‘किशोरावस्था अब २४ वर्षसम्म’

बीबीसी  वैज्ञानिकहरूले किशोरावस्थाको अवधि बढ्दै गएको र अब त्यो १० देखि २४ वर्षसम्म रहन थालेको बताएका छन्। उनीहरूले सरकारका नीति र कानूनलाई समयानूकुल बनाउन किशोरावस्थाको परिभाषामा परिमार्जन आवश्यक रहेको उल्लेख गरेका छन्।

अनुसन्धानकर्ताहरूले पोषणमा आएको सुधारका कारण किशोरावस्था शुरू हुने उमेर अझ कम भएको निष्कर्ष निकालेका छन्। २० वर्षको उमेरपछि पनि मस्तिष्कको विकासक्रम जारी रहेकाले किशोरावस्थाको अधिकतम उमेर सीमा पनि बदलिनुपर्ने उनीहरूको भनाइ छ।

किशोरावस्था कहिले शुरू हुन्छ ?

हाइपोथालामस भनिने मस्तिष्कको एउटा हिस्साले मानिसको पियुस र यौन ग्रन्थीहरूलाई क्रियाशील बनाउन हर्मोनहरू उत्पादन गर्न थालेपछि किशोरावस्था शुरु हुने विश्वास गरिन्छ। यो पहिला १४ वर्षको उमेर आसपास शुरु हुने गर्थ्यो।

तर स्वास्थ्य र अधिकांश विकसित देशमा पोषणमा आएका सुधारका कारण अब त्यो विकासक्रम १० वर्षको उमेरमा नै शुरु हुन थालेको वैज्ञानिकहरू बताउँछन्।

परिणाम स्वरुप ब्रिटेन जस्ता औद्योगिक राष्ट्रहरूमा किशोरीहरूको पहिलो महिनावारी हुने औसत उमेर विगत डेढ सय वर्षमा चार वर्षले घटेको छ।

अहिले कूल बालिकाको आधा संख्याको पहिलो महिनावारी १२ वा १३ वर्षको उमेरमा शुरु भइसक्छ।

शरीरको विकासक्रम कुन उमेरबाट रोकिन्छ ?

किशोरावस्थाको उमेरको सीमा किन बढाइनुपर्छ भन्नेमा पनि वैज्ञानिकहरूले तर्क दिएका छन्। उनीहरूले शरीरको विकासक्रमलाई ध्यान दिएर त्यसो गर्नु आवश्यक रहेको बताएका छन्।

उदाहारणका लागि, मस्तिष्क २० वर्षको उमेरभन्दा बढी समयपछि पनि विकास भइरहन्छ र त्यसबेला पनि द्रुत र अझ प्रभावकारी रुपमा काम गरिरहन्छ। कतिपय व्यक्तिका बुद्धिबङ्गारो २५ वर्षसम्म पनि नआउने वैज्ञानिकहरू बताउँछन्।

युवा उमेरका मानिसहरूले लामो समयसम्म शिक्षालाई निरन्तरता दिएको, बिहे ढिला गर्न र सन्तान अलिपछि जन्माउन थालेको लगायतले विगतमा किशोरावस्था भनेर भनिने गरिएको उमेरमा परिमार्जन ल्याएको बताइन्छ। ‘ल्यान्सेट चाइल्ड एण्ड एडोलेसेन्ट हेल्थ’ जर्नलमा प्रकाशित लेखले पछिल्लो खुलासा गरेको हो।

तर कतिपय विज्ञहरूले चाहिँ किशोरावस्थाको परिभाषा परिमार्जन गर्दा त्यसले कम उमेरका मानिसहरूलाई लामो समय बाल्य अवस्थामै राख्न सक्ने चेतावनी दिएका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *