चट्टान मुनिको ठूलो अस्पताल माथि शक्तिशाली हवाई हमला

बीबीसी सिरियाको विद्रोही नियन्त्रित क्षेत्रस्थित चट्टानको २० मिटर तल बनेको एउटा अस्पतालमा शक्तिशाली हवाई हमलाले क्षति पुर्याएको अस्पतालका स्रोतहरूले बताएका छन्।

हामा प्रान्तस्थित उक्त अस्पताल देशको सबैभन्दा संरक्षित अस्पताल मानिन्थ्यो जहाँको सेवा बिहीवार यता अवरुद्ध भएको उनीहरूले बताएका छन्।

उक्त हमलामा कुनै हताहती भएको छैन तर सहायताकर्मीका अनुसार सिरियाको अस्पतालमा भएको हमला मध्येको यो सबैभन्दा खराब हो।यसैबीच संयुक्त राष्ट्रसंघले सिरियाको घेराबन्दीमा रहेको क्षेत्रमा सहायता पुग्न नसकेको जनाएको छ।

प्रहार
काफ्र जिटा नगरमा रहेको उक्त अस्पताललाई बिहीवार पाँचवटा क्षेप्यास्त्रले प्रहार गरेको औषधी उपचारसम्बन्धी परोपकारी अन्तर्राष्ट्रिय संगठन युनियन अफ मेडिकल केयर एण्ड रिलिफ अर्गनाइजेसन (युओएसएसएम) ले बताएको छ।

युओएसएसएमका प्रवक्ता अभि डि सुजाले बीबीसीलाई भने, ‘यो अस्पताललाई सिरियाकै सबैभन्दा सुरक्षित अस्पताल ठानिन्थ्यो।’

विमानहरू आउँदै गरेको थाहा पाएपछि अस्पतालका कर्मचारी र विरामीहरूलाई सुरक्षित कोठामा सारिएकोले कुनै हताहती नभएको देखिएको उनले बताए।

५० हजार विरामीलाई हेर्ने र एक महिनामै करिब १ सय ५० वटा ठूला अपरेसनहरू हुने उक्त अस्पतालमा ठूलो क्षति पुगेको उक्त समूहले बताएको छ।

जनवरीमा मात्रै सिरियामा औषधोपचार उपलब्ध गराउने अस्पतालहरूमा १४ पटक हमला भएको समूहले जनाएको छ।

‘साढे दुई लाखभन्दा बढी सिरियाली विस्थापित’

पछिल्लो हमला कसले गराएको भन्ने स्पष्ट छैन तर सिरिया सरकारका युद्धविमान अथवा उसको रूसी साझेदारहरू विद्रोही नियन्त्रित क्षेत्रमा प्रवेश गरेका छन्। रूस र सिरिया दुवैले सर्वसाधारणलाई लक्षित गरेको भन्ने आरोपहरू निरन्तर रूपमा अस्वीकार गर्दै आएका छन्।

यसैबीच, संयुक्त राष्ट्रसंघले सन् २०१५ यता सिरियाले सबैभन्दा खराब मानवीय संकटको सामना गरिरहेको जनाएको छ।

एकजना वरिष्ठ अधिकारी यान एगल्याण्डले नोभेम्बरको अन्त्ययता घेराबन्दीमा रहेको क्षेत्रहरूमा सर्वसाधारणका लागि एकपटक पनि सहायता सामग्री पुग्न नसकेको बताए।

उनले त्यहाँ रहेका लाखौं मानिसहरूलाई सहायता सामग्रीको चरम आवश्यकता रहेको पनि बताए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *