेश गरेका हुन् ।

सरकारले शिक्षण अस्पताल र भारतको मेदान्त अस्पतालमा औषधि उपचार गर्दा लागेको खर्च बिलका आधारमा पासवानलाई उपलव्ध गराउने निर्णय सहितको पत्र स्वास्थ्य मन्त्रालयमा पठाएको थियो । तर पूर्वमन्त्री पासवानले उपचार गर्दा लागेको भन्दा दोब्बर बिल पेस गरेपछि मन्त्रालयका कर्मचारी रकम दिने वा नदिने भन्नेमा अन्यालमा देखिएका छन् ।

उनलाई प्यांक्रियाजमा समस्या भएकोले उपचार गरिएको थियो । काठमाडौँको त्रिवि शिक्षण अस्पताल र भारतको मेदान्त अस्पतालमा औषधि उपचार गरेको मात्र होइन खाजा खाएको, यात्रा गरेको र अन्य खर्च पनि उनले मागेका छन् ।

पासवानले पेश गरेका बिलका शीर्षक

भारतीय नोट सटही  :१५ लाख दुई हजार ९९४ ( एक सय ६० नेपाली बराबर १ सय भारु हुन्छ तर बैकमा पैसा नपाएकोले कालोबजारमा साट्दा थप चार रुपैयाँ कमिसन निर्तुपरेकाले सो पैसा पनि सरकारले तिर्नुपर्ने उनको मागदावी छ । कालोबजारमा साटेको पैसा केमा खर्च भयो भन्ने विवरण भने उल्लेख छैन । औषधि उपचार लगायत सम्पूर्ण खर्च अलग्गै छ । )

होटेल , चिया खाजा खर्च  : १८ लाख ७३ हजार ६ सय

यातायात खर्च  : ८ लाख ९१ हजार ५७

काठमाडौँको शिक्षण अस्पतालमा उपचार खर्च : ७ लाख १६ हजार

भारतको मेदान्त अस्पतालमा उपचार खर्च : २३ लाख ४८ हजार ४२८

‘पूर्व मन्त्री पासवानले जम्मा ७३ लाख ३२ हजार मागदावी गर्नु भएको छ । तर सबै बीलका आधारमा दिन नमिल्ने भएपछि हामीले ४३ लाख सिफारिस गरेका छौँ,’ स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने ।

उनले औषधि उपचारमा लागेको रकम भन्दा बाँकी दिन नसक्ने बताए । ‘उहाँ सरकार ढल्न लाग्यो मेरो रकम निकास गर्नुस भनेर दिनहुँ आउनुभएको छ । तर हामीले ४३ लाख मात्रै दिन मिल्ने सिफारिस गरेका छौँ । त्यो पनि अर्थ मन्त्रालयले सहमति दिन्छ दिदैन । भन्न सक्ने अवस्था छैन,’ उनले भने । मन्त्रिपरिषदले गरेको निर्णय भएकोले औषधि उपचारमा लागेको बिलका आधारमा ४३ लाख सिफारिस गरेको लेखा शाखाका एक कर्मचारीको भनाई छ ।

कर्मचारीको कुरा सुनेपछि सोफामै ढले पासवान
आफूले निवेदनमा दावी गरे अनुसार तत्काल रकम निकास गर्न भन्दै स्वास्थ्य मन्त्रालय पुगेका पासवान कर्मचारीका कुरा सुनेपछि सोफामै ढलेका थिए ।

कर्मचारीले उपचार खर्च भन्दा बाहिरको बिल बढी आएको र रकम उपलव्ध गराउन कठिन भएको बताएपछि उनी रिगाटा लागेको भन्दै मन्त्रालयको सोफामै ढलेका थिए ।

उपचार खर्चको नाममा ७३ लाख बिल पेश गरेपनि रकम नपाउने जस्तो देखेपछि प्रेसर लो भएको भन्दै सोफामा ढल्नु भयो । मन्त्रालयका एक कर्मचारीले भने ।

  • आजको नयाँ पत्रिकामा अर्जुन अधिकारीको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *