संघीयतामा खोप तथा ‘कोल्डचेन’को व्यवस्थापन कसरी गर्ने ?

– ओमप्रसाद उपाध्याय

नेपालमा बाल मृत्युदर घटाउन, मातृ मृत्युदर घटाउन तथा रुग्णता घटाउने अभियानमा राष्ट्रिय खोप कार्यक्रमले उल्लेख्य भूमिका निर्वाह गरेको छ । खोपकै कारणले भन्नुपर्छ खास गरी दादुरा तथा जापानिज इन्सेफलाइटिस रोगबाट हुने मृत्युमा धेरै कमी आएको छ ।

नेपालमा विफर रोग उन्मूलन पश्चात वि.स.२०३५ सालबाट बिस्तारित खोप आयोजना नाममा राष्टिय खोप कार्यक्रम शुरु भएको हो । हाल बालबालिकाहरुलाई बीसीजी, पेन्टा, आईपीभी ओपेभी, पीसीभी एमआर पहिलो,एमआर दोस्रो, जापानीज इन्सेफलाइटिस खोप प्रदान गरिन्छ भने गर्भवती महिलाहरुलाई टिडी खोप प्रदान गरिन्छ । निकट भविष्यमै रोटा भाइरस खोप, एचपीभी खोप तथा टाइफाइडको खोप पनि सञ्चालन गर्ने कार्ययोजना बनिरहेको छ ।

त्यसो त  सरकारले बीसीजी, टीडी, जेई, एमआर प्रथम डोज, विओपिभि आफै खरिद गर्दछ । यता यूनिसेफ तथा गाभि फण्डबाट पेन्टा, पीसीभी, एचपीभी डेमो, आइपीभी, यसैसँग सम्बन्धित खोपजन्य सामाग्रीहरु वस्तुगत अनुदान स्वरुप प्राप्त हुने गरेका छन् ।

नेपालमा खोप भण्डार वितरणमा विभिन्न निकायको विभिन्न भूमिका छ । केन्द्रीय भ्याक्सिन भण्डार, क्षेत्रीय भ्याक्सिन भण्डार, जिल्ला भ्याक्सिन स्टोर, जिल्ला भन्दा तल सब स्टोर भ्याक्सिन वितरण केन्द्र (डिस्ट्रीव्युसन पोइन्ट)हरु रहेका छन् ।

केन्द्रीय भ्याक्सिन भण्डार काठमाडौँको टेकुमा छ । यस्तै क्षेत्रीय भ्याक्सिन भण्डार विराटनगर, हेटौडा, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी गरी छ स्थानमा रहेका छन् । केन्द्रीय भ्याक्सिन भण्डार टेकुबाट काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, नुवाकोट, रसुवा, धादिङ, काठमाडौ, भक्तपुर, ललितपुरमा सोझै आपूर्ति गरिन्छ ।

संघीय स्वरुपमा जाँदा खोपको व्यवस्थापन कसरी गर्ने ?

नेपालको वर्तमान संविधान अनुरुप देश संघीय लोकत्रान्त्रिक गणतन्त्रात्मक मुलुकको रुपमा रहेको छ । स्थानीय तहको सरकार प्रदेश सरकार र संघीय सरकारको परिकल्पना गरेको छ त्यही अनुसारका सरकारले आ – आफ्ना काम गर्ने अधिकार संविधान मै उल्लेख छ ।

स्वास्थ्यको कार्यक्षेत्र स्थानीय तहको सरकार प्रदेश सरकार संघीय सरकार तीनै सरकारको कार्यक्षेत्रमा राखिएको छ । खोप कार्यक्रम आम नागरिकको घर दैलोमा सबैको पहुँचमा पुगेको लोकप्रिय जनस्वास्थ्य कार्यक्रम हो ।

खोप कार्यक्रमको अर्को पक्ष कोल्डचेन व्यवस्थापन, भ्याक्सिन व्यवस्थापन पनि हो । प्रभावकारी खोप व्यवस्थापन सुदृढ कोल्डचेन प्रणाली नभएमा खोप कार्यक्रम गुणस्तरीय प्रभावकारी हुन सक्दैन । कोल्डचेन प्रणाली व्यवस्थित बनाउन मापदण्ड अनुसारको खोप भण्डारको निर्माण सञ्चालन, कोल्डचेन उपकरणहरुको नियमित मर्मत सम्भार नियमित तापक्रम अनुगमन, नियमित पावर सप्लाई, मापदण्ड अनुसार खोप ढुवानी आदि कार्यहरु पर्दछन् ।

Preventive Maintenance Plan कोल्डचेन उपकरणको अभिलेख प्रतिवेदन सूचना प्रणाली MIS को व्यवस्थापन पनि त्यतिकै जरुरी छ ।
देश संघीयतामा गइसकेको अवस्थामा खोप कोल्डचेन व्यवस्थापन पनि त्यही अनुसार अगाडि बढाउन आवश्यक छ ।

खास गरी खोप प्राप्ति,खोप भण्डार, खोप कोल्डचेन तालिम प्रतिवेदन प्रणाली MIS सूचना प्रणाली आदिको विकास व्यवस्थापन त्यतिकै जरुरी छ ।

भारत सरकारले यस्तो गर्दो रहेछ
छिमेकी राष्ट भारतमा खोप तथा खोपजन्य सामाग्रीह केन्द्रीय सरकारले आफै खरिद गर्दछ । सरकारी भ्याक्सिन भण्डारमा स्टोर गरिन्छ, तत्पश्चात क्षेत्रीय स्टोर राज्य स्टोर, जिल्ला स्टोर सब स्टोरहरु मार्फत वितरण गरिन्छ ।

स्वास्थ्य एंव परिवार कल्याण मन्त्रालयको मातहत (NCCVMRC) National Cold Chain and Vaccine Management Resource Centre रहेको छ । यसले खोप व्यवस्थापन तथा कोल्डचेन व्यवस्थापन सम्बन्धी सबै किसिमको तालिम सञ्चालन गर्दछ । राज्य स्तर जिल्ला स्तर, भ्याक्सिन स्टोरको सेवा प्रवाह केन्द्रको खोप कार्यक्रमको अनुगमन सुपरिवेक्षण सबै कार्य यहीबाट हुन्छ ।

कोल्डचेन सम्बन्धी तालिम दिनको लागि NCCRC Pune National Cold Chain Resource Center पूणे महाराष्ट्रमा रहेको छ । यो तालिम केन्द्र महाराष्ट्र राज्य सरकारको मातहतमा रहेको छ । यूनिसेफले आवश्यक सहयोग गरेको छ ।

भारत सरकारका सबै कोल्डचेन सम्बन्धी कर्मचारीलाई यस संस्थाले तालिम दिन्छ । इन्जिनियरहरुको नेतृत्वमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न तालिम केन्द्र रहेको छ ।

भारत सरकारले MIS सूचना प्रणालीको विकास गरेको छ । NCCMIS National Cold Chain Management Information System प्रयोगमा ल्याएको छ । NCCMIS Software ले तालिम लिए नलिएको जनशक्ति विवरण कोल्डचेन उपकरणको विवरण तापक्रम अनुगमन खोप माग प्रणाली स्पेयर पार्ट आदि सबैको एकीकृत सूचना प्रदान गर्दछ ।

यसबाट नीति निर्माण व्यवस्थापन सुपरीवेक्षेण अनुगमन गर्न महत्वपूर्ण सूचनाहरु प्राप्त गर्न सकिन्छ । NCCMIS को मोवाइल एप्स पनि विकास गरिएको छ । यसको अतिरिक्त eVIN Electronic Vaccine Intelligence Network विकसित गरिएको छ ।

मोवाइल एप्समा प्रयोग हुने यस विधिबाट तापक्रम अनुगमन खोप माग आदि कार्यहरु हुन्छ । भारत सरकारले युनिसेफको सहयोगमा विभिन्न अनुसन्धान पनि बेला बेलामा गरेको छ ।Indian Council for Medical Research ICMR ले भारतमा भ्याक्सिन जम्ने खेरा जाने विषयको अनुसन्धान गरेको छ । यस अनुसन्धानले खास गरी प्राथमिक स्वास्थ्य केन्द्र सामुदायिक स्वास्थ्य केन्द्रमा उचित तरिकाले खोप भण्डार व्यवस्थापन नहुँदा धेरै खोप जमेर खेरा गएको नतिजा देखाएको छ ।

अब भारतमा Cool Pack मा जानको लागि थप अनुसन्धानहरु गर्ने क्रममा रहेको बताइन्छ । नयाँ कार्यक्रममा जादा आधिकारिक निकायबाट अनुसन्धान गरेर मात्र अनुसन्धानको आधारमा नयाँ कार्यक्रम गर्ने उदाहरणाीय कार्य देखिन्छ ।

नेपालले अब गर्नुपर्ने के ?

नेपालमा खोप तथा कोल्डचेन सम्बन्धी तालिम दिने छुट्टै निकाय छैन । केही तालिम बाल स्वास्थ्य महाशाखा खोप शाखाबाट हुदै आएको छ । स्तरीय कार्य सञ्चालन तालिम आपूर्ति व्यवस्था महाशाखा बाल स्वास्थ्य महाशाखा र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र मार्फत भएको छ ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालय र जिल्ला स्तरबाट पनि तालिमहरु सञ्चालन हुदै आएका छन् । संघीय संरचनामा खोप तथा कोल्डचेन सम्बन्धी तालिम दिने निकायको व्यवस्था हुन जरुरी छ ।

खास गरी स्थानीय तह प्रदेश स्तर र संघीय सरकारका नीति निर्माता व्यवस्थापक सेवा प्रदायक कर्मचारीहरुलाई तालिम दिने संयन्त्र निकायको व्यवस्था गर्न जरुरी छ ।

नेपालमा हाल भ्याक्सिनको अनलाइन प्रतिवेदन प्राप्त गर्न सकिने व्यवस्था छ । खोप तथा कोल्डचेन सम्बन्धी एकीकृत सूचना प्रणालीको विकास गर्न सकिएको छैन । कोल्डचेन उपकरण तापक्रम अनुगमन स्पेयर पार्ट तालिम पाए नपाएका कर्मचारीको विवरण एकीकृत रुपमा पाउने व्यवस्थापन सूचना प्रणाली र आवश्यकता अनुसार मोवाइल एप्सको पनि विकास गर्न आवश्यक छ ।

कोल्डचेन उपकरणहरुको  नियमित मर्मत (Preventative Maintance Plan)संभार महत्वपूर्ण कार्य हो । हामीकहाँ केन्द्र स्तरमा मेकानिकल इन्जिनियर इलेक्टििकल इन्जिनियर क्षेत्रीय स्तरमा रेफ्रिजरेटर टेक्निसियन सहितको जनशक्तिको सहयोगमा मर्मत संम्भार कार्य हुदै आइरहेको छ ।

केन्द्र देखि क्षेत्रीय स्तरसम्म व्यवस्थित मर्मत सम्भारको वर्कसप छैन । जिल्लामा सव स्टोरहरुमा भएका उपकरणहरु मर्मत सम्भारमा जान आवश्यक उपकरण सहितको सवारी साधन छैन ।

खास गरी विग्रको कोल्डचेन उपकरणको समस्या पत्ता लगाउन  आवश्यक उपकरण लिएर जानलाई केन्द्रदेखि क्षेत्र स्तरसम्म सवारी साधनको अभाव छ ।

दुर्गम क्षेत्रमा ग्यास चार्जिङ सहितको मेसिन एकै व्यक्तिले बोकेर जान अत्यन्त कठिन छ । अबको अवस्थामा मर्मत सम्भारमा आवश्यक यन्त्र उपकरण सहितको मोवाइल भ्यान जरुरी भएको छ । स्थानीय तह प्रदेश स्तर र संघीय स्तरका कोल्डचेन उपकरणहरुको Preventative Maintance Plan को नियमित प्रतिवेदन MIS विकास गरी सबै तहमा प्रतिवेदन गर्ने प्रणाली विकास गर्न आवश्यक छ ।

खास गरी पुराना काम नलाग्ने कोल्डचेन उपकरणहरु वातावरणमा हानी नोक्सानी नहुने गरी वातावरण मैत्री विधिले विर्सजन प्रणाली अपनाउन त्यतिकै आवश्यक छ । संघीयता प्रवेशको अवसरमा केन्द्रिय भ्याक्सिन भण्डार र प्रदेश स्तरको भ्याक्सिन भण्डारहरु अत्याधुनिक र सुविधा सम्पन्न बनाउन आवश्यक छ । साथै खोप कोल्डचेन सम्बन्धी अत्याधुनिक तालिम केन्द्र अत्याधुनिक मर्मत सम्भार वर्क सप एकीकृत व्यवस्थापन सूचना प्रणाली पनि व्यवहारमा ल्याउन त्यतिकै आवश्यक छ । आमा र बालबालिका वयस्कहरुको स्वास्थ्यसँग जोडिएको खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउन विकास साझेदार नेपाल सरकारले थप लगानी बढाउन पनि आवश्यक छ ।

# उपाध्याय  स्वास्थ्य सेवा विभाग  आपूर्ति व्यवस्था महाशाखामा खोप सुपरभाइजर अधिकृत पदमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *