जाडो मौसममा उच्च रक्तचापको जोखिम र बच्ने उपायहरू

डा. युवराज लिम्बू, मुटुरोग विशेषज्ञ

जाडो मौसममा रक्तचाप बढ्ने गर्दछ । यस मौसममा उच्च रक्तचापका बिरामीहरुले आफ्नो रक्तचाप बारे बढी सतर्कता अपनाउनु पर्ने हुन्छ । उच्च रक्तचाप आफैंमा एक बिमार हो ।

संसारभर करिव एक चौथाई भन्दा बढी वयष्क व्यक्तिहरु उच्च रक्तचाप बाट ग्रसित छन् । साथै उच्च रक्तचाप मानव मृत्युको पहिलो कारण र मुटुरोगको उपचार गर्न सकिने एक प्रमुख कारक तत्व पनि हो ।

जाडो मौसम र चिसो बातावरणको कारण उच्च रक्तचाप बिरामीहरुको रक्तचाप बढ्न सक्ने जोखिम रहन्छ । त्यसैले सेवन गरिरहेको औषधीको मात्रा बदल्नु पर्ने हुन सक्छ । साथै चिसो बतावरणमा स्वास्थ्य रहेका व्यक्तिहरुको रक्तचाप पनि बढ्ने सम्भावना हुन्छ ।

विभिन्न अध्ययनहरुले प्रमाणित गरे अनुसार ११ डिग्री सेल्सियसको वाताबरणमा विना तापक्रम सुरक्षा ५ मिनेट रहने हो भने रक्तचापमा उल्लेख्य परिवर्तन हुन्छ । साथै उच्च रक्तचाप र मुटु तथा रक्तनली सम्बन्धि बिरामीहरुको सिस्टोलिक ब्लड प्रेसर (रक्तचाप) प्रत्येक १०एमएमएचजीको को वृद्धिले मुटु तथा रक्तनली सम्बन्धि मृत्युको जोखिम २१ प्रतिशतले वृद्धि हुन्छ ।

उच्च रक्तचापको वृद्धिमा जाडो मौसमको प्रभाव सबैभन्दा बढी ७०-८० वर्ष बृद्ध उमेर समुहमा देखिन्छ । जाडो मौसम र चिसो बातावरणको सुरुवातसँगै उच्च रक्तचापसँग सम्बन्धित मुटुरोग, हृदयघात र मष्तिस्कघात जस्ता बिमारहरुको संख्यामा वृद्धि हुन्छ र यी बिमारका कारण हुने मृत्युदर बढ्दछ ।

जाडो मौसममा रक्तचाप बृद्धि हुने कारणहरू:

  • शरीरमा आवश्यक तापक्रम संचयको लागि बाहिरी साना रक्तनलीहरु खुम्चने गर्दछ, परिणाम स्वरूप रक्तचाप बढ्दछ ।
  • जाडो मौसममा सुर्यको कम किरण र कम तापक्रमको कारण भिटामिन डी को अभाव हुन्छ जसको कारण रक्तचाप बढ्दछ ।
  • चिसो मौसम र बातावरणमा शरीरका रक्तनालीहरुलाई प्रभाव पार्ने (खुम्च्याउने) हर्मोनहरुको मात्रा बढी हुन्छ परिणाम स्वरूप रक्तचाप बढ्दछ।
  • शरीरमा कोलेस्टेरोलको मात्रा बढ्न सक्छ जसले रक्तचापको वृद्धिमा मद्दत गर्दछ ।
  • शारीरिक ब्यायाम कम हुने हुँदा जाडो मौसममा रक्तचाप बढ्न सक्छ ।
  • बातावरणमा हुने वायु प्रदुषण पनि जाडो मौसममा रक्तचाप बढ्ने कारण हो ।

जाडो मौसममा उच्च रक्तचापको जोखिमबाट जोगिने उपायहरू :

  • पर्याप्त कपडाहरु लगाउने र शरीरलाई न्यानो राख्ने ।
  • सन्तुलित र स्वास्थ्य भोजन गर्ने ।
  • प्रशस्त पानी पिउने ।
  • बढी क्यालोरी नखाने किनकि जाडो मौसममा आवत जावत लगायत अन्य शारीरिक क्रियाकलापहरु कम हुने हुनाले मोटाइपन बढ्न सक्तछ ।
  • अधिक मध्यपान नगर्ने ।
  • अत्याधिक चिसोमा बाहिर हिनडुल नगर्ने ।
  • केहि न्यानो अवस्थामा नियमित शारीरिक ब्यायाम र हिनडुल गर्ने ।
  • नियमित शारीरिक ब्यायाम नगर्ने व्यक्तिले एक्कासी कडा ब्यायाम नगर्ने ।
  • औषधिहरु नियमित सेवन गर्ने र नियमित रुपमा स्वास्थ्य परीक्षण गर्ने ।
  • बृद्ध उमेर समुहमा जाडो मौसमको प्रभाव सबैभन्दा बढी पर्ने हुनाले उनीहरुको रक्तचाप, मुटुरोग र रक्तनाली सम्बन्धि बिमारबाट जोगाउन अझ बिशेष ध्यान दिनु पर्ने हुन्छ ।

# डा. लिम्बू शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौँमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *