अस्पताल आउनेमध्ये २५ प्रतिशतलाई छालाको समस्या, बढी देखिने के के हुन ?

–कल्पना पौडेल


काठमाडौँ, २१ माघ । चिटिक्क र राम्रो देखिन जो कोहीलाई मन लाग्नु स्वाभाविकै हो । सुन्दर र आकर्षक व्यक्तित्व भएको मानिसमा सबैको ध्यान जान्छ । सौन्दर्यका पारखीहरु खासगरी त्वचा अर्थात छालाको हेरचाहमा बढी सजग देखिन्छन् र यसले व्यक्तिको आकर्षक छविलाई उजागर गर्न मद्दत गर्छ ।

छालाको रङ कस्तो छ भन्नेमा भन्दा पनि कसरी उसले आफ्नो छालाको हेरचाह गरेको छ भन्ने कुराले अधिक अर्थ राख्ने चिकित्सकहरु बताउँछन् ।

नेपालमा बढी देखिने पाँच रोगमध्ये एक छालासम्बन्धी भएको छालारोग विशेषज्ञ डा. रविन्द्र बास्कोटा बताउछन् । उनी भन्छन्, “नेपालमा छाला रोगको समस्या धेरै छ । कूल जनसंख्याको २५ प्रतिशतमा कुनै न कुनै र पाँच प्रतिशतलाई कडा खालको रोग छ जसको तत्काल उपचार जरुरी छ ।”

यो रोग मौसम अनुसार पनि मानिसमा देखिन सक्छ । हिमाल, पहाड र तराईको फरक फरक भौगोलिक अवस्थामा बसोबास गर्नेहरुलाई हुने छालाको समस्या पनि फरक फरक हुन्छ । जाडो र गर्मी मौसममा छालाका फरक फरक समस्या देखापर्छन् ।

आफ्नो छालाको ख्याल राख्नु सुन्दरतासँग मात्र नभएर उसको स्वास्थ्यसँग पनि उत्तिकै जोेडिएको विषय हो भन्छिन् छालारोग विशेषज्ञ प्राडा सविना भट्टराई ।

“बजारमा पाइने महँगा क्रिम लगाएर मात्र राम्रो भइँदैन, त्यसका लागि सन्तुलित खाना, पर्याप्त पानी सेवन तथा निद्रा र नियमित व्यायाम सबै आवश्यक हुन्छ,” उनी भन्छिन्।

पछिल्लो समय शहरीकरणले उब्जाएको फोहर, धुलो, धुवाँ र प्रदूषणले छालालाई गम्भीर असर पारिरहेको छ । यसले अनेकथरि चर्मरोग बढाउने गरेको चिकित्सकको अनुभव छ । चिकित्सकहरु छालामा साधारण समस्या देखिएपनि विशेषज्ञलाई जँचाएर उचित र नियमित उपचार विधि अपनाउन सुझाव दिन्छन् । सन्तुलित र सही तरीकाले छालालाई स्याहार्न जानियो भने स्वस्थ र सुन्दर रहन सकिने डा भट्टराईको कथन छ । 

पछिल्लो समय नेपालमा स्वास्थ्य संस्थाका बहिरङ्ग सेवामा उपचारार्थ आउनेमध्ये २० देखि ३० प्रतिशत छालाका समस्याबाट पीडित हुन्छन् ।
डा बास्तोला भन्छन्, “हामीले छालाका समस्यालाई गम्भीर रुपमा नलिने गरेकाले छालामा विभिन्न एलर्जी हुने, दागधब्बा आउने, उमेरभन्दा अगावै बूढो देखिने, चाउरी पर्ने, अनुहार तथा कपाल सुक्खा हुने र छालाको सौन्र्दयपन हराएर जानेजस्ता समस्या बढ्दै गएको छ ।’’
छालाका समस्यालाई सामान्य ठानियो र समयमै सही उपचार गरिएन भने त्यसले पछि क्यान्सरको रुप लिन सक्ने खतरा पनि रहन्छ ।

“छालाको समस्या बढ्दै गएमा वा धेरै घाममा काम गर्ने व्यक्तिमा छालाको क्यान्सर देखिन पनि सक्छ,” डा भट्टराई भन्छिन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका चर्म तथा यौन रोग विभागका पूर्व प्रमुख प्राडा दिनेशविनोद पोखरेलका अनुसार वातावरणीय प्रदूषण, अस्वस्थकर खानपान र जथाभावी औषधिको प्रयोगलगायतका कारण छालाका समस्या बढेर गएको छ । उनका अनुसार दाद, संक्रमण, डण्डीफोर, चायाँपोतो, कत्ले रोग र दुबी बढी देखिने समस्या हुन् ।

पाँच मुख्य छालाका समस्या
गोलो घेरामा देखिने चिलाउने सरुवा रोग हो दाद । रोगीको कपडा प्रयोग गर्दा, सँगै सुत्दा यो रोग सर्न सक्छ । लामो समयसम्म उपचार गर्दा पनि यो रोग निको भएन भन्ने गुनासो बढी सुनिन्छ । तर राम्ररी उपचार गर्ने हो भने दाद निको हुन्छ ।

एग्जीमा पनि भनिने छालाको अर्को बढी देखिने समस्या एलर्जी हो । यो दाद जस्तो अरुलाई सर्दैन । निकै चिलाउँछ तर उपचार गरेमा निको हुन्छ । लुतो निकै चिलाउने छालाको अर्को रोग हो । यसले गर्दा मानिसलाई अरुका अगाडि बस्न समेत अप्ठयारो पार्छ । एकबाट अर्कोमा सजिलै सर्ने यो रोगले व्यक्तित्वलाई नै खराब बनाइदिन्छ । यो एक प्रकारको किटाणुबाट हुन्छ ।

किशोरावस्थामा प्रवेश गर्दै गर्दा शारीरिक परिर्वतन भई डण्डीफोर आउन सक्छ । यो अनुहार र शरीरमा पनि आउँछ र उपचार गर्दा निको हुन्छ । कसैकसैको हर्मोनमा खरावी भएर पनि यो रोग हुनसक्छ भने औषधिको असर र राम्रो हुने रहरले बजारबाट जथाभावी क्रिम किनेर लगाउने गर्नाले पनि मुखमा डण्डीफोर आउँछ । यसलाई निर्चोनु हुँदैन । यसो गर्दा अनुहारमा दाग बस्न सक्छ ।

बाँकी समस्या किटाणु वा ब्याक्टेरियाको संक्रमणका कारण उत्पन्न हुन्छ । घाउ पाक्ने, सुन्निने, दुख्ने र चिलाउने जस्ता कारण छालामा संक्रमण देखिन सक्छ ।

त्यसबाहेक शरीरभित्रैबाटै हुने समस्याले पनि जनै खटिरा, छालाका एलर्जी जस्ता छालाका समस्या निम्ताउँछ । मासुको सेवन, धुलो, अत्तर, अण्डा र गन्धको एलर्जीले छालामा समस्या हुन्छ । कसैलाई क्रिमकै एलर्जी हुनसक्छ । कसैलाई घाम र जाडोेको एलर्जी हुन्छ । यी समस्याको बेवास्ता गरियो भने त्यसले पछि ठूलो समस्या ल्याउन सक्छ ।

नेपालमा छालाको क्यान्सरका बिरामी कम देखिएपनि यो बढ्दो क्रममा छ । देशमा कति मानिसलाई छालाको समस्या छ भन्ने यकिन तथ्याँक उपलब्ध छैन ।

छालाको क्यान्सर धेरै कारणले हुनसक्छ । एउटा कारण भने घामबाट जलेर पनि हुन्छ । लामो समयसम्म सिधा घामको सम्र्पकमा रही काम गर्ने व्यक्तिलाई यस्तो समस्या हुन्छ ।

छाला स्याहार्ने विधि
सुन्दरता बढाउन र सामान्य ठानेर आफंै औषधि किनेर खाने, बजारमा पाइने जुनसुकै क्रिम र लोसन प्रयोग गर्ने बानी नबसाल्ने सुझाव चिकित्सकहरु दिन्छन् ।

छालाको ख्याल गर्न अनुहारमा सुहाउँदो घामबाट बचाउने सन ब्लक, सनस्क्रिन क्रिमहरु लगाउने, प्रशस्त पानी पिउने र छालालाई चिल्लो (मोइस्चर) बनाएर राख्ने गर्नुपर्छ । सनस्क्रिनले कति समयसम्म काम गर्छ भन्ने पनि थाहा पाउनुपर्छ । हरेक तीन घण्टाको फरकमा अनुहारको छालाको प्रकृति हेरी विशेषज्ञको सल्लाहमा सनस्क्रिम लाउनुपर्ने चिकित्सकहरु बताउँछन् ।

जाडोमा सामान्यतया छाला सुख्खा हुन्छ । जसरी शरीरलाई पानी आवश्यक हुन्छ त्यसरी नै छालालाई सुख्खा हुनबाट जोगाउन मोइस्चर दल्नुपर्छ तर, चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *