कमिसनमा अल्झिएको नेपाल रेडक्रसको ‘ब्लड बैंक’ भवन

अपराधका विभिन्न स्वरूप हुने गर्दछ । यो विविध कोणबाट विविध अवस्थाहरूमा दिग्भ्रमित मानष्पटलबाट घट्ने गर्दछ । सामाजिक परिवेश र राजनीतिक परिघटनाले यसलाई विविध नामाकरण गरिएको हुन्छ ।

यस्ता अपराधिक घटनामा सामेल हुनेहरूलाई न्याय संगत तवरले सजायको दायरामा ल्याई कारवाहि चलाईएको हामीलाई केही हदसम्म भए नी जानकारी छ ।

प्रत्यक्ष संलग्न भई गरिने अपराधिक गतिविधि र अप्रत्यक्ष तवरले सम्लग्न भई घटाईने अपराधिक गतिविधिहरू नै घटनाका मुख्य दोषी हुने गर्दछ । जुन साधारण भन्दा साधारण सर्वसाधारण ब्यक्तिहरूले बुझ्ने गर्दछ ।

आज यस्तै यस्तै प्रत्यक्ष,अप्रत्यक्ष अपराधिक घटनाहरूले हाम्रो देशमा सञ्जाल नै बनाई सकेको अवस्था छ । जसलाई राज्यले सहि तवरले कानुनी दायरामा ल्याउन सकिरहेको छैन ।

सरकारी होस या गैर सरकारी हरेक संस्था सञ्चालन गर्न ऐन, नियम कानून हुन्छ । र त्यहि अनुसार चल्नुपर्छ । नियम संगत कार्य गरेन वा भएन भने त्यो कारबाहीको भागिदार बन्छ । तर फितलो राज्य व्यवस्थाको फाइदा उठाउँदै हामीकहाँ कतिपय गैरसरकारी संस्थाले मनलाग्दी काम गरेको छ । त्यसैमध्येको एक हो नेपाल रेडक्रस सोसाइटी ।

अन्तर्राष्ट्रिय मानवीय संस्थाहरुको नाम लिँदा रेडक्रस पहिलो नम्बरमा आउँछ । तर नेपालमा भने यसको अलग्गै परिचय हुन थालेको छ ।
नेपाल रेडक्रसका जिम्मेवार पदाधिकारीहरुको जिम्मेबारहीन कार्यले रेडक्रस नेपालमा बदनाम हुन थालेको छ । यतिवेला आफ्ना बिश्व व्यापी सात सिध्दान्तहरूलाई तिलाञ्वली दिंदै नेपाल रेडक्रसले मनोगत तवरले कार्य सम्पादन गर्दै आईरहेको छ ।

रेडक्रस सोसाइटीको सर्वत्र मान्यता प्राप्त सात सिध्दान्तहरू ( मानवता,तटस्थता,एकता, स्वाधीनता,निष्पक्षता,बिश्वब्यापकता र ऐच्छिक सेवा । यिनै सात सिध्दान्तहरूमा आधारित भएर नै नेपालमा नेपाल रेडक्रस सोसाइटीद्वाराआफ्ना विविध गतिविधिहरू मानव सञ्जाल मार्फत मानव हितार्थ संचालन गरिरहेको हुनुपर्ने हो । तर नेपाल रेडक्रस सोससाइटीमा यस्तो भईरहेको छैन भन्दा गलत हुँदैन ।

नेपाल रेडक्रस सोसाइटीले विभिन्न दातृ राष्ट्रहरू र स्वदेशी सहयोग रकमबाट विविध योजना परियोजनाहरू स्थानीय तथा राष्ट्रिय स्तरमा संचालन गरिरहेको हुनसक्दछ । ती परियोजना के के हुन र कसरी सञ्चालन भएका छन् ? त्यो पनि फरक पाटो भयो । यी परियोजनाका बारेमा बेला बखतमा मिडियाहरुमा आउने समाचारले नै पनि स्पष्ट पारेको हुन्छ । तर मैले आज उठाउन खोजेको कुरा भृकुटीमण्डपमा बनाइने भनेको व्लड बैंकको कुरा हो ।

रगत बिनाको रक्त सञ्चार कल्पना समेत पनि गर्न सकिँदैन । यो रगत स्वयंसेवी रक्तदाताहरूबाट मात्र दान स्वरूप प्राप्त गर्न सकिन्छ । यिनै स्वयंसेवी रक्तदाताहरूबाट दानस्वरूप हुने रगत त्यसपछि त्यो रगतलाई परिक्षण तथा प्रशोधन गरि गुणस्तरीय तवरले बितरण गर्नका साथै अन्य कार्यहरू सम्पादन गर्न आवश्यक कार्यालयकोलागि भवनको पनि उतिकै महत्त्व हुने गर्दछ । हरेक कार्यालयहरूले आफ्नो कार्य सम्पादन गर्न कार्यालयको जोहो गर्ने क्रममा कार्यालय भवनको व्यवस्थापन गर्ने गरेकै हुन्छ ।

हो,रक्तसञ्चार सेवामा पनि आफ्नो दैनिक कार्य सम्पादन वा सञ्चालन गर्न एउटा कार्यालय भवनको जरुरी पर्दछ । त्यो सबैलाई पायक पर्ने ठाँउमा । किनभने त्यो ठाँउमा मानिसहरु रातोदिन आइजाई गरिराख्न पर्दछ ।

बिगत २०३८ सालदेखि प्रदर्शनी मार्गमा केन्द्रीय रक्तसञ्चार केन्द्र ( व्लड बैंक ) को रुपमा एउटा भवन थियो । तुलनात्मक रुपमा सो भवन र भवन भएको स्थान उपत्यका बासीलाई सबै भन्दा सेन्टर र सहज थियो । तर २०७२ साल पछि त्यस ठाँउमा न भवन छ, न रगत संकलन र वितरण हुने कार्य भईरहेको छ । अहिले त सो ठाँउ कुनै सार्वजनिक पार्किग स्थलको रुपमा परिणत भएको छ ।

विसं २०७२ साल बैशाख १२ र २९ गतेको विनासकारी भूकम्पले भूकम्पले क्षति पुर्यायो भन्दै कुनै पनि प्राविधिक जाँच परिक्षण नै नगरी एकाएक बस्न योग्य छैन भन्दै सम्पूर्ण सर(सामानहरू सहित रक्तसञ्चार सेवा भवनको प्राङ्गणबाट सेवा दिन शुरू गरिएको थियो । केही समय पछि पुलिस क्लबबाट रक्तसञ्चार सेवाका सम्पूर्ण कार्यहरू शुरू गर्न थालियो । फेरि त्यही पुरानै केन्द्रीय रक्तसञ्चार सेवाको प्राङ्गणबाट कार्य कार्य सम्पादन हुन थाल्यो ।

त्यसबीचमा विभिन्न दातृ निकायहरुले रेडक्रसलाई ब्लड बैंक स्थापना गर्न सहयोग रकम घोषणा गरे । उनीहरुको घोषणाले केही समयमै ब्लड बैँक निर्माणको प्रक्रिया शुरु हुन्छ जस्तो लागेको थियो । तर सोचे जस्तो किन हुन्थ्यो र ? बर्ष बित्यो, दुई बर्ष बित्यो, तीन बर्ष बित्न लाग्यो तर भवन निर्माणको कुनै सुरसार नै छैन ।

भृकुटीमण्डपको भवन भत्काएर व्लड बैंक भौगोलिक रुपमा अत्यन्तै अपायक पर्ने बालकुमारीमा सारियो । यसले रगत लिन जाने विरामीका आफन्त र रगत दिन जाने स्वयंसेवी रक्तदाताहरुलाई हैरानी बनाइरहेको छ । तर भ्रष्ट मानसिकता बोकेका रेडक्रसका अधिकारीहरुलाई सो हैरानीले किन छोओस ? उनीहरु त भवन बनाउँदा कति फाइदा हुन्छ ? नबनाउँदा कति फाइदा हुन्छ भन्ने हिसावमै मस्त छन् ।

भूुकम्पले क्षति पुगेको भन्दै भृकुटी मण्डपको भवन बन्द गरे लगत्तै थाई रेडक्रसले उतीबेला नै नयाँ भवन बनाइदिने घोषणा गरेको थियो । तर ठेक्का पट्टा कमिसनको जोड घटाउमा तल्लिन पदाधिकारीहरुले अहिलेसम्म काम अघि बढाएका छैनन् । के अब यिनीहरुको जोड घटाउ नमिल्दा विरामीका आफन्त र स्वयंसेवी रक्तदाताहरुले यसैगरी दुख पाउने हो ?

# कर्माचार्य स्वयंसेवी रक्तदाता सामाजका केन्द्रीय अध्यक्ष हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *