सेवा प्रभावकारी बनाउन भन्दै जिल्ला अस्पतालका मेसुलाई विद्यार्थी संघको ज्ञापनपत्र


बारा, २५ माघ । कलैया अस्पतालमा प्रभावकारी स्वास्थ्य सेवा सञ्चालनको माग गर्दै नेपाल विद्यार्थी संघले ज्ञापन पत्र बुझाएको छ । बुधबार संघको केन्द्रीय र जिल्ला समितिले बुधबार बारा जिल्ला अस्पतालका मेसु डा अनुपमाकुमारी यादवलाई भेटी ज्ञापनपत्र बुझाएको हो ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सहमहामन्त्री राजेश रौनियारको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापनपत्रमा अस्पतालले प्रभावकारी सेवा दिन नसकेको उल्लेख छ । संघका सहमहामन्त्री रौनियारले केही महिनादेखि अस्पतालमा सेवाग्राहीले प्रभावकारी रुपमा सेवा पाई नरहेको गुनासो बढेपछि दबाब सृजना गर्न ज्ञापनपत्र बुझाएको बताए ।

रौनियारका अनुसार जिल्ला अस्पतालमा यतिवेला औषधि अभाव छ । प्रयोगशालामा केमिकल अभाव छ, ठूलो साइजको एक्स–रेको फिल्म अभावका कारण सेवाग्राहीले सो पाउन सकेका छैनन् ।
यस्तो अवस्थालाई तत्काल न्युनिकरण गरी अस्पतालमा अभाव रहेका सामान तथा चाँडै पूर्ति गरी जनतालाई छिटो र छरितो सेवा उपलब्ध गराउन सरोकारवालाको ध्यान जाओस् सो ज्ञापनपत्रमा भनिएको छ ।

जनताको स्वास्थ्यसँग खेल्ने अधिकार कोही कसैलाई नरहेको भन्दै ज्ञापनपत्रमा अस्पतालमा कार्यरत सबैले आफ्नो पदीय दायित्वअनुसार कामकाज अगाडि बढाई निष्ठापूर्वक सेवा प्रवाह गर्नेतिर लाग्न आग्रह गरिएको छ ।

अस्पताल जस्तो संस्थामा कोही कसैबाट राजनीति नहुनु नै राम्रो भएको हुँदा कर्मचारी राजनीतिबाट टाढा नै बस्नुपर्ने जरुरी रहेको नेविसंघद्वारा बुझाइएको सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

कुनै पनि बहानाबाट सेवालाई अवरोध गरिए त्यसमा नेविसंघ चुप लागेर नबस्ने विज्ञप्तिमा भनिएको छ । मागप्रति सुनवाइ नभए आन्दोलनमा जान बाध्य हुने र त्यसबाट सृजित समस्याको भागिदार स्वयम् अस्पतालका प्रमुख हुने ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्रमा संघका केन्द्रीय सहमहामन्त्री रौनियार सहित, बारा जिल्लाका वरिष्ठ उपाध्यक्ष जितेन्द्र यादव, जिल्ला सहसचिव हरिओम साह, सदस्यहरु विनयराज शर्मा र प्रवीण पटेलले हस्ताक्षर गरेका छन् । सो ज्ञापनपत्रको बोधार्थ नेविसंघको केन्द्रीय कार्यालय, जिल्ला प्रशासन कार्यालय, बारा र कलैया उपमहानगरपालिकाको कार्यालयलाई दिइएको सहमहामन्त्री रौनियारले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *