‘क्यान्सरका बिरामीलाई कि नि:शुल्क उपचार कि त चाहियो पाँच लाख’

काठमाडौँ, ४ माघ । क्यान्सरको विरामीलाई निशुल्क उपचारको व्यवस्था गर्न वा उपचार सहुलियत पाँच लाख उपलव्ध गराउन सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

सरकारले अहिले विपन्न नागरिक उपचार कोषबाट क्यान्सरका विरामीलाई एक लाख रुपैयाँ उपचार खर्च दिदै आएको छ । यस्तै भर्खरैमात्र उपचार गराइरहेका विरामीलाई प्रतिमहिना ५ हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

आज देखि शुरु भएको अन्तराष्टिय क्यान्सर सम्मेलनको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्य मन्त्री दीपक बोहराको ध्यानाकर्षण गराउँदै क्यान्सर रिलिफ सोसाइटीका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले भने, ‘प्रधानमन्त्री ज्यू स्वास्थ्य मन्त्री ज्यू यहि हुनुहुन्छ, क्यान्सरका विरामीलाई दिइएको उपचार खर्च निक्कै कम छ, कि त निशुल्क उपचारको व्यवस्था गर्नुपरयो होइन भने कम्तीमा पाँच लाख त उपलव्ध गराउनुपरयो ।’

सो मागको बारेमा प्रधानमन्त्री देउवाले केही उल्लेख गरेनन तर स्वास्थ्य मन्त्री दीपक बोहराले श्रेष्ठको माग आफूहरुको नोटिसमा परेको भन्दै भने, ‘यसबारेमा छलफल हुनेछ ।’

प्रधानमन्त्री देउवाले भने क्यान्सर, मिर्गौला फेल भएका र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका विरामीलाई नेतृत्वको सरकारले जीवन निर्वाह भत्ता उपलव्ध गराएको बताए । नसर्ने रोगको जोखिम न्युनिकरण गर्नु यतिवेलाको आवश्यकता रहेको भन्दै सरकार त्यसका लागि हातेमालो गरी अघि बढन चाहेको बताए ।

स्वास्थ्य मन्त्री बोहराले सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि करको दरमा बृद्धि गर्नुपर्ने आवश्यकता देखिएको भन्दै त्यसका लागि सरकारले आवश्यक नीति लिने बताए ।

पूर्व स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललले नेपालमा सर्ने रोग निमिट्यान्न नभएको र नसर्ने रोगको जोखिम बढदै गएको अवस्थामा सरकार र सरोकारवाला दुवैपक्ष हातेमालो गरी अघि बढ्नुपर्ने बताए ।

आज देखि तीन दिन चल्ने सो सम्मेलनमा १५देशका २५० जनाको सहभागिता रहेको छ । कार्यक्रममा २८ वटा विदेशी र २५ वटा नेपाली क्यान्सर विज्ञहरुको मुख्य प्रस्तुति रहने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *