प्रधानन्यायाधीशले तत्काल राजिनामा दिनुपर्ने डा. गोविन्द केसीको माग

काठमाडौँ, २७ माघ । बिचाराधीन मुद्धामा प्रभाव पार्ने गरी चलखेल गरेको भन्दै प्राडा गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको  राजिनामा माग गरेका छन् । त्रिवि शिक्षण अस्पतालमा आज पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रधानन्यायाधीश पराजुलीको राजिनामा माग गरेका हुन् ।

प्रधानन्यायाधीश पराजुलीका नागरिकता र प्रमाणपत्रहरु दुषित रुपमा प्राप्त भएको आरोप लगाउँदै डा. केसीले त्यसका आधारमा भएका नियुक्ति बदर गरी कानूनी कारबाही गर्न समेत माग गरेका छन् । डा. केसीले पराजुलि विरुद्धको अदालतको अवहेलना सम्वन्धी मुद्धा दर्ता गर्नुपर्ने, आफ्ना अधिवक्त सुरेन्द्र भण्डारीमाथिको धम्कीको छानवीन गर्नुपर्ने तथा नागरिकता सम्वन्धी जिल्ला प्रशासन कार्यालयसंग मागेको विवरण उपलव्ध गराउनुपर्ने माग गरेका छन ।

प्रधानन्यायाधीश पराजुली र आफूसंग जोडिएको अदालतको अवहेलना सम्वन्धी मुद्धाको पेशी आउन १० दिन बाँकी छँदा डा केसीले आज पत्रकार सम्मेलन गरेका हुन् । गत महिना प्रधानन्यायधीश पराजुली सहितको इजलाशले चार बर्ष पुरानो त्रिवि आईओएम डीनको विषयमा परेको रिटको सुनुवाई गर्दै प्राडा शशी शर्मालाई पुर्नवहाली गर्ने निर्णय गरिदिएपछि डा केसी पराजुली विरुद्ध उत्रिएका हुन् ।

निर्णय सार्वजनिक भए लगत्तै पराजुली राजिनामा माग गर्दै अनसन थालेपछि उनीमाथि अदालतको अवहेलना गरेको मुद्धा लागेको थियो । सो मुद्धामा उनी गत २४ पुसमा पक्राउ समेत परे । तर प्रारम्भिक सुनुवाई पछि २६ पुसमा रिहा भएका थिए । सोही मुद्धाको अर्को सुनुवाई आगामी ८ फागुनका लागि तोकिएको छ ।

डा. केसीले भने प्रधानन्यायाधीश पराजुलीले नागरिकता देखि प्रमाणपत्रहरु नै सक्कली भन्न नसकिएको भन्दै तत्काल राजिनामा दिन माग गरेका छन् ।

डा. केसीले उठाएका मागहरु यस्ता छन् :

  • बिचाराधीन मुद्दामा प्रभाव पार्ने गरी चलखेल गरी रहेको र अहिले पनि विवादास्पद कार्यहरु गरी रहेको हुनाले प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिनुपर्छ।
  • गोपाल पराजुलीले दुषित रुपमा प्राप्त गरेका नागरिकताका प्रतिलिपिहरु शैक्षिक प्रमाणपत्रहरु तथा तिनका आधारमा भएका नियुक्त बदर गरि उहाँलाई कानुनी कारवाही गरियोस।
  • उहाँलाई विपक्षी बनाइ ल्याएको अदालतको अवहेलना मुद्धा तत्काल दर्ता गरि कारवाही गरियोस्।
  • अधिवक्ता सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिएको विषयको उजुरीका सम्वन्धमा कल डिटेल तथा भ्वाइस रेकर्ड झिकाउने लगायतका कार्य गरि गम्भीरता पूर्वक अनुसन्धान गरियोस्।
  • उहाँको विवादित नागरिकता तथा शैक्षिक प्रमाणपत्र सम्वन्धि अभिलेखहरुको तत्काल सूचना उपलब्ध गराइयोस्।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *