सामुदायिक स्वास्थ्य एकाइ स्थापना

म्याग्दी, ६ माघ । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको आर्वाङमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ ।

भौगोलिक विकटताका कारण वडामा रहेको स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्योपचार सेवा प्राप्त गर्नबाट असुविधा भोग्दै आएका आर्वाङका बासिन्दाको सुविधाका लागि गाउँपालिकाको पहलमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको हो ।

आर्वाङस्थित गाउँघर क्लिनकको भवनमा स्थापना भएको सामुदायिक स्वास्थ्य एकाइको शुक्रबार धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्दै दुर्गम क्षेत्रका बासिन्दाले गाउँमै सहज र सर्वसुलभरुपमा स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन स्वास्थ्य एकाइ स्थापना गरिएको बताइन् ।

स्वास्थ्य एकाइ सञ्चालनका लागि गाउँपालिकाले एक जना अहेबको व्यवस्था गरेको छ भने जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क वितरण हुने औषधि र उपचार सहयोगी सामग्री सहयोग गरेको छ ।

सामुदायिक स्वास्थ्य एकाइबाट साविक मराङ गाविसको ६ र ७ वडाका १२० घरधुरीमा बसोबास गर्ने करिब ८०० जनसंख्या लाभान्वित भएको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए ।

यसअघि आर्वाङका बासिन्दा सामान्य बिरामी पर्दा दुई घण्टाभन्दा बढी पैदल हिँडेर मराङस्थित स्वास्थ्य चौकीमा पुगेर सेवा लिने गरेका थिए । एकाइबाट स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण र परामर्श सेवा दिइने भएपछि स्थानीय बासिन्दा खुशीले गद्गद् भएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *