भाइरल पत्ता लगाउन नमूना संकलन

भोजराज कार्की / सोलुखुम्बु, ६ माघ । महाकुलुङ गाउँपालिका वडा नं २ का भाइरल प्रभावित ४५८ जनाको उपचार गरिएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डा सन्डु शेर्पासहितको टोलीले आइतबारदेखि शुक्रबारसम्म गरी ४५८ जनाको उपचार गरेको हो । जिल्ला स्वास्थ्य कार्यालयबाट प्रभावित क्षेत्रमा पुगेको ¥यापिड रेसपोन्स टिमका सम्पर्क व्यक्ति स्वास्थ्य सहायक कुमार केसीले बिरामीको अवस्था सुधारोन्मुख रहेको जानकारी दिए । अहिले घरघरमा पुगेर बिरामीको अवस्था बुझ्ने काम भइरहेको छ ।

शुरुमा बालबालिका बढी प्रभावित भएको भाइरलबाट अहिले अभिभावक बढी प्रभावित बनेका छन् । नब्बे प्रतिशत अभिभावक प्रभावित बनेको पाइएको स्वास्थ्य सहायक केसीले बताए । उनले भने, “सबै बिरामीमा देखिएको लक्षणका आधारमा उपचार भइरहेको छ ।” उक्त गाउँमा हरेक घरमा सुँगुर र कुखुरापालन हुने गरेको र केही दिनअघि सुँगर र कुखुरा बिरामी भएर मरेकाले त्यसबाट स्वाइनफ्लुको भाइरस फैलिएको आशंका गरिएको हो । बिरामीमा उच्च ज्वरो आउने, खोकी लाग्ने, झाडाबान्ता हुने र टाउको दुख्ने लक्षण देखिएको छ । पूरै टोलमा भाइरल फैलिएपछि स्थानीय नागरिकमा त्रास उत्पन्न भएको छ ।

पेल्माङमा फैलिएको भाइरल पत्ता लगाउन शुक्रबार नै नमूना संकलन गरिएको छ । आज नै काठमाडौँ पु¥याएर प्रयोगशाला जाँच गरेपछि भाइरसबारे पत्ता लाग्ने र स्वायनफ्लु भए/नभएकोबारे यकीन गर्न सकिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा मिङ्मारछिरिङ शेर्पाले जानकारी दिए।

मंगलबारदेखि शुक्रबारसम्मका लागि बन्द पेल्माङ आधारभूत विद्यालय आइतबारदेखि सञ्चालन गर्ने/नगर्ने भन्ने विषयमा विद्यालय व्यवस्थापन समितिको बैठक बसेर निर्णय गरिने विद्यालयका प्रअ टंकबहादुर दाहालले जानकारी दिए । उनले भने, “गाउँमा भाइरल प्रकोप फैलिएपछि विद्यार्थीको पढाइमा असर पुगेकाले कसरी अतिरिक्त कक्षा सञ्चालन गर्न सकिन्छ भन्नेबारे छलफल गरेर निष्कर्षमा पुग्नेछौँ ।”

महाकुलुङमा फैलिएको भाइरलका कारण यसअघि नै दुई जनाको मृत्यु भइसकेको छ । अहिले भाइरलको प्रकोप सामान्य रुपमा नियन्त्रण हँुदै गएकाले नआत्तिन चिकित्सकले आग्रह गरेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *