सामान्य स्वास्थ्य समस्या हुँदा यसरी गर्न सकिन्छ घरेलु उपचार

डा. राजेन्द्र गिरी

जमाना यलोपेथिककै हो तर अहिले पनि अधिकांश नेपालीले साना तिना स्वास्थ्य समस्या घरेलु उपचारबाट नै पार लगाउने कोशिश गरिहेका हुन्छन् । सहज स्वास्थ्य पहुँचको कमीका कारण होस वा घरेलु तथा आयुर्वेदिक उपचार पद्धती प्रतिको विश्वासका कारण हाम्रा परम्परागत चिकित्सा पद्धती अहिले पनि यथावत छ ।

हुन पनि शहर भन्दा पर बस्ने जनताले खोजेको बेलामा तुरुन्तै एलोपेथिक वा आयुर्वेदिक औषधि पाउन सक्दैनन् । त्यसैले यस्तो बेलामा विकल्प भनेकै घरेलु उपचार हो । अर्थात हाम्रा पुर्खाले प्रयोग गर्दै आएको जडिबुटीलाई औषधिको रुपमा प्रयोग गर्न सकिन्छ ।

कब्जियत भएमा : हर्रो बर्रो र अमलाबाट निर्मित त्रिफला चूर्ण ३ देखि ६ ग्राम राती सुत्ने बेलामा मन तातो पानीसंग खाँदा फाइदा गर्छ ।

झाडा पखला लागेमा : बेलको काँचो फलको गुदीलाई आगोमा पकाएर महसंग पाउडर (चूर्ण) ३ देखि ६ ग्राम, रस १० देखि २० मिलिग्राम खानाले दिसाको साथमा रगत आउने, रगतमासी एवं अर्शमा समेत हितकर हुन्छ । साधारण झाडापखलामा जिराको धुलो ३ ग्राम प्रयोग गर्न सकिन्छ ।

वाक वाकी एवं बान्ता भएमा :  वाक वाकी, उल्टी अर्थात बान्ता हुने समस्याको समाधान गर्न दाल चिनि वा सुकमेल प्रयोग गर्न सक्छ । शुद्ध दालचिनि वा सुकमेलको धुलो १–३ ग्राम प्रयोग गर्न सकिन्छ । यो समस्याको लागि अदुवाको रस वा सुकेको अदुवाको धुलो पनि प्रयोग गर्न सकिन्छ ।

पेट दुखेमा वा पेटमा ग्यास भरिएमा :  ज्वानो धुलो ३—५ ग्राम प्रतिदिन दुई पटक कुनै खाना वा अन्य पेय पदार्थमा राखेर प्रयोग गर्न सक्नु सकिन्छ । पुदिनाको स्वरस १०–२० मिलि लिटर र लेदो १–३ ग्राम प्रयोग गर्न सकिन्छ । बोझो चूर्ण एबं धुलो १२५ देखि ५०० मिलिग्राम र टुक्रा ५०० मिलिग्राम प्रयोग गर्न एवं चुस्न सकिन्छ । टिमुरको धुलो अजीर्ण र ग्यास हटाउन १ देखि २ ग्राम साँझ बिहान प्रयोग गर्दा फाइदा गर्छ । बच्चाहरूको साधारण पेट दुखाईमा, अजिर्ण, अरूचि रोगमा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिंदा फाइदा हुन्छ ।

ग्याष्ट्रिक (अम्लपित्त भएमा) :  अमला मेथी, कुरिलो जराको धुलो, जेठी मधुको वा यी मध्ये कुनै एक जडिबुटीको धुलो अम्लपित्त भएको अवस्थामा ३ ग्रामसम्म साँझबिहान प्रयोग गर्दा उपयोगी हुन्छ । आयुर्वेदिक औषधि अभिपत्तिकर चुर्ण ३ देखि ६ ग्राम साँझ बिहान प्रयोग गर्न सकिन्छ ।

रुघाखोकी लागेमा : असुरोको पात वा फुलको रस १० देखि मिलि लिटर, र सुपको रुपमा ४० देखि ८० मिलि लिटर प्रयोग गर्न सकिन्छ । ताजापातको रस निचोरेर मह वा अदुवाको रससँग मिलाएर खाने गर्दा पुरानो खोकीको लागि उपयोगि हुन्छ । रुघाखोकी लाग्दा ज्वानोको झोल बनाएर खाने चलन पनि छ किन कि खकार निकाल्न यसले मद्दत गर्छ । अदुवाको धुलो २ देखि ३ ग्राम दिनको दुईपटक श्वास प्रश्वास समस्याहरुमा प्रयोग गर्न सकिन्छ । सफा तुलसीको पातलाई पिनेर प्राप्तहुने रस (५–१० मि.लि.) मा मह मिसाएर दिनको २ देखि ३ पटक सेवन गर्दा सर्दि, खोकी, रूघा, निमोनिया, दम, आदिमा प्रभावकारी हुन्छ ।

रक्तचाप बढेमा :  जटामसी वा निम वा सर्पगन्धा जडिबुटीको धुलो १ देखि ३ ग्राम साझ बिहान प्रयोग गर्दा फाईदा गर्छ । लसुनको लेदो १ देखि २ ग्राम नियमित सेवनगर्दा रक्तचाप घटाउन फाइदा गर्छ ।

मधुमेह (चिनिरोग बढेमा) : चिनी रोगीहरुले मेथीको रस खाने बानी गर्ने । मधुमेह तथा पिसाब सम्बन्धी रोगमा तुलसीको बिजलाई पिसेर तयार गरिएको लेदोलाई १–३ गा्रम सम्म दिनमा २ पटक सेवनगर्दा पनि फाइदा गर्छ । गुर्जोको लहरा, तेजपात, बेसार आदिको धुलो ३ ग्राम सम्म नियमित रुपमा प्रयोग गर्दा फाइदा हुन्छ ।

तर कुनै जटिल स्वास्थ्य समस्या आउँदा र औषधि किनेर सेवन गर्नुपर्दा चिकित्सक एवं स्वास्थ्यकर्मीहरु संग सल्लाह गर्न जरुरी छ । आयुर्वेदिक औषधिहरु प्रयोग गर्दा खानपानलाई पनि ध्यानदिनु जरुरी छ । मधुमेह, रउच्च रक्तचाप र अन्य दीर्घ रोगीहरुले आहार विहारलाई ध्यान नराखी औषधि वा जडिबुटीको धुलो मात्र सेवनगर्दा प्रभावकारी हुदैन । जडिबुटीको विश्वासमा परेर धेरै दिनसम्म खुला रहेका, म्याद नाघेका र गन्ध एवं स्वाद बिग्रेका प्रयोग गर्दा झन स्वास्थ्यलाई असर पार्ने हुदा सो बारे पनि सचेत हुनु जरुरी छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *