आयुर्वेद उपचारमा धेरैको विश्वास छ

कल्पना पौडेल / काठमाडौँ, २४ पुस । आजकल सामान्य रोगका लागि पनि एलोपेथिक औषधि खानुपर्छ । तर कोही यस्ता मानिस पनि छन जो सकेसम्म आयुर्वेदिक औषधिमात्र सेवन गर्ने गर्छन् ।

नार्गाजुन नगरपालिकाकी ६६ वर्षीया मीठु थापा आफूलाई आयुर्वेदिक औषधिमा विश्वास लाग्ने बताछिन् ।

“जडीबुटीबाट बनेको औषधिले राम्रो गर्छ, अरु असर पनि गर्दैन, मैले एकपल्ट मुटुमा समस्या भएर एलोपेथिक औषधि खाएको थिएँ, त्यसबाहेक अरु बेला त आयुर्वेद डाक्टर कहाँ नै देखाउछु, आयुर्वेदिक औषधि खान्छु”– उनले भनिन् । थापाले घरमा अरुलाई पनि बिरामी हँुदा आयुर्वेद उपचार नै गर्ने गरेको बताइन् ।

नेपालमा आयुर्वेदको प्रचारप्रसार जतिमात्रामा हुनुपर्ने हो त्यो हुन नसकेको भए पनि धेरै मानिस आयुर्वेद उपचारमा विश्वास गर्ने आयुर्वेदका चिकित्सक बताउँछन् । सीतापाइला बस्ने आनी डोमा शेर्पाले हातखुट्टाको जोर्नी दुख्ने समस्याको लामो समय उपचार गर्दा निको नभए पछि आयुर्वेद उपचारमा लागेको बताछिन् ।

उनले भनिन्, “जोर्नी दुखेर सहनै नसकिने हुन्छ, कति अस्पताल गएँ, हजारौँ खर्च भयो तर दुख्ने समस्या निको भएन, अहिले आयुर्वेद उपचार शुरु गरेको छु, रोग पुरानो भइसक्यो निको हुन्छ कि हुन्न थाहा छैन ।”

उनले काठमाडौँ आउनुभन्दा पहिले नुवाकोटमा छँदा बिरामी भएका समयमा आयुर्वेद औषधि नै प्रयोग गर्ने गरेको सम्झँदै भनिन्, “पहिले त गाउँमा वैद्यले दिएको औषधिले निको हुन्थ्यो, काठमाडौँ आएपछि भने वैद्यको औषधि छुट्यो, डाक्टरको औषधि चल्न थाल्यो, रुघाखोकी लाग्दा पनि डाक्टर कहाँ गएर औषधि ल्यायो, छिटै निको हुन्न, खै के भएको रु”

मानिस अस्पताल धाएर अनि निको नभएपछि बल्ल आयुर्वेदतिर लाग्छन् तर रोगको सुरुआती अवस्थामा नै उपचार गर्नसके छिटो निको हुने बताछिन्, बलराम न्यापाने । उनलाई ग्याष्ट्रिक छ । उनले त्यसका लागि आयुर्वेद औषधिमात्र प्रयोग गरिरहेको बताउछिन् ।

“एलोपेथिक औषधि धेरै प्रयोग गर्दा अन्य असर धेरै हुन्छन्, धेरै एन्टिबायोटिक खाँदा पनि पछि काम नगर्ने डाक्टरले अन्तरवार्तामा भनेको सुनेको छु, हामीले सकेसम्म आयुर्वेद उपचार गर्दा नै उत्तम हुन्छ भन्ने लाग्छ”– उनले भनिन् ।

सरकारले आयुर्वेदलाई पहिलो प्राथमिकतामा राखेर सहजरुपमा चिकित्सक भेटिने र उपचार पाउने व्यवस्था गर्नुपर्छ उनले भनिन् ।

स्वस्थ रहनका लागि योगाभ्यास गर्ने, सन्तुलित आहार खानेजस्ता दैनिक जीवनका क्रियाकलाप स्वस्थ राख्न आयुर्वेद तथा वैकल्पिक उपचार पद्धतिबाट जनचेनता दिन सकिने भएकाले सरकारले प्राथमिकतामा राख्नुपर्ने माग पनि बढ्न थालेको छ ।

आयुर्वेद चिकित्सक डा प्रकाश ज्ञवाली सरकारले आयुर्वेदलाई महत्व नदिएकाले आयुर्वेद उपचार पद्धतिका सकारात्मक जानकारी नभएको बताउछन् । नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्षसमेत रहनुभएका चिकित्सक ज्ञवालीले आयुर्वेदको विकास गर्न सरकारले स्थानीय गाउँपालिकादेखि आयुर्वेद चिकित्सकसहितको सेवा दिने व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउछन् ।

आयुर्वेद चिकित्सक डा रामआधार यादवले मानिसलाई अझै पनि आयुर्वेद उपचारमा ठूला शल्यक्रिया हुन्छन् भन्ने थाहा नभएको बताए । उनले भने, “सरकारले आयुर्वेदलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याउनुपर्छ, जनतालाई आयुर्वेदबारे जानकारी गराउनुपर्छ ।”

मानिसको आहारविहार, जीवनशैलीमा आएको परिवर्तनले शारीरिक, मानसिक र सामाजिक तनावपूर्ण जीवन बिताउने मानिसको संख्या बढ्दै गएकाले यसबाट मुक्त हुने एउटै विकल्प योग अभ्यास भएको बताइन्छ भने आयुर्वेद र वैकल्पिक चिकित्सा पद्धतिलाई पनि प्राथमिकतामा राख्न थालिएको चिकित्सक ज्ञवालीको भनाइ छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *