गणतन्त्र दिवसको अवसरमा भारतीय दूतावासद्वारा दुई एम्बुलेन्स सहयोग

म्याग्दी, १३ माघ । काठमाडौँ स्थित भारतीय दूतावासले म्याग्दीमा दुई वटा एम्बुलेन्स सहयोग प्रदान गरेको छ ।

भारतको ६९ आँै गणतन्त्र दिवसको अवसरमा अन्नपूर्ण गाउँपालिका र नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा म्याग्दीलाई दूतावासले एम्बुलेन्स उपलब्ध गराएको हो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन र रेडक्रशका शाखा सभापति लेखबहादुर हमाललाई दूतावासमा आयोजित कार्यक्रममा एम्बुलेन्स हस्तान्तरण गरिएको थियो ।

दुई वटामध्ये एउटा अन्नपूर्ण गाउँपालिकाले उत्तरी क्षेत्र तथा अर्को रेडक्रशले बेनी आसपास र पश्चिमी क्षेत्रमा सेवा दिने गरी सञ्चालन गर्ने जनाइएको छ । भारतीय सेनाका सेवा निवृत्त क्याप्टेन रहका गाउँपालिका अध्यक्ष पुनले एम्बुलेन्सका लागि दूतावासमा पहल गरेका थिए ।

ग्रामीण क्षेत्रका सर्वसाधारण एम्बुलेन्स सुविधाको अभावमा समयमै अस्पताल पुग्न नपाउने र महँगो खर्च गर्नुपर्ने समस्या रहेकाले उनीहरुलाई राहत पुगोस् भनेर एम्बुलेन्स सञ्चालन गर्न लागिएको अध्यक्ष पुनले बताए ।

अन्नपूर्ण गाउँपालिकामा रहेका भूपू सैनिकलाई समेटेर समिति गठन गरी सोही समितिमार्फत एम्बुलेन्स सञ्चालन गरेर सेवा दिने पुनले बताउनुभयो । हाल म्याग्दीमा एउटा बेनी अस्पतालको मात्र एम्बुलेन्स सञ्चालनमा छ ।

मोना बेलायतले नेपाल रेडक्रश सोसाइटी भुरुङ तातोपानी उपशाखा र जिल्ला शाखालाई उपलब्ध गराएको दुई वटा एम्बुलेन्स मर्मत अभावमा थन्किएका छन् भने दरवाङ उपशाखाको एम्बुलेन्स चालक अभावमा प्रयोगमा आउन सकेको छैन । बिरामी महँगो भाडामा ट्याक्सी चढेर अस्पताल पुग्ने गरेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *