पाल्पामा स्वास्थ्य बीमामा आवद्ध हुनेको संख्या पचास हजार पुग्यो


पाल्पा, २ माघ । पाल्पामा स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनेको संख्या ५० हजार नाघेको छ । जिल्लामा अहिलेसम्म १४ हजार बढी घरपरिवार स्वास्थ्य बीमा कार्यक्रमका आवद्ध भएका छन् ।

आर्थिकरुपमा विपन्न र गरिब समुदायका बिरामीको गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यका साथ पाल्पामा २०७३ साल देखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

सामाजिक सुरक्षा विकास समिति पाल्पाका सम्पर्क अधिकृत गौरिशंकर सिंहका अनुसार स्वास्थ्य मन्त्रालयद्वारा लागू गरिएको स्वास्थ्य बीमा कार्यक्रमबाट रु तीन करोड ५० लाख राजश्व संकलन भएको छ ।

स्वास्थ्य बीमा गरेका व्यक्तिले जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पतालसँगै प्राथमिक स्वास्थ्य केन्द्र ताहु, खस्यौली, युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजबाट स्वास्थ्य सेवा लिइरहेका छन् ।

पाँच जनाको परिवारका सदस्यले वार्षिक रु दुई हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी भएकाको हकमा प्रतिसदस्य रु ४२५ का दरले शुल्क बुझाउनुपर्ने हुन्छ । एक वर्षका लागि बीमा गरेका व्यक्तिले वार्षिकरुपमा रु ५० हजारसम्म उपचार खर्च निःशुल्क पाउने व्यवस्था छ ।

स्वास्थ्य बीमाका कारण नियमितरुपमा औषधि सेवन गर्ने दीर्घ रोगीका लागि अत्यन्त सहज भएको रैनादेवी गाउँपालिका– ६ छहराकी दमयन्ती रानाले बताइन ।

स्वास्थ्य बीमा गरेपछि बहिरंग, प्रसूति, एक्स–रे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउण्ड, इण्डोस्कोपी, फिजियो थेरापी, मधुमेह, आँखा सेवालगायत ३२ किसिमको सेवा प्रवाह गरिने बताइएको छ । स्वास्थ्य बीमाका लागि बीमाकर्ताले घरघरमा पुगेर सेवा प्रदान गर्दै आएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *