आयुर्वेद अनुसन्धान केन्द्रमा शुरु भयो ‘स्वस्थ जीवनशैली परामर्श क्लिनिक’


काठमाडौँ, १ माघ । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले आजबाट योग तथा पुनः स्थापना सहितको ‘स्वस्थ जीवनशैली परामर्श क्लिनिक’ शुभारम्भ गरेको छ ।

बिरामीलाई आयुर्वेद अनुरुपको निवारण रोकथाम र पुनः स्थापना चिकित्सासहितका सेवा प्रदान गर्न उक्त केन्द्रले क्लिनिक सञ्चालन गरेको हो ।

राष्ट्रिय योग दिवस–२०७४ को अवसरमा आज केन्द्र परिसर कीर्तिपुरमा आयोजित कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्लिनिक सञ्चालन भएको घोषणा गर्दै स्वस्थ जीवनशैलीबाटै स्वस्थ राष्ट्र निर्माण हुने बताए ।

उनले नेपालमा जटीबुटी, योगसाधनको प्रशस्त सम्भावना भएर पनि राजनीतिक अस्थिरताका कारण त्यसतर्फ ध्यान जान नसकेको भन्दै अब सो समस्या हटने बताए । उनले राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई सातै प्रदेशमा विस्तारका लागि सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

उक्त केन्द्रका अध्यक्ष डा ऋषिराम कोइरालाले नेपालका ८० प्रतिशत जनताको आयको स्रोत जडीबुटी भए पनि यसबारे ज्ञानको अभावमा अमूल्य जटीबुटी असमयमै उत्खननले ह्रास हुँदै गएको बताए । उनले भने, नेपाल जैविक विविधता भएको देशमध्ये ३२औँ स्थानमा रहे पनि यहाँको विविधता र जडीबुटीबारे अध्ययन–अनुसन्धान तथा संरक्षण हुन नसक्दा नष्ट हुँदै गएका छन् ।’’

जनतामा आयुर्वेद र योगसाधनाबारे जनचेतना दिनका लागि उच्चस्तरको प्रविधियुक्त स्रोतको संकलन र डिजिटल पुस्ततकालय स्थापना गर्ने सोच रहेको उल्लेख गर्दै केन्द्रका कार्यकारी निर्देशक डा सिद्धार्थकुमार ठाकुरले केन्द्रको एक मात्र उद्देश्य आयुर्वेदको क्षेत्रमा अनुसन्धान र संरक्षण गर्नु हो भने ।

सिहंदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा वंशदीप खरेल र नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा प्रकाश ज्ञवालीले सरकारले आयुर्वेदको विकासका लागि बजेट बढाउनुपर्ने र स्नाकोत्तरत शिक्षाका लागि थप कोटा दिलाउनुपर्नेमा जोड दिए ।

नेपालमा आयुर्वेद र वैकल्पिक चिकित्साको विकास र विस्तार तथा अनुसन्धान गर्न चीन सरकारले सन् २००९ मा रु ६८ करोडको लगानीमा भवन निर्माण शुरु गरी गरी सन् २०११ मा नेपाल सरकारलाई हन्तान्तरण गर्नुका साथै रु २४ करोडको चिकित्सकीय उपकरण पनि उपलब्ध गराएको छ ।

कार्यकारी निर्देशक ठाकुरले बहिरंग सेवामा कार्य चिकित्सा, शालाक्य, शल्यचिकित्स, स्त्री, प्रसूति सेवा अर्बुद्ध, कौमारभृत्य, दन्त सेवा, अकुपञ्चर, रेडियोलोजी, प्याथोलोजी लगायतका सेवा प्रदान गर्दै आएको जानकारी दिए ।

विशिष्ट सेवाअन्तर्गत अन्तरंग सेवा, पञ्चकर्म, क्षारसूत्र सेवा, अकुपञ्चर सेवा सेवा, थेराप्युटिक योग तथा फिजियोथेरापी, एक्स–रे, सिटी स्क्यान, अल्ट्रा साउण्ड, इसिजी÷इइजी, इन्डोस्कोपी, कोलोनस्कोपी र फार्मेसी सेवा मेडिसिन लगायतका सेवा शुरु भइसकेको केन्द्रले जनाएको छ ।

राष्ट्रिय योग दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा केन्द्रका योग तथा पुनः स्थापना विशेषज्ञ डा विनोद घिमिरेले योगको महत्वबारे चर्चा गर्दै विभिन्न योगाशन गराएका थिए ।रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *