सुत्केरीपछि महिलामा देखिने ‘पोष्टपार्टम हेमोरेज’ के हो ? समाधानको उपाय के ?

डा. उत्तम पच्या

घटना : केही हप्ता अघि एकजना महिला घरमै सुत्केरी भएपछि धेरै रगत बगेर बेहोस भइछन् । परिबारले रातको १२ बजेतिर गुल्मी जिल्ला अस्पतालमा ल्याइ पुरयायो ।

उनको गर्भाशयको मुखबाट रगत बगेको थियो । गर्भाशय राम्रो संग खुम्चिएको थिएन । तुरुन्त जाँच गर्दा थाहा भयो सुत्केरीपछि सालको केही टुक्रा बाँकी रहेछन् ।जसलाई सफा गरी निकाल्यौं तत्कालै गर्भाशय खुम्चियो र रगत बग्न समेत छाडयो ।

तर उनको धेरै रगत बगिसकेको थियो । रगत चडाउँन पर्ने थियो । रातको समयमा कसलाई खोज्ने समस्या भयो । तर जाँच गर्दा थाह भयो उनको र मेरो रगत समूह मिल्दो रहेछ । मैले नै दान गरेँ । यसले उनको जीवन बाँच्यो । बास्तवमा मैले गरेको ‘रक्तदान जीवन दान’नै भयो त्यस दिन उनका लागि ।

के हो पोस्टपार्टम हेमोरेज ?
सामान्य रुपमा अर्थात प्राकृतिक रुपमा हुने प्रसूति पछि गर्भाशयको मुखबाट ५०० एमएल भन्दा बढी रगत बग्नु वा जति सुकै रगत बगोस जसले आमाको रक्तचाप तथा धड्कनमा फरक पार्छ भने त्यो अवस्थालाई प्रसूतिपछि रगत बगि हुने गम्भीर अवस्था (पोस्टपार्टम हेमोरेज) भनिन्छ ।

नेपालमा धेरै आमाहरुको मृत्यु यसरी नै रगत बगेर हुँने गर्दछ । नेपाल स्वास्थ्य जनसंख्या सर्वेक्षण सन् २०१६ ले १ लाख जीवित बच्चा जन्मिदा २३९ आमाको मृत्यु भएको देखाएको छ ।यो सन् १९९० को तुलनामा ५० प्रतिशत भन्दा कम हो तर अझ पनि भयावह स्थिति नै मान्नु पर्छ ।

हाम्रोजस्तो  विकासोन्मुख देशहरुमा आमाको मृत्युको कारक यही पोस्टपार्टम हेमोरेज नम्बर वानमा आँउछ । विश्वमा करिब २५ प्रतिशत आमाको मृत्यु यही कारण ले हुन्छ ।

यसका जोखिम अवस्था के हुन् ?

  • पहिले यस्तै समस्या भएको छ भने
  • पहिले कुनै बच्चा जन्माएको छैन भने
  • पाँच वा त्यो भन्दा बढी बच्चाको आमा हो भने
  • सुत्केरी हुने उमेर ३० बर्ष भन्दा माथि भए
  • सालको बसाइ ठिक ठाँउमा छैन भने
  • पेटको बच्चा ठुलो भए
  • गर्भमा पानीको मात्रा बढी भए
  • दुई वा दुई भन्दा बढी पेटमा बच्चा भए
  • लामो समय ब्यथा लागे
  • प्रसूति अवस्थामा रक्तचाप बढे
  • गर्भमै बच्चाको मृत्यु भए
  • शल्यक्रिया गरी बच्चा निकाल्दा

पोस्टपार्टम हेमोरेजका लक्षणहरु के के हुन् ?

  • कमजोर अनुभव गर्नु
  • मुटुको ढुकढुकी असहज रुपमा अनुभव गर्नु
  • सास लामो लामो गहिरो गरी फेर्नु
  • गर्भाशयको मुखबाट अत्यधिक रगत बग्नु
  • चिटचिट पसिना छोड्नु
  • शरीर फुस्रो हुनु
  • पिसाबको मात्रा एकदम घटेर जानु

पोस्टपार्टम हेमोरेजका कारकहरु के के हुन् ?

  • गर्भाशय राम्रो संग नखुम्चिनु (७० प्रतिशत)
  • तन्तुमा चोटपटक (गर्भाशयको मुख वा भित्ता नै च्यातिनु वा प्वाल नै पर्नु ) (२० प्रतिशत)
  • सालको केही भाग गर्भाशय भित्रै रहनु (१० प्रतिशत)
  • रगत बग्ने समस्या हुनु (१ प्रतिशत)

यसबाट कसरी बच्ने ?

  • बेला बेलामा अस्पताल तथा स्वास्थ्य चौकीमा जाँच गराउने
  • चिकित्सक तथा स्वास्थ्यकर्मीले दिएको परामर्श राम्रोसंग ग्रहण गर्ने
  • प्रसूतिको सेवा नजिकैको बर्थिङ सेन्टर वा अस्पतालमा लिने
  • घरमा सम्भव भएसम्म सूत्केरी नगराउने
  • माथि उल्लेखित जोखिम अवस्था आफुमा छ छैन यकिन गर्ने
  • घरमा शुन्य डेलिभरीको जनचेतना बढाउने

यो कार्यक्रमका लागि नेपाल सरकारले के सुबिधा दिएको छ ?

  • सुरक्षित मातृत्व स्वास्थ्यको पहिलो प्राथमिकतामा पर्छ ।
  • आमालाई रगत चढाउनुको साथै अन्य कुनै पनि यस संग सम्बन्धित नि शुल्क सेवा उपलब्ध छ ।
  • यातायात खर्च तराई, पहाड र हिमाली क्षेत्रमा क्रमश ५००, १००० र १५०० रुपैयाँ  रकारले तत्कालै उपलब्ध गराउँछ ।

# डा.  पच्या गुल्मी जिल्ला अस्पतालमा मेडिकल जनरलिष्टको रुपमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *