आगोले पोलेकालाई उपचार गर्न छँदै छैन राहत

काठमाडौँ, २४ माघ । सरकारले विभिन्न गम्भीर रोगका बिरामीलाई उपचारमा लाखौं रुपैयाँ बराबरको आर्थिक सहुलियत दिने गरे पनि आगोले पोलेर घाइते हुनेहरूका लागि भने कुनै राहत व्यवस्था गरेको छैन । यस्ता घाइतेको निस्शुल्क उपचारको व्यवस्था छैन ।

सरकारले चालु आर्थिक वर्षमा विपन्न नागरिकका लागि औषधि उपचारअन्तर्गत १ अर्ब १९ करोड ९० लाख रुपैयाँ छुट्याएको छ । यसअन्तर्गत क्यान्सर, मृगौला रोग, मुटुरोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, अल्जाइमर, पार्किन्सन, सिकल सेल एनिमिया गरी आठ रोगको उपचारका लागि १ लाख दिइन्छ ।

अझ मृगौला रोगीलाई त प्रत्यारोपण नगराएसम्म प्रतिडायलासिस २ हजार ५ सय रुपैयाँ सरकारले बेहोर्छ । प्रत्यारोपणपूर्व तयारीमा ५० हजार र प्रत्यारोपणका लागि अस्पताललाई ४ लाख दिन्छ । प्रत्यारोपणपछि औषधि खान एक लाखसमेत दिन्छ । तर आगोले पोलेर घाइते भएकाहरूका लागि नि:शुल्क उपचार उपलब्ध छैन । मुलुकमा गरिबीको रेखामुनि जीवनयापन गर्ने नेपालीमा आगोले पोल्ने स्थिति जनस्वास्थ्य समस्याकै रूपमा देखिएको छ ।

‘आगोले पोलेकाहरूका लागि नि:शुल्क उपचार वा सहुलियतको व्यवस्था छैन,’ विपन्न नागरिक उपचार कोष सचिवालयका प्रमुख डा. रामराज पन्थी भन्छन्, ‘गरिबीको रेखामुनि रहेका वर्ग र महिलामा आगोले पोल्ने समस्या बढी देखिएको छ ।’

स्वास्थ्य मन्त्रालयकै तथ्यांकअनुसार मुलुकमा बर्सेनि करिब ५६ हजार जना आगोले पोलेर सरकारी स्वास्थ्य संस्थामा पुग्ने गरेका छन् । यसमध्ये २ हजार २ सय जतिको मृत्यु हुन्छ । यसरी पोलाइबाट प्रभावित भएर आउनेमध्ये करिब दुई तिहाइ जति महिला र बालबालिका हुने गरेका छन् ।

‘यही जनवरीमा १ सय ५ जना डढेर उपचारका लागि हामी कहाँ भर्ना भएका थिए,’ नेपाल क्लेफट एन्ड बर्न सेन्टर, कीर्तिपुरका सिनियर रजिस्ट्रार डा. विशाल कार्की भन्छन्, ‘डढेकाहरू गरिब र कुनै राजनीतिक पृष्ठभूमि नभएका हुनाले उनीहरूलाई सरकारले निस्शुल्क उपचारको दायरामा ल्याएको छैन ।’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार विश्वभर बर्सेनि अनुमानित १ लाख ८० हजार जनाको मृत्यु पोलाइले गर्दा हुन्छ । यस्ता घटना न्यून र मध्यम आय भएका मुलुकमा बढी हुन्छ । पोलाइ ५ प्रतिशत अपांगताको कारकसमेत हो । ‘मुलुकमा खाना बनाउने क्रममा धेरैजसो आगोले पोलेका घटना पाइन्छन्,’ डा. कार्की भन्छन्, ‘यसबाहेक तातोपानी, तेल, झोल पदार्थले पोलेको, करेन्टलगायतको मारमा परेकासमेत छन् ।

आकलनअनुसार मुलुकमा ६० प्रतिशत आगोले पोलेको र बाँकी तातोपानी, तेल, करेन्ट आदिले गर्दा पोलाइको सिकार भएका देखिन्छन् ।
२० प्रतिशतभन्दा बढी शरीरको भाग डढेका बिरामीमध्ये कम्तीमा दुई तिहाइको मृत्यु संक्रमणले गर्दा हुन्छ । उचित उपचार नपाएर तथा औषधिको अप्राप्यताका कारण यस्तो संक्रमणले मृत्यु हुने गरेको बर्न सेन्टरका वरिष्ठ कन्सलटेन्ट प्लास्टिक सर्जन डा. किरण नकर्मी बताउँछन् ।

हाल मुलुकमा ४० प्रतिशतभन्दा बढी डढेकाहरूको प्रायस् मृत्यु हुने गरेको औल्याउँदै डा. कार्की बर्न सेन्टर आउनेको मृत्युदर पनि करीब २० प्रतिशत रहेको बताउँछन् । उनका अनुसार २० प्रतिशतसम्म डढेकाहरूको उपचारमा ५० हजारदेखि ७५ हजार, २० देखि ४० प्रतिशत डढेकाहरूको उपचारमा एक लाखदेखि डेढ लाखसम्म र ४० प्रतिशतभन्दा माथि डढेकाहरूको उपचारमा २ लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ ।

  • आजको कान्तिपुर दैनिकमा अतुल मिश्रको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *