विभिन्न जिल्लामा देखिएको ‘एच थ्री एन टू’ भाइरस के हो ? यो कति खतरनाक छ ?

डा. शेरबहादुर पुन

विश्वमा अहिले ‘एच थ्री एन टू (H3N2)’  भाइरसको त्रास बढ्दो छ। पश्चिमा देशहरुमा हाल यो भाइरस द्रुत गतिमा फैलदो क्रममा छ। यतिवेला यो भाइरसबाट लाखौँ मानिसहरु प्रत्यक्ष  रुपमा यसबाट प्रभावित भैरहेका छन् भने मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा देखिएको छ ।

केहि समय अगाडी ‘एच थ्री एन टू (H3N2) भाइरसले अष्ट्रेलियामा ठुलो संख्यामा मानिसहरुलाई संक्रमित गरेको थियो जुन गएको पछिल्लो बर्षहरु भन्दा साढे दुइ गुणा बढी थियो। र, मृत्यु हुनेहरुको संख्या पनि अप्रत्यासित रुपमा बढेको पाहिएको थियो।

सामान्य त ‘एच थ्री एन टू (H3N2) भाईरस विरुद्धका लागि उपलव्ध खोपले ४० देखि ६० प्रतिशत काम गर्ने हो । तर, हाल उपलब्ध यो भाइरस विरुद्धको खोपको प्रभावकारिता अत्यन्त न्यून (१० प्रतिशत) रहेको पाहिएको थियो।

यही फ्लु हाल बेलायत पुगिसकेको छ । त्यहाँ यसले ५० बर्ष यताकै ठुलो प्रकोपको रुपमा लिने अनुमान गरिएको छ । अमेरिकामा पनि ‘एच थ्री एन टू (H3N2) भाइरसले  ठुलो प्रकोपको रुप लिरहेको देखिन्छ।

डरलाग्दो कुरा त के छ भने अमेरिकी बैज्ञानिकहरु यो पटकको फ्लु अनुमान गरे भन्दा अगाडी सुरु भएको र फ्लु प्रकोपको उच्चतम बिन्दु आउँन अझै बाँकी रहेको  बताउँछन् । उनीहरु यतिवेला अरु मानवीय क्षति हुनसक्ने सम्भावनालाई लिएर चिन्तित देखिन्छन् ।

यो ‘एच थ्री एन टू (H3N2) भाइरसले गर्दा सन् २०१४/२०१५ मा अमेरिकामा ठुलो संख्यामा बिरामीहरु अस्पताल भर्ना हुनु परेको र त्यसैको अनुपातमा मृत्यु समेत गराएको तथ्यांक छ। तसर्थ ‘एच थ्री एन टू (H3N2) भाइरसलाई अरु फ्लु भाइरसको दाजोमा बढी प्राणघातक हुनेमा बैज्ञानिकहरु सहमत देखिन्छन् । त्यसैको परिणाम स्वरुप थप आतंकित भएको देखिन्छ।

नेपालमा पनि हालैका दिनहरुमा खासगरी दुर्गम गाँउहरुमा भाइरल ज्वरोले दर्जनौको ज्यान लिएको र हजारौ संक्रमित भई बिरामी भएको सार्बजनिक भएको छ।

कतिपय स्थानमा रोग पहिचान गर्ने क्रममा भाइरल ज्वरो ‘एच थ्री एन टू (H3N2)’ भाइरसको कारणले भएको पुष्टि भैसकेको छ। नेपालमा पनि यो प्रकोप उच्चतम बिन्दुमा पुग्न बाँकी नै रहेको बेला यो भाइरस कहाँ फैलिदै जाला र के कति मानवीय क्षति पुराउने छ भनेर अनुमान गर्न सजिलो देखिदैन।

‘एच थ्री एन टू’ भाइरस के हो ?

‘एच थ्री एन टू (H3N2) भाइरस इन्फ्लुएन्जा भाइरस अन्तर्गत पर्ने भाइरस हो। इन्फ्लुएन्जालाई छोटोमा फ्लु भन्ने पनि गरिन्छ। फ्लु खासगरी ‘ए’, ‘बी,’ ‘सी’ र ‘डी’ गरि चार प्रकारका हुन्छन।

यसमा ‘डी’ बाहेक सबै भाइरसले मानिसलाई संक्रमण गर्ने भएता पनि ‘ए’ र ‘बी’टाइप भाइरसहरुले खासगरी मानिसलाई बिरामी बढी मात्रामा गराउने गर्दछ।

तसर्थ यी दुई टाइपका भाइरसहरुको बढी मात्रामा अध्ययन् अनुसन्धानहरु पनि भएका छन्।’ए’ र ‘बी’ टाइप भाइरसमा पनि ‘ए’ हरेक फ्लु सिजनमा व्यापक मात्रामा देखिने गर्दछ। यही ‘ए’ टाइप अन्तर्गत ‘एच थ्री एन टू’ इन्फ्लुएन्जा भाइरस पर्ने गर्दछ।

यसै ‘ए’ टाइप अन्तर्गत अरु प्रजातिहरु जस्तै ‘एच वान एन वान’ (पहिले स्वाइन फ्लु भनेर चिनिने), एच फाइब एन वान (बर्ड फ्लु), एच टु एन टु ( एसियन फ्लु), एच सेभेन एन नाइन ( मानिसमा सर्ने बर्ड फ्लु) आधी पर्ने गर्दछ।

‘एच थ्री एन टू (H3N2)’  इन्फ्लुएन्जा भाइरसले धेरैलाई अस्पताल भर्ना गराउनु र अरु भाइरस प्रजाति भन्दा बढी घातक हुनु वा हुँदै जानु नै बैज्ञानिक तथा नीति निर्माताहरुको लागि टाउको दुखाई को विषय भएको देखिन्छ। खोपको प्रभाबकारिता यो सिजनमा झनै खस्कदै गर्दा अझ थप अरु चिन्तित तुल्याएको देखिन्छ। तर पनि खोप लगाउन र बच्ने उपायहरु अपनाउन सबैलाई सुझाब दिइएको छ।

यसबाट मानवीय क्षतिलाई धेरै न्यून गर्न सकिने छ। हामीले पनि फ्लु विरुद्धको खोप लगाउने र बच्ने उपायहरु अपनाउँन सके यसको प्रकोपबाट हुन् सक्ने क्षतिलाई धेरै हदसम्म न्यून गर्न सकिने छ।

जोखिम समूह को को हुन् ?

‘एच थ्री एन टू (H3N2) इन्फ्लुएन्जा भाइरसले बिशेष गरि जेष्ठ नागरिक (६५ बर्ष माथिका), ५ बर्ष बर्ष मुनिका बालबालिका र श्वासप्रश्वासका बिरामी (खासगरी दमका बिरामी) हरुलाई बढी मात्रामा मृत्यु गराई रहेको तथ्यांक आएको छ । त्यसकारण यी समूहका मानिसहरु विशेष चनाखो हुनु पर्दछ र संक्रमणको शुरुवाती अवस्थामा नै स्वास्थकर्मीहरुको सल्लाह लिई उपचार वा सावधानी अपनाउनु पर्दछ।

हाल नेपालमा पनि ‘एच थ्री एन टू (H3N2) भाइरस द्रुत गतिमा फैलदै गरेको र अरु केहि हप्ता फैलने भएकोले विशेष सतर्कता अपनाउनु नै उत्तम विकल्प हुनेछ। ‘एच थ्री एन टू (H3N2) भाइरसलाई नेपालमा विगत केहि वर्ष यता ‘हङकङ फ्लू’ को नामले बढी चिनिने गरेको छ।

# डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *